|

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा बाघ निर्माताको रूपमा परिचित छन्, छविराज ओझा। छविले हालसम्म २३ फिल्म निर्माण गरिसकेका छन्। उनले निर्माण गरेको पछिल्लो फिल्म 'मंगलम' फागुन २५ बाट प्रदर्शनमा आउँदै छ। छविलाई फिल्म क्षेत्रका धेरैले 'बाघ' भनेर संबोधन गर्ने गर्छन्।

तपाईं कसरी बाघ निर्माता? जिज्ञासामा उनको जवाफ थियो, 'जस्तो परिस्थितिमा पनि फिल्म बनाइरहने भएकाले मलाई बाघ निर्माताको उपनाम दिएको हुन सक्छ।' उनी आफू यसै बाघ निर्माता नभएको भन्छन्। 'मैले द्वन्द्व युगमा पनि फिल्म बनाएकै थिएँ। नेपाली फिल्म क्षेत्र डुब्यो भन्दा पनि फिल्म बनाएकै थिएँ', उनले भने, 'बाढी आउँदा पनि फिल्म बनाएकै छु। भूकम्प आउँदा पनि बनाएकै छु। त्यही भएर म बाघ निर्माता भएको हुँ।'

छविराज फिल्मबाहेक आफ्नो अन्य कुनै पेसा नभएको बताउँछन्। 'म तीस वर्षदेखि फिल्ममा काम गरेको मान्छे', भन्छन्, 'जसले आजसम्म २३ वटा फिल्म निर्माण गरिसकेको छ। म एउटा फिल्म हिट होस् अनि अर्को फिल्म बनाउँछु भनेर कहिल्यै बसिनँ। मेरो पेसा यही हो, यही काम गरिरहेको छु।'

यसरी भए छवि निर्माता

धरानमा जन्मिएका छविराजलाई फिल्ममा मोह थियो। फिल्म हेर्न निकै रुचाउँथे उनी। धरानमा साथीको हल थियो। 'साथीको हल भएपछि त विना पैसा जति पनि फिल्म हेर्न पाइयो', उनी भन्छन्, 'म फिल्ममा रुचि भएको मान्छे। एउटै फिल्म सात/आठचोटि हेर्थें।'

त्यसबेला धरानमा हिन्दी फिल्मको दवदवा थियो। फिल्म कहाँबाट ल्याइन्छ? के हुन्छ प्रक्रिया? यो उनको चासोको विषय बन्यो। उनले हलवाला साथीसँगै फिल्म लिन कलकत्ता तथा पटरिया जान थाले। विस्तारै उनले फिल्म चलाउने प्रक्रिया बुझे।

उनले अब इटहरीमा एउटा अफिस सुरु गरे- फिल्म वितरणका लागि। भन्छन्, 'मैले इटहरीमा आफैँ एउटा अफिस खोलेँ। कलकत्ता तथा पटरिया गएर हिन्दी फिल्म किनेर ल्याउँथेँ अनि हलमा बेच्थेँ।'

उनले अनिल कपुरको 'हिफाजत' फिल्मको नेपाल अधिकार किनेका थिए। त्यही फिल्म काठमाडौंको कुमारी हलमा चलाउन भनी काठमाडौं आए। त्यही बेला उनको भेट स्व. निर्देशक दीपक रायमाझीसँग भएको थियो। 'हिफाजत' फिल्म चलाउन काठमाडौं आएको बेला निर्देशक दीपक रायमाझीसँग भेट भयो', उनी सम्झिन्छन्, 'काठमाडौं फिल्म चलाउन आएको बेला दीपक रायमाझीसँग भेट भयो। उहाँ नयाँ फिल्म 'भाग्यरेखा' बनाउन लाग्नुभएको रहेछ। त्यसमा केही प्रतिशत लगानी गरियो।' तर फिल्मले व्यावसायिक सफलता भने पाएन।

छविलाई अर्को फिल्म बनाउने रहर चल्यो। पुन: दीपक रायमाझीसँग भेटे। 'मैले चिनेको निर्देशक भनेको तपाईं हो', छविले दीपकलाई भने, 'तपाईंले अब फेरि मेरो अर्को फिल्म बनाउनुपर्ने भयो।' छविले दीपकलाई कन्सेप्ट दिए। दीपकले उक्त कन्सेप्ट मनपराए। फिल्म निर्माण भयो। त्यो फिल्म थियो, 'युगदेखि युगसम्म'। यहीँबाट छविको फिल्म निर्माणको खास यात्रा सुरु भयो।

एक्सन फिल्मलाई बढी प्रथमिकता

छवि ओझाले निर्माण गरेको फिल्ममा कुनै न कुनै किसिमले द्वन्द्व जोडिएको हुन्छ। उनी प्राय: एक्सनप्रधान फिल्म निर्माण गर्छन्। पहिलो फिल्म 'युगदेखि युगसम्म'मा पनि राजेश हमाललाई लिएर एक्सन फिल्म बनाएका उनलाई एक्सनमै रमाइलो लाग्दै गयो। सफलता पनि उनको पछि लागेको थियो। 'पहिलो फिल्म नै राजेश हमाललाई लिएर एक्सनप्रधान बनाएँ', उनी भन्छन्, 'एक्सन फिल्म नै सफल हुँदै गएपछि एक्सन फिल्ममा नै रुचि बढ्दै गयो।'

उनले नारीप्रधान फिल्म पनि धेरै निर्माण गरेका छन्। पूर्व पत्नी रेखा थापालाई लिएर उनले धेरै नारीप्रधान फिल्म निर्माण गरे। रेखालाई फिल्मको 'नायक' बनाएर प्रस्तुत गर्थे। रेखा छविका धेरै फिल्ममा एक्सन नायिकाको रूपमा प्रस्तुत भएकी छन्।

मंगलमबाट ट्र्याक फेरियो

एक्सन फिल्म निर्माण गर्ने छविले एउटा पनि फाइट सिन नराखी 'मंगलम' निर्माण गरेका छन्। उनी भन्छन्, 'मंगलमबाट मेरो ट्र्याक चेन्ज भएको छ। हरेक फिल्ममा द्वन्द्वको सिन देखाउनुपर्ने मैले यस फिल्ममा एउटा सिन पनि फाइट देखाएको छैन।' आफ्ना लागि यो धेरै नयाँ प्रयोग भएको उनी बताउँछन्।

मंगलममा भैतिक द्वन्द्व नभए पनि भावनात्मक द्वन्द्व धेरै भएको छवि बताउँछन्। भन्छन्, 'फिल्ममा किक, फाइट केही छैन तर भावनात्मक द्वन्द्व धेरै छ। यसले दर्शकको मन जित्नेमा कुनै शंकै छैन।' मंगलम समाजमा भइरहने पारिवारिक कथामा निर्माण भएको छवि बताउँछन्। 'फिल्मले समाजमा भइरहेको यथार्थलाई देखाएको छ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.