|

काठमाडौं : मानवीय संवेदनासँग सूक्ष्म रूपमा खेल्न सक्ने लेखक हुन् अमर न्यौपाने। उनको कृति 'पानीको घाम'ले २०६६ सालमा पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो। प्रकाशोन्मुख 'कलिलो मन' बालकथाले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो।

उनको 'सेतो धरती' उपन्यासले २०६८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। 'करोडौँ कस्तुरी' उपन्यासले पाठकको मन जित्न सफल भएको थियो। मार्मिक र प्रेरणादायी लेखन शैली भएका न्यौपाने अहिले नयाँ पुस्तकको तयारीमा छन्। यसै क्रममा न्यौपानेका नजरमा १० नेपाली लेखकको लेखनशैली कस्तो छ? यसै विषयमा आधारित रहेर थाहाखबरकर्मी राजु पौडेलले न्यौपानेसँग गरेको कुराकानी :

१. बुद्धिसागर

बुद्धिसागरको लेखनशैली अरू लेखकको भन्दा पृथक छ। उनमा ठूलाठूला विषयवस्तु भन्दा पनि समाजका सानासाना विषयवस्तुलाई कलात्मकता दिएर लेख्नसक्ने खुबी छ। उनका उपन्यास पढिरहँदा पात्रको चित्र अनुहारमा आउँछन्, जुन एउटा लेखकमा हुनुपर्ने गुण हो। बुद्धिसागरका उपन्यास मात्र होइन, कविताको पनि म ठूलो प्रशंसक हुँ।

२. कुमार नगरकोटी

सामाजिक, राजनीतिक तथा प्रेमका उपन्यासभन्दा पर रहेर फरक शैलीका पुस्तक लेख्न सक्ने लेखक हुन्, नगरकोटी। समाजभन्दा बाहिर गएर अनौठौ संसारको निर्माण गरी लेख्ने नगरकोटी 'अघोरी लेखक' हुन्। उनको लेखनीमा न तारताम्य मिलेको हुन्छ, न त भाषिक अनुशासन नै। यो नै आफैँमा नवीनकला हो। उनका लेखमा चेतना प्रवाह शैली पाइन्छ।

३. सरस्वती प्रतीक्षा

न्यौपानेको नजरमा सरस्वती प्रतीक्षा विद्रोही चेत भएकी स्रष्टा हुन्। प्रतीक्षा कवितामा सामाजिक तथा राजनितिक मुद्दा उठाउने इमान्दार लेखिका हुन्। उनका कवितामा भाषा, शिल्प तथा कलाको सुन्दर संयोजन पाइन्छ। प्रतीक्षाको उपन्यास पनि सामाजिक मुद्दामा लेखेको हुनाले उनी समाजको वास्तविकता बाहिर ल्याउने कवि तथा उपन्यासकार हुन् भन्न सकिन्छ।

४. ध्रुवचन्द्र गौतम

कलेज पढ्दैदेखि ध्रुवचन्द्र गौतमको प्रशंसक रहेका न्यौपाने गौतमलाई प्रयोगवादी लेखक ठान्छन्। एक शहरमा एक कोठा, अलिखित पुस्तक नेपाली साहित्यका लागि खम्बा हुन्। पहिलो पटक नेपाली साहित्यमा स्वरैकल्पना लेखनशैली भित्र्याएका गौतमले राजनीतिक तथा सामाजिक मुद्दा र यौनका विषयवस्तुलाई फरक कोणबाट लेख्न सक्ने खुबी राख्छन्।

५. नारायण ढकाल

नारायण ढकाल राजनीतिक मुद्दामा लेख्ने लेखक हुन्। उनले भाषा र शिल्पलाई भन्दा विषयवस्तुलाई जोड दिन्छन्। उनका अधिकांश पुस्तक कम्युनिस्टभित्रका विकृतिबारे हुने गर्छन्। ‘आत्महन्ता', 'प्रेतकल्प', 'वृषभ वध'लगायत अधिकांश पुस्तकमा कम्युनिस्टहरूको सैद्धान्तिक विचलन, कम्युनिस्टहरूको विसंगतिलाई मूल विषय बनाएर लेखेका छन् ढकालले। सम्भवत: आजसम्म राजनीतिक विषयमा मात्र लेख्ने लेखक नेपालमा ढकाल मात्र हुन्।

६. नारायण वाग्ले

नारायण वाग्लेको 'पल्पसा क्याफे'ले नेपाली साहित्यमा ठूलो हलचल ल्याइदियो। नेपाली लेखकलाई पनि सेलिब्रिटीका रूपमा चित्रित गर्न थालियो। यस्तो ट्रेन्ड सेट गर्ने काम नारायण वाग्लेले गरिदिए। नेपाली समाजमा पठन संस्कृतिको विकास गर्न ट्रेन्ड सेटर पुस्तकका रूपमा पल्पसा क्याफेको भूमिका महत्त्वपूर्ण छ।

द्वन्द्वकालमा सरकार र द्वन्द्वरत पक्षका व्यक्तिले एकअर्कालाई नायक र खलनायकको रूपमा आरोप प्रत्यारोप लगाएर पुस्तक लेख्ने प्रवृत्ति मौलाएको बेला निरपेक्ष रूपमा मानवीय संवेदनालाई लेख्नु चानचुने कुरा होइन। द्वन्द्वकालको समयमा पनि द्वन्द्वकालीन विषयलाई कलात्मक रूपमा लेख्न सक्नु वाग्लेको खुबी हो। उनको लेखनमा छोटो संवाद, मीठो भाषा र उत्कृष्ट शैली रहेको छ।

७. सीमा आभास

उनी पनि सरस्वती प्रतीक्षा जस्तै विद्रोह चेत भएकी कवि हुन्। सीमाका कविता र आख्यानका पात्रहरू यथास्थितिवादविरुद्ध विद्रोह गर्न सक्ने खुबी राख्छन्। उनका कविता हुन् या आख्यानका पात्रहरू, आफू दमित हुँदा सहन नसक्ने र तत्काल प्रतिवाद गरिहाल्ने अनि आक्रामक शैलीका भेट्छु। उनी नारीका मुद्दा उठाएर महिला सशक्तीकरणका लागि आवाज उठाउने गर्छिन्। उनको  यही पाटो नै मलाई सुन्दर लाग्छ।

८. रावत 

रावतको कविताको प्रस्तुति र वाचन शैलीको प्रशंसक हुँ म। कवितालाई आदिदेखि अन्त्यसम्म एक किसिमको शक्ति दिन सक्ने र समाजका निम्न वर्गले समाजका ढोँगी मान्छेलाई हेर्ने दृष्टि कविताका माध्यमबाट चित्रण गर्न सक्ने खुबी छ रावतमा। तल्लो वर्गको दमित स्वरलाई टपक्क टिप्न सक्ने र काव्यिक रूप दिन सक्ने क्षमता भएका कवि हुन् रावत। शब्दलाई जोड्दैमा वा कम्युटरमा इन्टर हान्दैमा कविता हुँदैन। कविता के हो भनेर बुझ्नलाई पनि रावतलाई पढ्न जरुरी छ भन्ने उनको तर्क छ।

९. नीलम कार्की ‘निहारिका’

'हवन' कथासंग्रह पढेपछि कार्कीको प्रशंसक भएको हुँ म। पहिले प्रयोगवादी लेखनशैली भए तापनि पछिल्लो पटक 'चिरहरण' तथा 'योगमाया'सम्म आइपुग्दा पौराणिक तथा सामाजिक मुद्दामा लेख्ने लेखकको रूपमा नीलम स्थापित भएकी छन्। कार्कीको लेखन भाषिक कलाभन्दा पनि विषयवस्तु र वर्णनका हिसाबले उत्कृष्ट छ।

१०. सुविन भट्टराई

किशोर किशोरीलाई पुस्तक पढ्ने बानीको विकास गर्न सुविन भट्टराईको भूमिका महत्त्वपूर्ण छ। युवाहरूको मनोविज्ञानलाई बुझेर सुन्दर शैलीमा प्रेमबारे उपन्यास लेख्न सक्ने लेखक हुन् भट्टराई । आज जति पनि पुस्तक पढ्ने किशोर किशोरीहरू छन्, ती सबैमा कहीँ न कहीँ सुविन भट्टराईको भूमिका रहेको छ।

नयाँ लेखकका लागि पनि पाठक उत्पादन गरिदिने काम सुविनले गरेका छन्। उनी नेपाली समाजमा युवाहरूमा बढेको पठन संस्कृतिको ट्रेन्ड सेटर हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.