|

काठमाडौं : यही साताको शुक्रबार अर्थात् फागुन २५ बाट फिल्म 'हुर्रे' प्रदर्शनमा आउँदै छ। डार्क कमेडी जनरमा निर्माण भएको यस फिल्ममा राजाराम पौडेल, केकी अधिकारी, अनुपविक्रम शाही, अंकित खड्का, विजय बराल, संगीता नापितलगायतको मुख्य भूमिका रहेको छ। 

पशुपतिनाथ परिसरमा हुने वास्तविक घटनालाई विषयवस्तु बनाएर निर्माण गरिएको यस फिल्मलाई यम थापाले निर्देशन गरेका छन्। निर्देशक थापाले नै लेखेको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको संयुक्त लगानी रहेको छ।

फिल्मका सार्वजनिक दुई गीतलाई दर्शकले खुबै रुचाइरहेका छन्। कमेडी सिनहरूलाई बढी प्राथमिकता दिइएको ट्रेलरलाई पनि दर्शकले मनपराएका छन्। यसबाट पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सक्ने अनुमान लगाउन सकिन्छ।

हामीले हुर्रेमा काम गर्दाको अनुभवबारे हुर्रेका मुख्य कलाकारहरूसँग कुराकानी गरेका छौँ।

राजाराम पौडेल

एक महिनाको सुटिङ एकदमै रमाइलो भएको राजाराम बताउँछन्। फिल्मको सम्पूर्ण छायांकन पशुपति परिसरमा गरिएको छ। 'पशुपति परिसरमा काम गर्दा सुरुमा त आर्यघाटको धुवाँले बिरामी नै परियो', राजाराम भन्छन्, 'तर पछि त त्यो सामान्य बन्दै गयो।'

राजाराम फिल्मका दुई गीतमा नाचेका पनि छन्। 'ठेकी दही' बोलको गीतमा केकी अधिकारीसँग नाचेका राजारामले 'पशुपति' बोलको गीतमा नीता ढुंगानासँग कम्मर मर्काएका छन्। दुई नायिकासँग नाच्दा आफूलाई १६ वर्षे अनुभव भएको राजाराम बताउँछन्। 'एकदमै राम्रो नाच्ने दुई नायिकासँग नाचेको छु', उनी भन्छन्, 'उनीहरूसँग नाच्दा त आफूलाई १६ वर्षे अनुभव गरेको थिएँ।'

केकी अधिकारी

फिल्ममा केकी अधिकारी पशुपति परिसरमा फूल बेच्ने युवतीको भूमिकामा प्रस्तुत भएकी छन्। आफ्नो भूमिकाबारे केकी भन्छिन्, 'म पशुपति परिसरमा फूल बेच्ने युवतीको भूमिकामा छु, जसले एकदमै दुई अर्थी शब्द बोल्छ। तर ती दुई अर्थी शब्द बोल्न मलाई निकै गाह्रो भयो।' 

आफूले यसअघि गरेको फिल्मभन्दा बिलकुलै फरक भूमिका निर्वाह गरेको केकी बताउँछिन्। 'मैले अहिलेसम्म गरेको क्यारेक्टरभन्दा एकदमै फरक क्यारेक्टर निर्वाह गरेको छु', उनी भन्छिन्, 'उक्त क्यरेक्टर मेरो वास्तविक जीवनसँग अलिकति पनि मेल खाँदैन।'

टिम एकदमै राम्रो भएका कारण काम गर्न सहज भएको केकीको तर्क छ। 'राम्राराम्रा कलाकारहरूसँग काम गर्न पाएकी छु', उनी भन्छिन्, 'टिम राम्रो छ, त्यसैले फिल्म पनि राम्रै बनेको छ।'

अनुपविक्रम शाही

'हेन्डसम भिलेन'को रूपमा परिचित अनुपले यस फिल्ममा जोगी महाराजको भूमिका निर्वाह गरेका छन्। उनले फिल्मका लागि आफ्नो कपाल मुण्डन गरेका छन्। भन्छन्, 'मलाई हरेक फिल्ममा फरक फरक क्यारेक्टर निर्वाह गर्न मनपर्छ। त्यसैले पनि यस फिल्मका लागि मैले कपाल नै मुण्डन गरेँ।'

फिल्मको सम्पूर्ण छायांकन पशुपति परिसरमा भएका कारण पशुपति क्षेत्रको बारेमा नजिकबाट बुझ्न पाएको अनुप बताउँछन्। 'मैले पशुपति क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएँ', उनी भन्छन्, 'पशुपति परिसरमा धेरै लुकेका कथाहरू छन्। त्यहीमध्येको एक हो, हुर्रे।' फिल्ममा काम गरेपछि आफूमा सकारात्मक सोच आएको अनुपको भनाइ छ। उनी भन्छन्, 'आखिर मरेर जाने त्यही आर्यघाट हो। घमण्ड गर्न छोडौँ। सबैको सम्मान गरौँ।'

अंकित खड्का

केकी अधिकारीको पछि लाग्ने एक क्यारेक्टरमा छन्, अंकित खड्का। आफ्नो भूमिका खुलाउन नमिल्ने बताउँदै फिल्ममा काम गर्दा एकदमै रमाइलो भएको उनी बताउँछन्। उनी भन्छन्, 'अहिले मेरो क्यारेक्टर खुलाउन मिल्दैन तर जुन क्यारेक्टरमा मैले काम गरेको छु, त्यो एकदमै राम्रो क्यारेक्टर छ।'

उनले आफ्नो कपाललाई लामो अनि ठाडो बनाएका छन्। भन्छन्, 'क्यारेक्टरसँग मिलाउनकै लागि मैले कपाललाई त्यस्तो बनाएको हुँ।' केकीसँग दोस्रो पटक सँगै काम गरेका अंकित भन्छन्, 'मेरो लागि टिम नयाँ थियो तर काम गर्दै जाँदा कहिल्यै नयाँ टिमसँग काम गरेको महसुस भएन।' केकी राम्रो कलाकार भएको र उनीसँग नाच्न पनि रमाइलो भएको अंकित बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.