सन्दर्भ : विश्व मिर्गौला रोग दिवस

|

काठमाडौं : मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएका छन्। त्यसमध्ये मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाको मृत्यु हुने गरेको छ। नेपालमा भने कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको बताइएको छ।

प्रस्ट सरकारी तथ्यांक नभए पनि प्रत्येक वर्ष तीन हजार नयाँ मिर्गौला रोगी थपिने गरेको चिकित्सकहरूको अनुमान छ। नेपालमा पुरुषका तुलनामा महिलामा मिर्गौला रोगको समस्या बढी हुने गरेको चिकित्सकहरू बताउँछन्।

मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ महिलाहरूमा गर्भवती अवस्थाको जटिलताका साथै अन्य संक्रमणले गर्दा पुरुषको तुलनामा मिर्गौला रोग बढी भएको बताउँछन्। उनी भन्छन्, 'गर्भवती अवस्थाको जटिलता र अन्य कारण हुने संक्रमणको कारणले गर्दा पुरुषको तुलनामा महिलामा बढी मिर्गौला रोग देखिने गरेको छ।'

महिलाहरूमा स्वास्थ्य सेवा र उपचारमा पहुँच तथा चेतना नहुँदा महिलाहरू मिर्गौला रोगबाट पीडित भएको डा. श्रेष्ठको भनाइ छ। यस्तै, गर्भवती महिलामा गम्भीर मिर्गौला रोग भएमा आमा र तिनका शिशुमा समेत नकारात्मक असर गर्ने उनले बताए। उनले भने, 'गर्भवती अवस्थामा स्वास्थ्यको राम्रो हेरचाहका साथै पोषिलो खानेकुरा नखाए त्यस्ता आमाबाट कम तौलको बच्चा जन्मन सक्छ। कम तौल भएको बच्चामा नेफ्रोन कम हुन्छ। त्यस्ता बच्चाको पछि मिर्गौला बिग्रने समस्या हुन्छ। '

बदलिँदो जीवनशैली, खानपान, मोटोपनले गर्दा पछिल्लो समयमा युवा अवस्थामै मिर्गौला रोग देखा पर्न थालेको डा. श्रेष्ठ बताउँछन्। नेपालमा वर्सेनि मिर्गौला रोगीको संख्या बढिरहेको छ। नेपालमा मिर्गौला रोगबाट पीडित कति छन् भन्ने यकिन नभए पनि करिब ३० लाख मानिसमा मिर्गौलासम्बन्धी केही न केही रोग भएको अनुमान छ। ३० लाखमध्ये तीन लाख मानिसलाई मिर्गौलाको गम्भीर खालको समस्या छ र करिब ३० हजारको मिर्गौला पूरै बिग्रिएको छ।

त्यसमध्ये तीन हजारको प्रत्यारोपण गर्नुपर्ने अथवा नियमित रूपमा डायलाइसिस गर्नुपर्ने अवस्था छ। सरकारले डायलाइसिस गर्नुपर्ने मिर्गौला रोगीलाई नि:शुल्क डायलाइसिस गर्ने व्यवस्था गरे पनि मिर्गौला रोगीको संख्या बढिरहेको छ। बिरामीलाई रोग लागिसकेपछि उपचारभन्दा पनि मिर्गौला रोग लाग्नबाट सचेत बनाउन यो रोग लाग्ने कारण र बच्ने उपायबारे सचेत गराउनु आवश्यक भएको डा. श्रेष्ठ बताउँछन्।

पछिल्लो समय विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत मिर्गौला रोगीलाई सरकारले सहयोग गर्दै आएको छ। त्यसमार्फत हालसम्म १४२ जनाले नि:शुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने चार हजार १८२ जनाले नि:शुल्क डायलाइसिस र ८८ जनाले पेरिटोलियल डायलाइसिस गराएका छन्।

यसका साथै सरकारले नि:शुल्क मिर्गौला प्रत्यरोपणका साथै मिर्गौला रोगबाट पीडितहरूलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता प्रदान गर्दै आएको छ।  सरकारले मिर्गौला रोग लागेकाहरूलाई उपचारमा सहयोग गरे पनि रोकथामका लागि केही कार्यक्रम नगरेको हुँदा मिर्गौला रोग बढ्दै गएको डा. श्रेष्ठ बताउँछन्।

मिर्गौला रोगबाट बच्ने उपाय

सक्रिय जीवन जिउने।

रगतमा चिनीको मात्र ठीक राख्ने।

धुम्रपान नगर्ने।

आफूखुसी औषधि सेवन नगर्ने।

वर्षको एकपल्ट रगतमा क्रेटानिन र पिसाबमा प्रोटिन जाँच गर्ने।

उच्च रक्चचाप र कोलेस्ट्रोरोल नियन्त्रण राख्ने।

यसरी बचाउनुहोस् आफ्नो मिर्गौला

बदलिँदो जीवनशैलीका कारण हामी आफैँले मिर्गौलाको समस्या हुने जोखिम निम्तिरहेको छ। मिर्गौलामा रोग लागेको लक्षण थाहा हुँदैन। सुरुमा नै मिर्गौला रोग पत्ता लागेमा समस्याबाट मुक्त हुन सकिने डा. श्रेष्ठ बताउँछन्।

उनले भने, 'बिरामी धेरै नै अशक्त भएर अस्पताल आउने हुँदा यस्तो अवस्थाका बिरामीलाई कि डायलाइसिस गर्नुपर्छ या मिर्गौला नै प्रत्यारोपण गर्नुपर्छ। यी दुई कुरामध्ये एक गर्न सकेनौँ भने बिरामीको मृत्यु हुन जान्छ। त्यसैले यस्तो डरलाग्दो स्थितिमा नपुग्नका लागि मानिसले समयमै ध्यान दिनुपर्छ।'

३० वर्ष पार गरेका मानिस वा परिवारमा कसैलाई मिर्गौला रोग भएकालाई यो रोग देखिन सक्छ। धेरै मोटो, उच्च रक्तचाप भएमा र लामो समयसम्म कुनै रोगको औषधि सेवन गरेको मानिसलाई पनि मिर्गौलामा समस्या देखिन सक्ने भएकाले स्वस्थ मिर्गौलाका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

'हाम्रो मिर्गौलाको स्वास्थ्य हाम्रै जीवनशैलीमा भरपर्ने भएकाले जीवनशैली स्वस्थ भएन भने भने मिर्गौला स्वस्थ राख्न सकिँदैन', डा. श्रेष्ठले भने, 'त्यसैले आफ्नो जीवनशैलीलाई विशेष ध्यान दिनुपर्छ। धूमपान, मद्यपानबाट सकेसम्म टाढै रहनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.