|

पर्वत : सरकारले दिएको अनुदानले नपुगेपछि बागलुङको एक विद्यालय दानको भरमा चल्दै आएको छ।

बागलुङ नगरपालिका– ४ कुँडुलेमा रहेको मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय दानको भरमा चल्दै आएको हो। 

विद्यालयकी प्रधानाध्यापक शान्ति ज्ञवाली भन्छिन्, ‘धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन। विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवासीय सुविधासहित निःशुल्क पढिरहेका छन्।’ भोजनमा मात्र दैनिक पाँच हजार रूपैयाँ खर्च लाग्ने र विद्यालय दानदाताकै सहयोगमा चल्ने गरेको उनको भनाइ छ।

प्रअ ज्ञवालीका अनुसार पितृकार्य, जन्मदिन जस्ता विभिन्न धार्मिक, साँस्कृतिक कार्यका अवसरमा दाताहरूले विद्यालयलाई सहयोग गर्ने गरेका कारण नै विद्यालय धानिने गरेको छ। अहिले ५० भन्दा बढी स्थानीयवासीले दैनिक विद्यालयलाई मुठीदान गर्दै आएका छन्। 

खर्च धान्न धौधौ भएका बेला स्वःदानले समेत अपुग हुने र त्यस्तो अवस्था आउँदा मागेर पनि विद्यालय चलाउने गरिएको विद्यालयका व्यवस्थापक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए। उनी भन्छन्, ‘तीर्थयात्रीबाट पनि विद्यालयमा दान प्राप्त हुन्छ। दाताकै सहयोगमा विद्यालयको भौतिक संरचना पनि बदलेका छौँ।’

विद्यालयमा दुई जना स्थायी, दुई जना राहत र दुई जना निजी दरबन्दीका गरी छ जना शिक्षकहरू छन्। २०४२ सालमा स्थापना भएको उक्त विद्यालय २०७० सालसम्म गुरुकुल प्रणालीमै संचालित थियो भने २०७१ सालमा जिल्ला शिक्षा कार्यालयबाट कक्षा ६ को अनुमति लिएपछि संस्कृतसँगै अन्य आधुनिक विषयको पठनपाठनमा लागेको हो। 

विद्यालयमा अहिले संस्कृततर्फ वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिकतर्फ नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुने गरेको छ। 

‘अहिले कक्षा ९ सम्म पढाइ भइरहेको छ भने कक्षा १० को अनुमतिका लागि प्रक्रिया अघि बढेको छ। कक्षा १२ संचालन गर्ने योजना हामीले बनाएका छौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले भने। राजभण्डारीका अनुसार दैनिक भोजन, पोसाक र आवासमा ठूलो खर्च हुने गरेको छ। विद्यालयको खर्च व्यवस्थापनका लागि राजभण्डारी आफैँले पनि विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन्।

यो विद्यालयमा पढेका अधिकांश विद्यार्थी संस्कृत विषयमा उपल्लो तहको अध्ययनका लागि भारत जाने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.