​माधव नेपालले गीत सम्झिए ‘मेरो देश डुब्नै लाग्यो’

|

काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको मंगलबारको बैठकमा दलका प्रतिनिधिले बोल्ने कार्यक्रम थियो। बैठक सुरु भएपछि प्रतिनिधिसभा सदस्यमध्येका जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे। उनले बैठकको सुरुमा नै दलीय प्रतिनिधिको आधारमा बैठकमा बोल्ने कार्यसूची रहेको जानकारी दिए।

बैठकमा बोल्ने अधिकांश दलका प्रतिनिधिहरूले नयाँ सरकारलाई बधाई दिएका थिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी नै चल्यो। मधेसकेन्द्रित दलका दुई नेताले भने संविधान अपूर्ण रहेको भन्दै संशोधनको माग गरे। 

सोहीअनुसार बैठकको सुरुमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेबाट पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले बोल्ने मौका पाए। एमाले संसदीय दलको नेता केपी शर्मा ओली भए पनि अोली प्रधानमन्त्री भएका कारण वरिष्ठ नेता नेपालले सम्बोधन गरे।

मधेसी दलहरूले संविधान संशोधनको माग राखिरहेको अवस्थामा नेता नेपालले पार्टीको प्रतिनिधित्व गर्दै बोल्दासमेत यस विषयमा भने कुरा गरेनन्।

उनले देशको विकासमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताए। यस पटक भने जनताले बुद्धिमानी नर्णय गर्दै वाम गठबन्धनलाई जिताएको उनको भनाइ थियो। उनले अब देशको विकासमा वाम गठबन्धनले प्रतिवद्धताअनुसार काम गर्ने दाबी गरे।

२००७ सालमा प्रजातन्त्र स्थापनाका निम्ति नेपाली कांग्रेसले खेलेको भूमिकालाई हेरेर २०४६ पछिको निर्वाचनमा कांग्रेसलाई पहिलो बनाएको उनको भनाइ थियो। त्यसपछि कांग्रेसको काम हेरेर फेरि एमाललाई प्रमुख दल बनाएको उनले बताए। अहिले पनि वाम गठबन्धनको काँधमा जिम्मेवारी रहेको तर दुई तिहाई नजिक भए पनि वाम गठबन्धनले अहंकार राख्न नहुने उनले सुझाए। कांग्रेसले सुरुदेखि नै अतिवादी दृष्टिकोण राख्न नहुने नेता नेपालको भनाइ थियो। आफूहरूले रचनात्मक विपक्षीको अपेक्षा गरेको उनले बताए।

नेपालको संविधानमार्फत जनताले पाएको अधिकारलाई अरूले पनि प्रशंसा गरेको नेपालको भनाइ थियो। मधेसी दलका नेताहरूले संविधानमा त्रुटि छ, सच्चयाउानुपर्छ भनिरहेको अवस्थामा नेता नेपालले संविधान धेरै उत्कृष्ट रहेको बताए। उनले भने, ‘नेपालको संविधानले महिला, दलित, जनजाति, मधेसी, मुस्लिमलगायत पछाडि परिएको समुदायलाई धेरै अधिकार दिएको छ। यसलाई धेरै देशले प्रशंसा पनि गरेका छन्।’ सधैँ आरक्षणले मात्र कुनै समुदायको उत्थान नहुने उनको भनाइ थियो। नेता नेपालले भने, ‘सधैँ आरक्षणले मात्र हुँदैन। कुनै समुदाय म पनि प्रतिस्पर्धामा आउन सक्छु भनेरअघि बढ्नुपर्छ। उनीहरूको आत्मविश्वास बढाउन यो सरकारले विशेष योजना ल्याउनुपर्छ।’

संसदमा बोल्दाबोल्दै नेता नेपालले डा. भोला रिजालको शब्दमा रहको ‘मेरो देश डुब्नै लाग्यो’ भन्ने गीत सम्झिए। ‘म यो गीत जब सुन्छु, तब भावविह्वल भएर आउँछु। माझीको खोजी भइरहेको छ यो देशमा', उनले भने, 'यो देशमा त्यस्तो व्यक्तिको खोजी भइरहेको छ,  जसले डुब्न लागेको यो देशलाई बचाओस्।’

फेरि उनले उक्त गीतको अर्को हरफ सम्झिए, ‘आएन कोही देशलाई आँखाभरी लुकाउने, जति आए उस्तै आए आफ्नै दुनो सोझ्याउने।’ गीतको यो हरफ भन्दै नेता नेपालले आफूहरू यस्तो होइन भनेर प्रमाणित गर्नुपर्ने बताए।

उनले लगत्तै संसदमा अर्को गीतको हरफ भन्न भ्याए। उनले डा. विश्वनाथ ‘प्रेम’को शब्द रहेको अर्को गीत ‘छाडेर काम सारा, एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु’ सुनाए। उनले यी हरफ भनिसकेपछि भने, ‘यो भावनालाई ध्यानमा राखेर यो सरकारले यहाँ मानिसहरू जो भ्रष्टाचारबाट मुक्त छन्, देशभक्तिको भावनाले ओतप्रोत छन्, सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छन्, सिंगो नेपालीको शिर ठाडो पार्ने मान्छे छन् भनेर अघि बढ्नुपर्ने हुन्छ।’

नेपाललाई देउवाको व्यंग्य

एमाले नेता नेपालले सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जवाफ फर्काए। बोल्न सुरु गर्दै गर्दा देउवाले ओलीलाई पनि व्यंग्य गर्न भ्याए। उनले भने, ‘ओलीजीलाई प्रधानमन्त्री हुनुभएकोमा बधाई छ। हुनत उहाँले मलाई चुनाव नै गराउँदैन भन्नुभएको थियो। उहाँलाई अझै पनि चुनाव भएको जस्तो लागेको छैन होला।’

नेपालले ओली सरकारको प्रशंसा गरेपछि देउवाले व्यंग्य गरे, ‘प्रधानमन्त्रीलाई धेरै खुसी पार्नुभयो। ठीकै छ। पार्टीभित्र खुसी पानुपर्ने बाध्यता होला।’

प्रचण्ड र देउवाको जुहारी

संसद बैठकमा बोल्न विषेश समय पाएको संसदको दोस्रो ठूलो दलको संसदीय दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी नै चल्यो। देउवाले परिवर्तनको जस सबै लिन खोजेपछि प्रचण्डले त्यसको प्रतिकार गरे।

परिवर्तनका हरेक मोडमा कांग्रेसले विशेष भूमिका खेलेको देउवाले सम्बोधनका क्रममा भनेका थिए। ‘आफ्नो पार्टीका विषयमा धेरै कुरा गर्ने मेरो रहर होइन तर शौभाग्यले २००७ सालको परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको हो’, देउवाले भने, ‘२०४६/०४७ को आन्दोलनको नेतृत्व पनि कांग्रेसले गरेको हो। २०६२/०६३ को आन्दोलन पनि कांग्रेसकै नेतृत्वमा भएको हो।’ देउवाले संविधान निर्माणदेखि कार्यान्वयनको चरण निर्वाचनसम्म कांग्रेसले नेतृत्व गरेको बताए।

देउवालगत्तै बोल्ने मौका पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई जवाफ फर्काए। देउवाले सबै जस लिन खोजेपछि उनले एक हातले ताली नबज्ने प्रतिक्रिया दिए। ’दुई हातले ताली बजेको हो भन्ने कुरा नजरअन्दाज नगरियोस् भन्ने कुरा अपील गर्न चाहन्छु', उनले भने, 'प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, इतिहासमा धेरै महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ तर तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउनुमा सबैको जिम्मेवारीबोध र भूमिका रहेकै हो।’

उनले सबै परिवर्तन देशका सबै राजनीतिक दलको सहमतिले मात्र सम्भव भएको बताए। उनले भने, ‘चाहे पञ्चायतविरुद्धको आन्दोलन होस् वा जनयुद्ध र जनआन्दोलनको समायोजन गर्ने १२ बुँदे समझदारी होस्, त्यो पनि एउटा राष्ट्रिय सहमतिबाट मात्र भएको हो।’ संविधान बनाउन पनि आफू, आफ्नो पार्टी र सबै दलको सहमतिका आधारमा मात्र सफल भएको बताए।  

संविधान संशोधनमा यादव र महतोको जोड

संसदमा बोल्ने क्रममा भने राजपा नेपालका नेता राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताएका थिए। उनीहरूले संविधान धर्मग्रन्थ नभएको भन्दै जनताको आवश्यकता र मागअनुसार परिमार्जन र संशोधन गर्नुपर्ने माग गरेका थिए।

फोरम अध्यक्ष यादवले नेपालको संविधानमा केही राम्रा पक्ष भए पनि धेरै नराम्रा पक्ष भएका कारण संशोधन आवश्यक रहेको बताएका थिए। उनले भने, ‘संविधानमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयतालगायतका केही विषय धेरै राम्रा छन् तर उत्पीडित वर्गका केही मागहरू समेटिएका छैनन्। यसलाई संशोधनमार्फत समेट्नुपर्छ।’

राजपा नेता महतोले पनि देश विविधताभित्र रहेकाले सबैको पहिचानलाई स्वीकार गरेर संविधान संशोधन गर्नुपर्ने बताए। उनले भने, ‘यो विविधताले भरिएको देश हो। विविध संस्कृतिले भरिएको देश हो। यसलाई स्वीकार गर्नुपर्छ। यसका लागि सबैको पहिचानलाई स्वीकार गर्दै संविधान संशोधन गर्नुपर्छ।’ उनले नश्लीय सोच छाडेर नेपाली सोच र चिन्तन बनाएर अगाडि बढे नेपाल समृद्ध हुने बताए।

उनले प्रचण्डले संविधान संशोधनमा पहल गरेको भन्दै धन्यवाद दिए। उनले भने, ’प्रचण्डले जुन पहल गर्नुभयो, त्यसका लागि धन्यवाद। अब हामी पनि तपाईंको साथमा छौँ।’ उनले दुनियाँको सर्वोत्कृष्ट भनिएको २०४७ सालको संविधान कहाँ गयो भन्दै प्रश्नसमेत गरे।

उनले हिन्दी भाषामा सम्बोधन गरेका थिए। उनले रेशम चौधरीलाई संसदमा ल्याउने वातावरण बनाउन आग्रहसमेत गरे। अरोप लगाउँदैमा कोही अपराधी नहुने बताउँदै जनताका प्रतिनिधि चौधरीलाई संसदमा ल्याउन आग्रह गरे। उनले भने, ‘जनताका प्रतिनिधि रेशमलाल चौधरी यहाँ आउने सरकारले वातावरण बनाउनुपर्छ।’

नाम नआएपछि समय मागेरै बोले लिङ्देनले

सांसदको विशेष संबोधनमा राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलका दलीय प्रतिनिधिले सम्बोधन गरिसकेपछि राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरे।

उनीहरूको सम्बोधनपश्चात सभामुख महन्थ ठाकुरले भानुभक्त ढकाललाई प्रतिनिधिसभा निमावली मस्यौदा समितिका लागि बोलाउँदै गर्दा राप्रपाका सांसद राजेन्द्र लिङ्देनले उठेर समय मागे।

लिङ्देन : सभामुख महोदय, म कुरा राख्न चाहान्छु, म राजेन्द्र लिङ्देन।

ठाकुर : के छ भन्नुस्?

लिङ्देन : सभामुख महोदय, म यहाँ ध्यानाकर्षण गराउन चाहन्छु कि यो सदनभित्र राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यो पार्टीको सदस्य पनि छ। र म त्यो रोस्टमबाटै आफ्ना कुरा राख्ने अनुमति चाहन्छु।

ठाकुर : तपाईंको नाम आएको छैन यहाँ।

लिङ्देन : म राजेन्द्र लिङ्देन। मैले आफ्नो कुरा राख्ने अनुमति चाहन्छु।

ठाकुर : होइन, तपाईंको नाम आएकै छैन। नाम दिनपर्थ्यो नि!

लिङ्देन : त्यो हामीलाई जानकारी हुनुपर्थ्यो नि!

ठाकुर : ल.. सबैलाई जानकारी छ यो त।

ठाकुरलाई संसद सचिवालयबाट ‘हुन्छ, आउनुस् म समय दिन्छु’ भन्न लगाएपछि लिङ्देनले आफ्ना कुरा राखेका थिए। सभामुखले आउनुस् भनेपछि सहभागी सांसदहरूमा हाँसो मच्चिएको थियो।

संबोधनका क्रममा लिङ्देनले भ्रष्टाचारविरुद्ध आफ्ना प्रतिबद्धता शपथका रूपमा राख्न चाहे पनि नपाएको बताए। उनले भने, ‘मैले यो भ्रष्टाचारविरुद्धको प्रतिवद्धता शपथ ग्रहण समारोहमा नै चर्को स्वरमा कस्सिएर राखुँ भन्ने चाहेको थिएँ तर भन्न पाइनँ। शपथको फाइलमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु भनेर थप शपथ बुझाएको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.