|

दमक (झापा) : गौरीगन्ज ६ खजुरगाछीका श्याम महतो २०२२ सालमा पाँच वर्षका थिए। त्यसै बेला उनका बाबु सानो दुखाले एक बिगाहा सात कट्ठा जग्गाको मोहियानी हक पाएका थिए। अहिले श्यामका नाति नन्दलाल पाँच वर्षका भए तर पनि त्यो जग्गाको धनीपूर्जा प्राप्त गरेका छैनन्। बरु जग्गा पाँच कट्ठामा सीमित भइसक्यो। आफ्नो भएको जमिन पनि गुमाएका उनी अहिले मजदुरी गरेर परिवार चलाइरहेका छन्। 

बुढ्यौली लागेर काम गर्न गाह्रो हुन थालेपछि ऋण खोजेर एउटा छोरा मलेसिया पठाएका छन्। दुईपल्ट आगलागी हुँदा मोहीयानीपत्र जलेपछि निकालिएको प्रतिलिपि देखाउँदै उनले भने, ‘बाउ यही कागज हेर्दाहेर्दै मरे, मेरो पनि उस्तै हालत हुनेभयो, छोरा र नातिको चाहिँ हाम्रो जस्तो हालत नभए हुन्थ्यो।’
यस्तो समस्या उनको मात्रै होइन, यहाँका १२ परिवारको हो।

पाँच दशकअघि भूमिसुधार कार्यालयबाट मोहीयानी हकको कागज पाएका उनीहरूलाई सात वर्षअघि भएको थातथलोबाट पनि उठाइयो। उक्त जमिनमा अस्पताल बन्छ, अर्को ठाउँमा मोही अधिकारको आधा जमिनको धनीपूर्जा दिने भनेपछि सबै परिवार मन्जुर भए। तर यो पाँच दशकको बीचमा न उनीहरूको जग्गा रह्यो, न धनीपूर्जा दिन्छु भनेको सात वर्ष बित्दा धनीपूर्जा नै पाए। बरु मोहीवापतको जमिनमा खेती गर्दा खान पुग्नेहरू अहिले भएको जमिन पनि अस्पतालको नाममा सुम्पिएपछि मजदुरी गरेर गुजारा चलाउने अवस्थामा पुगेका छन्। 

यसरी भयो उठिबास

१२ मोही परिवारको बसोवास रहेको साविक खजुरगाछी-८ को जमिनबाट सरकारी अस्पताल बनाउने भन्दै उनीहरूलाई उठाइएको थियो। त्यहाँ वस्ती नै खाली पारी अस्पताल निर्माण भइरहेको छ। २०१० सालदेखि बसोवास गरेकाहरूले बसोवास र जोतभोगका आधारमा २०२२ सालमा मोहीयानी अधिकार पाएका थिए। तर उनीहरूलाई सात वर्षअघि त्यहाँबाट हटाइयो र मोहियानी अधिकारको आधा जग्गाको जग्गा धनी प्रमाण पूर्जा दिने भनियो। धनीपूर्जा नै पाउने भएपछि उनीहरू राजी पनि भए तर न उनीहरूले पुरानो जमिन उपभोग गर्न पाए, न पाउनुपर्ने भन्दा आधाको पनि धनीपूर्जा पाए। 

अस्पताल बनाउने जमिनबाट विस्थापित पारिएका श्याम महतोका बाबु सानो दुखा महतोको नाममा एक बिगाहा सात कट्ठा मोहीयानी कायम भएको थियो। २०२२ बैशाख ११ गते जारी मोही अधिकारको कागज देखाउँदै उनले भने, ‘मेरा बाउले पनि यो जग्गाको अधिकार नपाई बिते, अब मेरो पनि त्यस्तै बेला हुन लाग्यो।’ उनकाअनुसार भीमप्रसाद राजवंशीले अस्पताल निर्माणका लागि छ बिगाहा १६ कट्ठा जग्गा उपलब्ध गराएका थिए तर त्यहाँ बसोवास गर्ने १२ परिवारको लगत सोही जग्गाभित्र थियो। वर्षौंसम्म अस्पताल भने बनेन। तर जब सात वर्षअघि अस्पताल बन्ने भयो अनि मात्र मोहीले चाल पाए कि आफूहरूको उठिवास लाग्दै छ भनेर। ‘अस्पताल बन्ने भएपछि हामीले पनि बरु आधा जग्गाको मात्र धनीपूर्जा भए पनि हुन्छ, अस्पताल बनोस् भन्यौँ’, उनले भने।

बुढ्यौलीले ढाड कुप्रो भइसकेका उनले भने, ‘तर हामीलाई दिने भनिएको आधा जग्गाको पनि कुनै हिसाब गरिएको छैन।’ अरूले आफ्नो हकको आधा जग्गा पाए पनि आफूहरूले त्यो पनि नपाएको उनले गुनासो गरे। मोहियानी अधिकार भएका उनका बाबु सानो दुखाका दुई छोरा सतनु र श्याम छन्। उनीहरूको हक थियो एक बिगाहा सात कट्ठा तर वस्ती उठाउने बेला दुई छोराको भागमा १० कट्ठा मात्र दिइएको उनले बताए।

अधिकार नपाई सबैको निधन

सोही ठाउँमा जन्मी हुर्की गरेका सम्पद महतोका अनुसार मोहियानी हक पाएका १२ जना सबैको निधन भएको छ। उनीहरू कसैले पनि आफ्नो जमिनको धनीपूर्जा हेर्न पाएनन्। मोहीयानी हक पाउनेहरूमा फच्याङ महतो, चन्द्रप्रसाद सिजापति, चञ्चल महतो, जानका महतो, सानो दुखा महतो, सिंहेश्वर महतो, मुद्री भट्ट, चन्द्रबहादुर सिजापति, सोमना महतो, मङ्ना महतो, असर्फी महतो र सहदेव महतो थिए। ती सबैको निधन भइसकेको छ। उनीहरूपछिको चौथो पुस्ता हुर्किंदासमेत जग्गाधनी प्रमाण पूर्जा प्राप्त भएको छैन। 

मोहियानी हक पाएका फच्याङ महतोको भागमा पाँच कट्ठा पाँच धुरको अधिकार थियो। तर फच्याङका छोराहरूले तीन कट्ठा तीन धुरमा चित्त बुझाए, धनीपूर्जा पाउने सर्तमा। तर अझैसम्म धनीपूर्जाविहीन उनीहरू मजदुरी गरेर गुजारा चलाइरहेका छन्। ‘धनीपूर्जा भए त धितो राखेर ऋण लिइन्थ्यो, खेतीपाती वा व्यापार बट्टा गरिन्थ्यो’, एक निर्माण कम्पनीमा चौकीदारी गर्दै आएका फच्याङका छोरा सम्पदले भने, ‘आफ्नो जग्गासमेत दिइयो, अहिले यस्तो हालत भएको छ।’

राजनीतिक दलले उपयोग मात्र गरे

मोहियानी सिंगेश्वरका छोरा रामेश्वर महतोको गुनासो छ, राजनीतिक दलहरूले उपयोग मात्र गरे भन्ने। चुनावका बेला पनि धनीपूर्जा दिन्छु भनेर भनेका थिए। अहिले उनीहरूले नै जितेका छन् तर सबैले आफूलाई मतलब नगरेको उनी सुनाउँछन्। ‘बुबाको मोहियानी हक चार कट्ठाको थियो तर अस्पताल बनाउने बेलामा सार्दा चार जना छोराहरूका लागि दुई कट्ठा मात्र दिएको छ’, उनले भने, ‘तर त्यसको पनि धनीपूर्जा भए त हुन्थ्यो नि दिँदैन।’ 

वर्षौंदेखिको आफूहरूको अधिकार दिलाउन र चुनावका बेला बोलेका कुराको स्मरण गराउँदै गाउँपालिकामा लिखित रूपमा ध्यानाकर्षणसमेत गराइएको उनले बताए। ‘हामी त्यसै भएको घर छोडेर उठेको होइन, नेताहरूले धनीपूर्जा दिन्छु भनेको थियो’, उनले आक्रोश पोखे, ‘तर सबै नेताहरू गफाडी मात्र भए, कसैले काम गरेनन्।’

स्थानीय सरकारको आश्वासन मात्र

स्थानीय सरकारले पनि यहाँका १२ मोहयानी परिवारको समस्या बुझेको छ तर समाधानको प्रयास भइरहेको भन्नेबाहेक अरू उत्तर छैन। सोही वडाका वडाध्यक्ष बद्रीनारायण यादव आफूहरूले मोही परिवारको उपेक्षा नगरेको बताउँछन्। वर्षौंदेखिको समस्या रहेकाले समाधानमा केही समय लाग्ने उनको तर्क छ। चाँडै नै भूमि व्यवस्थापन आयोग गठन गरिने र उनीहरूको समस्याका बारेमा अध्ययन गरिने उनको भनाइ छ। ‘समस्या यो अहिलेको होइन नि, समाधान गर्न समय त लागि हाल्छ नि!’, वडाध्यक्ष यादवले भने, ‘मोही परिवारसँगै गाउँपालिकामा रहेका अन्य बसोवाससम्बन्धी समस्या समाधानका लागि हामीले आयोग गठन गर्छौं, त्यसैमार्फत सबै काम हुनेछ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.