|

इलाम : सन् २००४ बाट इलाममा सञ्चालनमा आएको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा एक सातादेखि बन्द भएको छ। इलाम नगरपालिका-८ सिङफ्रिङमा रहेको सो अस्पताल दक्ष चिकित्सक र बजेट अभावका कारण बन्द भएको हो।

स्थापना भएको करिब पाँच वर्षसम्म निकै राम्रोसम्म सञ्चालन भएको सो अस्पताल दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि विगत चार/पाँचवर्ष अघिबाटै सुनसान बन्दै गएको स्थानीयको भनाइ छ। हिमालयन हेल्थ केयर काठमाडौंद्वारा सञ्चालित अस्पताल स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बिरामीलाई सस्तो र भरपर्दो सेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको थियो। तर, अस्पतालमा बिरामी नआएपछि चार÷पाँच वर्ष अघिबाट त्यहाँ कार्यरत कर्मचारी घाम तापेर दिन कटाउथे।

०६१ मा डाक्टर मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको उक्त अस्पताल  तीन वर्षपछि (२०६४/१०/२४)  स्वास्थ्य मन्त्रालयबाट १५ शय्याको सामुदायिक अस्पतालका रुपमा स्वीकृत भएको थियो। ‘सञ्चालन भएको पाँच/६ वर्षसम्म २४सैँ घन्टा बिरामीको चापाचाप हुन्थ्यो’ अस्पतालका पूर्वकर्मचारी रविन रायाले भने, ‘तर, विस्तारै–विस्तारै चिकित्सकको अभावका कारण, बिरामी भर्ना अत्यन्त न्यून हुँदा सेवा नै बन्दको अवस्थामा पुगेको छ।’

अस्पताल स्थापनापछि ०६६ सम्म बहिरंग, अन्तरंग, साधारण एक्सरे, भिडियो एसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो। तर, पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध नगराएपछि अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका थिए।

सामुदायिक अस्पतालको अवस्था दिनदिनै नाजुक भएपछि यहाँका स्थानीय निकाय, स्थानीयवासी तथा सरोकारवालाको सहयोग नपाएको भन्दै कर्मचारीले गुनासो पोख्दै आएका थिए। अस्पताल सञ्चालनका लागि गठन भएको व्यवस्थापन समिति पनि राजनीतिक हानाथापका कारण निष्क्रिय बनेको थियो।

हिमालयन हेल्थ केयर संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आए पनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको थियो। अस्पताल सञ्चालन गर्न वार्षिक रुपमा ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

१८ पुसमा हिमालयन हेल्थ केयरका संस्थापक अनिल पराजुली तथा सल्लाहकार भरत बुढाथोकीको उपस्थितिमा अग्रज पत्रकार धर्म गौतमको संयोजकत्वमा अस्पताल सञ्चालनका लागि समन्वय समिति बनाइएको थियो। 

समितिले स्थानीयवासीहरुसँग अस्पताल सञ्चालन हुन नसक्नुको कारण खोजी गर्ने, जिल्लाका सरोकारवाला निकाय जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय इलामसँग संवाद गरी अस्पताललाई दीर्घकालीन रुपमा सञ्चालन गर्नको लागि पहल गरी दुई महिनाभित्र प्रतिवेदन तयार गर्ने प्रतिबद्धता गरेको थियो।

समितिले प्रतिवेदन बुझाउने मितिभन्दा दुईदिनअघि नै हिमालयन हेल्थ केयरले १७ फागुनबाट अस्पताल सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला समन्वय समिति, समाज कल्याण परिषदलाई बोधार्थ दिएर जिल्ला जनस्वास्थ्य कार्यालय इलामलाई पत्र पठाएको समन्वय समितिका सदस्य सुनिल गौतमले बताए।

उनले भने, ‘समितिले दुईवटा विकल्पसहित १७ फागुनमा प्रतिवेदन पेस गरेको छ। पहिलो विकल्पमा विशेषज्ञ नभएकाले अस्पताल सञ्चालन हुन नसकेको निष्कर्ष निकालिएको छ। हिमालयनले विशेषज्ञ व्यवस्था गरिदिए अस्पताल सञ्चालन हुन्छ। यदि त्यसो नभए हिमालयन हेल्थ केयरको सम्पत्ति इलाम नगरपालिका, जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयको स्वामित्वमा दिए चलाउन सकिन्छ।’

डा.मेघ बहादुर सामुदायिक अस्पताल हिमालयन स्वास्थ्य सेवामार्फत प्रोजेक्टका रूपमा सञ्चालित अस्पताल हो। हिमालयन स्वास्थ्य सेवाको करोडौँको लगानीलाई रहेको यस प्रोजेक्ट अब उक्त गैरसरकारी संस्थाको आर्थिक स्थितिले धान्न नसकेर बन्द गर्ने अवस्था नजिक पुगेको थियो। नाममा सामुदायिक भएता पनि सामुदायिक अस्पतालसम्बन्धी उचित नियमावलीको अभावले अस्पताल अहिलेसम्म हिमालयन स्वास्थ्य सेवाको आफ्नै पहलमा चलेको थियो।

अस्पतालको स्थिति सुदृढ भएर गएको र समुदाय अस्पताल चलाउन सक्षम भएको खण्डमा समुदायमा हस्तान्तरण गर्ने उद्देश्यले १३ वर्षअघिदेखि  पटक÷पटक प्रयास गर्दा र अनेक समिति बनाउँदा पनि राजनीतिक खिचातानी र उपयुक्त कानुनको अभावका कारण अस्पताल हिमालयन स्वास्थ्य सेवाकै मातहतमा सञ्चालन रही आएको थियो। सञ्चालनकै क्रममा केही वर्षअगाडि अस्पताललाई इलाम जिल्ला अस्पतालसँग समायोजन गरेर लान अनेक कसरत नभएको होइन, समायोजनमा प्रतिबद्धता जनाउँदै हिमालयन स्वास्थ्य सेवाले इलाम अस्पताललाई एम्बुलेन्स गाडीसमेत निःशुल्क उपलब्ध गराएको थियो।

संस्थाले पूर्वी पहाडी जिल्लाका जनताका लागि न्यून शुल्कमा सेवा पु¥याउनका लागि जिल्लाका विभिन्न गाउँहरुमा स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको थियो। अहिले अस्पतालमा रहेको एम्बुलेन्स पनि काम नलाग्ने गरी बिग्रिएर थन्किएको छ।

अस्पतालले सम्पूर्ण सेवा बन्द गरेपछि अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि सरोकारवाला निकायहरुसँग समन्वय तथा पहल भइरहेको अस्पतालका प्रशासकीय अधिकृत खेमराज घिमिरेले बताए। उनले भने, ‘अस्पताल पूर्ण रुपमा बन्द भएको छैन, अस्पतालले दिने सम्पूर्ण स्वास्थ्य सेवा मात्र बन्द भएको हो।’ अस्पतालमा एकजना मेडिकल अधिकृत सहित २५ जना कर्मचारी कार्यरत थिए।

तर, सन २०१७ डिसेम्बरबाट अस्पतालले ६÷७ जना कर्मचारी मात्र राखेर अन्यलाई बिदा दिएको छ। अस्पतालले सेवा बन्द गरेपछि अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिनहरु बेकामे बन्ने अवस्थामा पुगेको छ। सो अस्पताल इलाम सदरमुकामदेखि करिब डेढ किमी दूरीमा पर्दछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.