सिसी क्यामेरा, इन्टरनेट र खाजा कार्यक्रमकाे समेत सुविधा

|

लहान : सरकारी लगानीमा सञ्चालित आधारभूत मात्र होइन, मा.वि. तहको विद्यालय भनेपछि केही अपवाद बाहेक प्रायः लथालिङ्ग व्यवस्थापन, भताभुंग भौतिक पूर्वाधार र अस्तव्यस्त पठनपाठन रहेको विद्यालय भन्ने सोचिन्छ। तर, सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका १ कर्मनियामा सञ्चालित अवधि फेकनी आधारभूत विद्यालय पुग्ने जो कोहीलाई पनि ‘सामुदायिक विद्यालय हो र ’ भन्ने आभाष हुन्छ। 

सिसी क्यामेरादेखि इन्टरनेटसम्म

२०६६ सालमा स्थानीय सत्यनारायण यादव, हरिनारायण यादव र सूर्यनारायण यादवले आफ्ना बाबु आमाको नाममा चार कठ्ठा जग्गा दान गरेपछि स्थापना भएको थियो अवधि फेकनी आधारभूत विद्यालय। स्थापनाकालीन समयमा फुसको झुपडीमा पठनपाठन सञ्चालन गरिएको याे विद्यालयमा अहिले मार्वल हालेका छात्र छात्राका लागि छुट्टाछुट्टै शौचालय समेत बनेका छन् भने नौवटा कोठा भएको तीनवटा ब्लक भवनसमेत बनिसकेकाे छ। 

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयका हरेक कक्षा कोठा, विद्यालय परिसर र कार्यालयमा समेत सातवटा सिसी क्यामेरा जडान गरिएका छन्। ‘कक्षा कोठाको शिक्षण, शिक्षक विद्यार्थीको सहभागिताको अनुगमन गर्न विद्यालयको प्रयासमा क्यामेरा जडान गरिएको हो’ विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद साहले भने, ‘फलस्वरुप विद्यार्थीको सिकाई उपलब्धि र शिक्षकको शिक्षण विधि प्रभावकारी भएको छ।’ ‘शिक्षकसँगै विद्यार्थीलाई पनि सूचना प्रविधिसँग जोड्दै सूचनाको पहुँच बढाउन दाता परिवार र विद्यालयको आन्तरिक स्रोतमा इन्टरनेट जडान गरी चलाइरहेका छौं’ उनले भने। 

नियमित भेला र आयव्यय सार्वजनिक

‘ग्रामीण क्षेत्रका मात्र होइनन्, शहर बजार क्षेत्रका सामुदायिक विद्यालयका प्रअले विद्यालयको रकम हिनामिना गरेको, नियमित विद्यालय नआउने अभिभावकहरूको गुनासो रहने गर्दछ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्रकुमार यादवले भने, ‘यो विद्यालयमा हरेक शैक्षिक सत्रको अन्त्यमा सामाजिक परीक्षणमार्फत् विद्यालयको आय व्ययसहित लेखापरीक्षण प्रतिवेदन समेत अनुमोदन हुन्छ।’ 

विद्यालय स्थापनादेखि चालू शैक्षिक सत्रसम्मको अभिभावक भेला र विद्यालयको आय व्यय सार्वजनिक गरिएको अध्यक्ष यादवले सुनाए। विद्यालयका  लागि स्थानीय अविभावक र शिक्षकहरूले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेकाले विद्यालयको अवस्था जिल्लामै उत्कृष्ट रहेको स्रोत व्यक्ति मुनेन्द्रप्रसाद यादव दावी गर्छन्। विद्यालयमा शिक्षकहरूको नियमित उपस्थितिमार्फत् शिक्षण प्रभावकारी बनाउन विद्युतीय हाजिरी रजिष्टर प्रयोग गरिएको प्रअ साहले उल्लेख गरे। 

बोर्डिङबाट फर्किंदै विद्यार्थी

बोर्डिङ् स्कूलको भन्दा राम्रो पढाई हुन थालेपछि छिमेकी गाउँका बोर्डिङ् पढ्दै गरेका विद्यार्थी पनि उक्त विद्यालयमा भर्ना भएर पढ्न थालेका छन्। आफ्नै गाउँको बोर्डिङ् स्कूलमा कक्षा २ मा पढिरहेकी मनिषा साहले भनिन् ‘बोर्डिङभन्दा राम्रो पढाइ भएकाले बाबुलाई भनेर यो विद्यालयमा कक्षा ४ मा भर्ना भएर पढ्दै छु।’ 

चालू शैक्षिक सत्रमा मनिषा जस्ता दुइदर्जन विद्यार्थी विभिन्न कक्षामा भर्ना भएर पढिरहेको विद्यालयले जनाएको छ। ‘आधा पेट खाएर भएपनि आफ्ना छोराछोरीलाई बोर्डिङ् स्कूलमा पढाउँनै पर्ने मानसिकताका अभिभावकहरूलाई हाम्रो विद्यालय नमूना हो’ अध्यक्ष यादवले भने। उक्त विद्यालय कर्मनियासहित छिमेकी गाउँहरू मक्रमपुर, सोठियाइन, ढेकहा लगायतका विद्यार्थीका लागि पायक पर्छ। जिल्ला शिक्षा कार्यालयको सहयोगमा खाजा कार्यक्रम समेत सञ्चालनमा रहेकाले विद्यार्थी संख्या बढ्दै गएको प्रअ साह बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.