|

काठमाडौं : कवि तथा लेखक बिकु लामाको कविता कृति ‘सपनाको ट्रान्जिटमा’ सार्वजनिक गरिएको छ।

कवि तुलसी दिवस, विप्लव ढकाल, उपन्यासकार माया ठकुरीलगायतले मंगलबार बाठमाडौंमा उक्त कृति सार्वजनिक गरेका हुन्।

जीवनका विविध विषय र आयाममा लेखिएका ३३ थान कविता समावेश गरिएको उक्त कविताकृतिबाट कवि अमृता स्मृति, सुनिता खनाल र बाबु त्रिपाठीले एक एकवटा कविता वाचन गरेका थिए।

नेपाली भाषामा कविता लेख्दैमा नेपाली कविता हुँदैन भन्दै कवि तुलसी दिवसले लामाका हरेक कवितामा नवीन, मौलिक र निजत्व रहेको  बताए। उनले भने, ‘आफ्नो कविताको वकालत गर्न नसक्ने कविले कविता लेख्न छोड्नुपर्ने समय आइसकेको छ।' कविले सधैँ सामाजिक मुद्दा भन्दै दु:खका र रोदनका कविता लेख्नु गलत भन्दै कवि दिवसले कवितालाई विश्लेषण र व्याख्या गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै पत्रकार तथा कवि फूलमान बलले विमोचित कृति समाज रूपान्तरणका लागि अब्बल दस्तावेज भएको बताए। उनले भने, ‘लामाका कविताहरूमा भाषिक त्रुटि रहे पनि समाजको आर्थिक तथा भौगोलिक स्वरूपलाई कविताको माध्यमबाट चित्रण गरेको पाइन्छ।‘

यथार्थवादी र भावप्रधान प्रेमिल कविताहरू यस कविताभित्र रहेको भन्दै समालोचक महेश पौड्यालले यी कवितामा समाजको यथास्थितिवादविरुद्धको विद्रोहको भाव झल्कने बताए। उनले भने, ‘अचेल हरेक कविका कवितामा समाजका उस्तैउस्तै विम्बहरु आइरहेकाले यस पाटोतिर पनि अहिलेका कविले ध्यान दिनुपर्छ।‘

यसअघि बिकु लामाका 'सोइनम' यात्रा उपन्यास, 'मृत्यु बिर्सिनेहरू' कवितासंग्रह बजारमा आइसकेका छन्। ‘सपनाको ट्रान्जिटमा’ सोइनम बुक्सले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.