|

दमक (झापा) : माओवादी जनयुद्धका क्रममा मारिएका झापाका एक शहीदको परिवार मजदुरी गरेर गुजारा चलाउँदै आएको छ। सिमान्तकृत सन्थाल समुदायमा राजनीतिको चेतना जगाउने झापा गौरादह–२ लोदावारीमा रहेको शहीद विष्णु हस्दाको परिवार मजदुरी गरेर जिविका चलाउछन्न। 

२०२४ साल पुसमा जन्मिएका हस्दालाई तत्कालीन शाही सेनाले २०६० साल पुस ८ गते झापाको लखनपुरस्थित एक घरमा खाना खाइरहेको बेला गोली हानेर हत्या गरेको थियो। त्यसपछि उनको सुकुम्बासी परिवार दुखका दिन बढे।

राहत अझै अधुरो

तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको समयमा शान्ति प्रक्रियापछि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले शहीद परिवारलाई  १० लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको थियो। तर, त्यो राहतसमेत अधुरो मात्रै पायो हस्दा परिवारले।

हस्दाका बुबा ६९ वर्षीय मुन्सी हस्दाले भने, ‘परिवारले तीन चरणमा गरेर अहिलेसम्म पाँच लाख रुपैयाँ पाएको छ। त्यही पैसाले २ कठ्ठा जग्गा किनेर बस्दै आएका छौँ।’ सो जमिन झुप्रो हाल्नका लागि पर्याप्त भए पनि गुजरा चलाउन पुग्दो भएन। त्यसैले अर्काको खेतीमा मिहिनेत गरेर परिवार चलाउँदै आएको वृद्ध मुन्सीले बताए।

छोराछोरी पढाउन सकिएन, मजुरीले चल्दैछ गुजारा

शहीद विष्णु अविवाहीत थिए। तर, परिवार संगोलमा थियो। अहिले पनि झुप्रो अलग भए पनि परिवार एकै ठाउँमा छ। शहीद विष्णुका जेठा दाजु मातलका ५ सन्तान छन्। उनकी जेठी छोरी सनमनीको कक्षा १० पढेपछि विवाह भएको भयो। जेठो छोरो शरोज पनि ८ कक्षासम्म पढेर काठमाडौंको एक होटलमा मजदुरी गर्छन्।

छोरी सुनिता र राजेश अहिले कक्षा ६ र ३ मा पढ्छन्। तर, उनीहरूलाई पनि पढाइमा निरन्तरता दिलाउन कठिन रहेको विष्णुकी कान्छी भाइबुहारी सुनामनीले गुनासो गरिन्। ‘सानो होइन्जेल त पढाउने हो। हुर्किएपछि साहुको घरमा काम नगरी खान पाइँदैन’, उनले भनिन्, ‘मेरो पनि एउटा छोरो कक्षा २ मा पढ्छ तर कापि कलम किन्ने पैसा समेत हुँदैन।’

शहीद परिवारका नाममा अरू धेरैले अनेक फाइदा लिइरहेको सुने पनि उनले भनिन्, ‘हामीलाई केही चाहिँदैन, छोराछोरी राम्ररी पढाइदिए हुन्थ्यो।’

शहीद दिवसमा घर उपहार

माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ। जनयुद्धमा शहीदहरूले पहिलो सहादत फागुन १४ देखि झापा विद्रोहमा सहादत प्राप्त गरेको दिन फागुन २१ लाई जोडेर उसले शहीद सप्ताह मनाउने गरेको छ।

यहीँ सन्दर्भ पारेर सोमबार शहीद हस्दाको परिवारका लागि माओवादी केन्द्रले तीन कोठे पक्की घर निर्माण सुरु गरेको छ। पार्टीका झापा क्षेत्र नम्बर ५ का इञ्चार्ज रेवतराज पुरीले घरको शिलान्यास गरे। नेकपा माओवादी केन्द्रले गौरादह १ का न्यायका लागि द्वन्द्वपीडित समाजका झापा अध्यक्ष डिल्ली रिजालको अध्यक्षतामा घर शिलान्यास भएको थियो।

माओवादीका क्षेत्रीय इञ्चार्ज पुरीले २५ हजार रुपैयाँ घर निर्माणका लागि अध्यक्ष रिजाललाई हस्तान्तरण गरे।  रिजालको नेतृत्वमा बन्ने सो घर निर्माणका लागि माओवादीले एकसमिति गठन गरेको छ। समितिले विभिन्न निकायमा पहल गरी घर निर्माणका लागि सहयोग जुटाउने बताइएको छ।

करिब १० लाख रुपैयाँको लागतमा सो घर निर्माण सम्पन्न गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.