|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पनि सरकारमा ल्याउन पहल थालेपछि राजपाका नेताहरूले छलफल सुरु गरेका छन्। 

आफ्ना माग संबोधन भएमा सरकारमा सहभागी हुने मनस्थितिका साथ राजपाका नेताहरू छलफलमा जुटेका हुन्। राजपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीबीच आइतबार करिब दुई घण्टा छलफल भएको थियो। छलफलपछि राजपा सरकारमा सहभागी हुन सकारात्मक देखिएको बताइएको छ। सबै मिलेर देशको विकास गर्न राजपालाई पनि सरकारमा ल्याउन लागिएको एमालले जनाएको छ। देश विकासको मुद्दामा आफूहरू पनि दृढ रहेको र आफ्ना मागहरू पूरा भए आफूहरू सरकारमा जाने राजपाले जनाएको छ। 

सरकारमा सहभागी हुने/नहुने भन्नेबारे निर्णय गर्नका लागि सोमबार राजपाका अध्यक्ष मण्डलका सदस्यबीच छलफलसमेत भएको महासचिव केशव झाले जानकारी दिए। उनले भने, ‘अध्यक्षहरूबीच छलफल भयो। हाम्रा मागहरू पूरा भएमा सरकारमा जान हामी त तयार छौँ। उहाँहरूको बैठकले पनि यही निर्णय गर्‍यो।’

राजपा पनि सरकारमा सहभागी भएमा माओवादी र एमालेको भागमा परेका मन्त्रालयहरू बागबन्डा गर्ने तयारी रहेको माओवादीका एक नेताले जानकारी दिए। संघीय समाजवादी फोरम नेपाल र राजपालाई सरकारमा ल्याउने गरी सरकारले पहल सुरु गरेपछि अहिले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

१८ मन्त्रालय रहने सरकारले निर्णय गरेको छ। सोहीअनुसार माओवादीले सात र एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय पाउने गरी सहमति गरेका थिए। एमालेबाट प्रधानमन्त्रीसहित पाँच जना मन्त्री सरकारमा गएका छन् भने माओवादी केन्द्रबाट दुई मन्त्री सरकारमा गएका छन्। अन्य मन्त्रीहरू अन्य विवादका कारण एमाले र माओवादीले टुंगो लगाउन सकेका थिएनन्। 

फोरम र राजपालाई सरकारमा ल्याउन पहल सुरु भएसँगै राष्ट्रपतिको निर्वाचनअघि सरकारले पूर्णता पाउने सम्भावना न्यून रहेको नेताहरूले बताएका छन्। संविधान संशोधनका लागि सैद्धान्तिक कुरा अघि बढे आफूहरू सरकारमा जान तयार रहेको महासचिव झाले बताए। उनले भने, ‘हामी सरकारमा नजाने पक्षमा छैनौँ तर हाम्रो प्रमुख माग संविधान संशोधनको बटमलाइन नै हो। त्यसका लागि सैद्धान्तिक पक्षमा छलफल अघि बढ्नुपर्छ।’

उनले यसअघि पनि पटक पटक संविधान संशोधन गर्ने सहमति भएको तर कार्यान्वयन नभएका कारण यस पटक भने सदन सुरु भइसकेकाले संशोधन प्रक्रिया अघि बढाए मात्र सरकारमा सहभागी हुने उनले बताए। उनले भने, ‘केके विषयमा संशोधन गर्नुपर्ने हो, यसका लागि कार्यदल बनेको छ। त्यसकै आधारमा संशोधन गर्नुपर्छ।’

उनले राजपाका अध्यक्ष मण्डलका सदस्य, प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको समेत जानकारी दिए।

के हुँदै छ फोरम सरकारमा जाने कुरा?

संघीय समाजवादी फोरम नेपाललाई पनि सरकारमा सहभागी गराउने गरी सरकारमा रहेका एमाले र माओवादी केन्द्रले छलफल सुरु गरेको एक साता बितिसकेको छ। तर, फोरमसँगको वार्ता हालसम्म निश्कर्षमा पुग्न सकेको छैन। फोरमसँग सहमति भइनसक्दै सरकारले राजपालाई सरकारमा आउन आह्वान गरेको छ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण वाम गठबन्धन र फोरमबीचको वार्ता निश्कर्षमा पुग्न नसकेको फोरमका महासचिव रामसहायप्रसाद यादवले जानकारी दिए। उनले भने, ‘अहिले समय नै यस्तै परेको छ। कहिले प्रधानमन्त्री व्यस्त त कहिले प्रचण्डजी व्यस्त भएका कारण समय लिएर बैठकमा बस्न पाएको छैन तर अब तत्काल टुंगिएला।’ 

फोरमले सरकारमा जाँदा प्रधानमन्त्रीपछिको दोस्रो बरियताको माग गरेको छ। ओली नेतृत्वको सरकारले उपप्रधानमन्त्री नराख्ने भएपछि फोरमले दोस्रो बरियता मागेको हो। यही विषयमा कुरा नमिलेका कारण फोरमसँगको वार्ता टुंगोमा नपुगेको चर्चा छ। तर, अहिले बरियताको कुरै नभएको महासचिव यादवले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘संविधान संशोधन र हाम्रा मागका बारेमा मात्र छलफल भइरहेको छ। बरियताका बारेमा केही छलफल भएको छैन।’
उनले संविधान संशोधनका लागि सरकार तयार नभएमा छलफल गरे पनि फोरम सरकारमा जाने सम्भावना न्यून रहेको बताए। 

फोरमले एक राज्यमन्त्रीसहित तीन मन्त्रालय पाउने चर्चा छ। तर, यादवले यसबारे पनि छलफल नभएको बताए। प्रदेश २ को सरकारमा गठबन्धन बनाएका फोरम र राजपा दुवै सरकारमा जाँदा संविधान संशोधनका लागि सहज हुने उनले बताए। उनले भने, ‘हामी मुद्दा मिल्ने दलहरू दुवै सरकारमा जाँदा सहज हुन्छ। उहाँहरू पनि सरकारसँग छलफल गर्दै हुनुहुन्छ। यसले हामीलाई पनि सहज भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.