|

  • शैलेन्द्र समदर्शी-

दार्जिलिङ : नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ। उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको बताइएको छ।

दार्जिलिङ निवासी नेपाली मूलका भारतीय नेपाली साहित्यकार राईले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा दिएको योगदान अमूल्य छ। नेपाली भाषा साहित्यको क्षेत्रमा उनले दिएको योगदानका कारण उनी विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भएका छन्।

वि.सं. १९८४ माघ १७ गते दार्जिलिङको खर्साङमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राई निम्न आय भएको परिवारमा जन्मेका भए पनि पढाइलाई भने उनले महत्त्व दिइराखे। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका राईको पहिलो पुस्तक 'विपना कतिपय' हो। यो सन् १९६१ मा प्रकाशन भएको हो।

प्रेमचन्द्र, रवीन्द्रनाथ टैगोरबाट प्रभावित राई समरसेट ममका पनि राम्रा पाठक हुन्। उनको पहिलो कथा 'रातभरि हुरी चल्यो'लाई मानिन्छ। नेपाली साहित्यमा ईश्वर बल्लभ र वैरागी काइँलासँग मिलेर दार्जिलिङ सरकारी महाविद्यालय पढ्दा सन् १९६३ मा नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलन सुरु गरेका राईले पछि लीलालेखनमा ध्यान केन्द्रित गरे। लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको 'कठपुतलीको मन' कथासंग्रहलाई लिइन्छ।

यस कृतिलाई नेपाली साहित्यमा उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानिएको छ। उनले 'नेपाली उपन्यासका आधारहरू' समालोचना कृतिका लागि सन् १९७५ को 'साहित्य अकादमी पुरस्कार' प्राप्त गरे।

राईका विपना कतिपय (कथासंग्रह, सन् १९६१), आज रमिता छ (उपन्यास, सन् १९६४), कठपुतलीको मन (निबन्धसंग्रह, सन् १९८९), कथास्था (कथासंग्रह, सन् १९७२), सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३), टिपेका टिप्पणीहरू (समालोचनासंग्रह, सन् १९६६), नेपाली उपन्यासका आधारहरू (समालोचनासंग्रह, सन् १९७४), सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६), साहित्यको अपहरण : मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३), दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), पहाड र खोला (निबन्धसंग्रह, सन् १९९३), अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४), पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५), लेखहरू र झ्याल (निबन्धसंग्रह, सन् २०००), लीला प्रस्तावना (समालोचना, वि.सं. २०५९) कृति प्रकाशित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.