|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि सबै क्षेत्रकाे ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्। मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- १ देवीटारमा रहेको देवीस्थान माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन गर्दै भुसालले छिटो पुनर्निर्माणको काम सम्पन्न गर्न सर्वसाधारणको समेत साथ, सहयोग र एेक्यबद्धता आवश्यक रहेको बताएका हुन्।

भूकम्प अतिप्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्ला गरी ३२ जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास, सांस्कृतिक सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य संस्था पूर्वाधारतर्फ सडक, सिँचाइ, खानेपानी तथा राष्ट्रिय धरोहरलगायतका क्षेत्रको पुनर्निर्माणको काम गरिरहेको उल्लेख गर्दै कार्यकारी अधिकृत भुसालले भूकम्पले देशभरका साढे सात हजार विद्यालयमा क्षति पुर्‍याएको जानकारी दिए।

'अहिले करिब तीन हजार विद्यालाय भवन बनिसकेका छन्। अब एक हजार ५०० बन्न बाँकी छन्, चार हजार ५०० को हाराहारीमा विद्यालय पुनर्निर्माण भइरहेकाछन्’, उनले भने, ‘बाँकी रहेका झण्डै तीन हजार शैक्षिक संस्था भने पुनर्निर्माणकाे तयारीमा रहेकाले यसै आर्थिक वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य लिएका छौँ।’

धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले शिक्षा क्षेत्रमा धुलिखेल नगरभित्र शिक्षक दरबन्दी समायोजन गर्न आवश्यक देखिएकाले आगामी चैत २८ गतेपछि त्यसतिर काम थाल्ने योजना बनाइसकेको उल्लेख गरिन्। 

जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले ग्रामीण क्षेत्रमा विद्यार्थी संख्याको तुलनामा शिक्षकको दरबन्दी संख्या थोरै र शहरमा ठीक उल्टो भएकाले त्यसलाई आवश्यकताका आधारमा समायोजन नगरेसम्म शिक्षा क्षेत्रको समस्या समाधान नहुने बताए। सेभ द चिल्ड्रेन नेपालका लागि निर्माण प्रबन्धक यादव मैनालीले नेपालमा भूकम्प अतिप्रभावित १४ जिल्लामा २३ वटा विद्यालय भवन निर्माण गर्ने लक्ष्यअनुसार काभ्रेपलाञ्चोकमा तीनवटा भवन निर्माण गरिने बताए।

नाङसाल एसोसिएसन नेपालका अध्यक्ष दिनेश लामाले भूकम्प गएलगतै तत्कालीन अवस्थामा राहतस्वरूप अस्थायी सिकाइ केन्द्र बनाइदिएको स्मरण गरे। 
दातृ निकायको विशेष सहयोगमा नवनिर्मित उक्त आठ कोठे विद्यालय भवन बनाउन कूल एक करोड ४० लाख २८ हजार ४६९ रुपैयाँ लागेको थियो। उक्त भवन अपांगमैत्री र बालमैत्री रहेको छ। 

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुर्‍याएका ४९६ विद्यालयका पाँच हजार २२० वटा कक्षाकोठामा क्षति भएकामा ९५४ वटा कोठा पूर्ण क्षति र ९१४ वटा कक्षा कोठामा आंशिक क्षति भएको थियो। त्यसमा २०० वटा कक्षा कोठा बनाइसकिएको जिल्ला कार्यान्वयन इकाइका प्रमुख शरद भण्डारीले बताए।

उक्त अवसरमा विद्यालय भवन निर्माणका लागि दुई रोपनी तीन आना जग्गादान गर्ने माइली लामा र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू धर्मबहादुर लामा, झलु तामाङ र ज्ञानबहादुर लामालाई सम्मान गरिएको थियो। 

यस विद्यालयमा हाल २२० जना विद्यार्थीहरू अध्ययनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.