|

केही समय अगाडि सामाजिक संजालमा महिलावादी साथीहरूले एउटा स्टाटस सेयर गरेका थिए– ‘पुरुषहरू अफिसबाट आउँदा थकित भएर आउँछन् तर महिलाहरू अफिस जाने बेलैमा थाकिसकेका हुन्छन्।’ यो सुन्दा सामान्य लाग्छ तर मनन् गर्दा हामी कुन अवस्थामा छौँ भन्ने स्पष्ट हुन्छ। 

मैले १२ वर्ष भएछ जागिर खान थालेको। यसबीचमा मैले फरक–फरक स्थानमा फरक—फरक समयमा फरक–फरक संस्थामा फरक–फरक पदमा रहेर काम गर्ने अवसर पाएँ। यसमा मैले फरक–फरक अनुभूति प्राप्त गर्ने मौका पनि पाएँ। एउटी महिला भएर जागिर खाँदाका फरक–फरक अनुभव छन् मसँग पनि– अन्य काम गर्ने महिला श्रमिकहरूका जस्तै। जागिरका कुराभन्दा पनि महिलाले जागिर खाँदा कसरी संघर्ष गर्दै छन् र आफ्नो जागिर पनि धान्दै छन् भन्ने कुराको विश्लेषण गरौँ

जागिर खाने महिलालाई घर परविारले कसरी साथ दिएका छन् र काम गर्नका लागि वातावरण कसरी मिलाइदिएका छन्, यो जागिर खाने महिलाको घरपरिवारको सोच र व्यवहारमा भर पर्छ। 

मेरी एक जना दिदी र भिनाजु दुवै जना काम गर्नुहुन्थ्यो। बाहिरबाट समाजले हेर्दा आहा दुवैजना काम गर्ने, काठमाडौंमा घर भएको कति आनन्ददायक जीवन। अर्को एक जना दिदीकहाँ भिनाजु काम गर्नुहुन्थ्यो तर दिदी घरमै व्यस्त हुनुहुन्थ्यो। उहाँलाई जागिर खान भिनाजुले कहिले पनि दिनुभएन। ‘छोराछोरीको स्याहारमा कमी हुन्छ, घर अस्तव्यस्त हुन्छ, मैले कमाइहालेको छु नि, तिमी घर सम्हाल’ भन्नुहुन्थ्यो। दिदीको योग्यता र क्षमता हुँदाहुँदै पनि दिदी घरमै सीमित भएर बस्न थाल्नुभयो। उहाँलाई कहिले पनि फुर्सद हुँदैनथ्यो। फेरि उहाँको घरमा पाहुना पनि कहिल्यै नटुट्ने। दुवै दिदीलाई हेर्थें, घरै बस्नुभन्दा त जागिर खानु नै ठीक लाग्थ्यो। फेरि जागिर खाएकी दिदीको दैनिकी हेर्थें, बिहान उठ, हतार हतार खाना पकाउ, छोराछेरीलाई खुवाउ, आफू खाउ अनि स्कुल पुर्‍याउ र आफू पनि अफिस जाउ।

अफिस छुट्टी भएपछि छोराछोरीलाई साथमै ल्याएर खाजा खुवाउ, फेरि खाना पकाउने र खाने धन्दा गर्ने। भिनाजु बिहान उठ्नुहुन्थ्यो पढाउन जानुहुन्थ्यो। आएर खाना खानुहुन्थ्यो र दिउँसो स्कुल जानुहुन्थ्यो। स्कुल सकिएपछि घर आउँदा जहिले रात पर्थ्यो, कहिले कोसँग मिटिङ, कहिले भेटघाट, कहिले के कहिले के। छिटो आएको दिन पनि कि आफू पढेर कि टिभी हेरेर कि सुतेर समय कटाउनुहुन्थ्यो। 

हामीले चाहेको मातृसत्तात्मक समाज होइन, समतामा आधारित समाज  नै हो। महिलालाई मात्र अवसर दिनुपर्छ, पुरुषलाई पछाडि पार्नुपर्छ भनिएको होइन, दुवै बराबर हुनुपर्छ भनिएको हो। 

पढाउन जान नपरेको दिन पनि कहिल्यै भान्छामा सघाउन जानुभएको मैले देखिनँ। यस्तो देख्दा मलाई लाग्थ्यो, ती दिदी मान्छे हुन् कि मेसिन? दिदीलाई भन्थेँ, ‘जागिर छोडिदिनु दिदी, नपुग्दो के छ र? किन मरिमेट्नुहुन्छ?’ दिदी भन्नुहन्थ्यो, ‘काम नगरी त कसरी बस्नु? मैले पनि काम गरेकी छु र त घरमा खर्चको समस्या छैन।’ वास्तवमा दिदीको कमाइ भिनाजुको भन्दा बढी थियो र योग्यता पनि। तर पनि दुःख दिदीलाई नै बढी थियो। 

मैले सुरुमा काम गरेको अफिसमा लैंगिकसम्बन्धी दुई दिनको तालिम लिने अवसर पाएकी थिएँ। यो समाजले निर्धारण गरिदिएको हामी महिला–पुरुषको भूमिका (सामाजिक लिंग)ले साँच्चै हामी कति पीडित रहेछौँ भन्ने कुराको महसुस गरेँ। तालिमबाट फर्किएपछि घरमा भाइलाई भान्छाको काममा सघाउनका लागि भनेँ।

भाइलाई भाँडा माझ्न आउँदैनथ्यो। म सिकाइदिन्छु भनेँ। उसले र मैले मिलेर भाँडा माझ्न थाल्यौँ। मेरो बुबालाई त्यो कुरा मनपरेको थिएन। उहाँ बारम्बार भन्नुहुन्थ्यो, ‘मलाई मेरा दिदीहरूले कहिले पनि भाँडा माझ्न लगाएनन् तर तैँले भाइलाई भाँडा मझाइस्।’ म व्यावहारिक रूपमा बुबालाई सम्झाउने कोसिस गर्थें र भन्थेँ, ‘हेर्नुस् बुबा, पहिले पहिले हजुर पढ्न जानुहुन्थ्यो, दिदी (फुपू)हरू घरमै बस्नुहुन्थ्यो, हजुरहरू कमाउनका लागि बाहिर जानुपर्थ्यो, कमाएर हजुरहरूले नै ल्याइदिनुपर्थ्यो, दिदीहरूलाई घरायसी काम मात्र लगाइन्थ्यो, कमाइ हुने काममा पठाइँदैनथ्यो तर अहिले समय फरक छ। म पनि पढ्न जान्छु, भाइ पनि पढ्न जान्छ।

अझ मैले त जागिर पनि खान थालेकी छु र पनि मैलेचाहिँ ममीलाई सघाउनुपर्ने, भाइले चाहिँ सघाउन नहुने?’ मैले यसो भनेपछि बुबाले मलाई त्यसपछि केही भन्नुभएन र उल्टो म कहिलेकाहीँ दिनभर काम गरेर घर पुग्दा घरको काम धन्दा नसघाएको दिन कचकच गर्दा बुबाले ‘छोरी दिनभर काम गरेर थाकेर आएकी छे, तँ दिनभर घरमै बसेर पनि घरको काम छोरीलाई लगाउँछेस्’ भनेर ममीलाई भन्दै मलाई सहयोग गर्न थाल्नुभयो।

मेरो विवाह भयो। मैले जागिर खान छोडेकी थिइनँ। मेरो श्रीमान् पनि जागिर खानुहुन्थ्यो। मैले विवाह गर्दा म स्नातकोत्तर पढ्दै थिएँ, त्रिचन्द्र क्याम्पसमा। म बिहानै पढ्न जान्थेँ र क्याम्पसबाटै अफिस जान्थेँ। अफिस जाने बेलामा मेरो श्रीमानले मलाई क्याम्पसको गेटमा खाना लगिदिनुहुन्थ्यो। उहाँको अफिस कोठाबाट नजिकै थियो तर मेरो निकै टाढा। म साँझ घरमा फर्कंदा झमक्क हुन्थ्यो। बेलुकीको खाना म बनाउँथे तर तरकारी ल्याइदिने, केलाएर ठिक्क पार्ने काम श्रीमानले गर्नुहुन्थ्यो। खाना खाएपछि आआफूले खाएको थाल र पकाएको भाँडा बाँडेर माझ्ने गथ्र्यौं। यसो गर्दा मलाई पनि लोड हुन्नथ्यो। 

विवाह गरेको भोलिपल्टैदेखि कुनै अघोषित र कुनै घोषित रूपमा हाम्रो घरभित्रको काम बाँडफाँट भएको थियो। यो कुरा मैले माइतीमा सुनाउँदा मेरी ममीले ज्वाइँलाई भाँडा मझाउन लगाई भनेर गाली पनि गर्नुभयो। मेरो श्रीमान पनि मानवअधिकारकर्मी भएको र सँगै जेन्डरको तालिम पनि लिएकाले होला मलाई माइतीमा भन्दा घरमा बसेर जागिर खान निकै सहज भयो। तर कामको सिलसिलामा मैले झापामा गई जागिर खान थालेँ। मेरो घरपायक जागिर भएको र घरमा पनि अलिअलि व्यावहारिक समस्या भएकाले मेरो श्रीमानले जागिर छाडेर झापा नै गएर बस्न थाल्नुभयो।

घरमा सासू, ससुरा, श्रीमान र म गरी चार जना हुन्थ्यौँ। म घरको काम गरेर अफिस जान्थेँ र आएर आफूले सक्ने र भ्याउने काम गर्थें। घर गएपछि मलाई भान्छाको काममा मेरो श्रीमानले सघाउन छाड्नुभयो। त्यसको साटो आमाले सघाउनुहुन्थ्यो। आमाले ‘म छउन्जेल र सकुन्जेल म मेरो छोरालाई भाँडा माझ्न लगाउँदिनँ’ भन्नुभयो। अन्य काम र धेरै नै भाँडा भएको बेलामा त सघाउनुहुन्छ तर नियमित रूपमा सघाउन भने छाड्नुभयो। म आफूले सक्ने र नगरी नहुने काम नियमित नै गर्छु र काममा जान्छु तर उमेरको छोराले सघाउन खोज्दाखोज्दै पनि सघाउन नदिएर आराम गर्नुपर्ने आमाले दुःख गरेको देख्दाचाहिँ दुःख लागेर आउँछ।

म अझै पनि कहिलेकाहीँ जेन्डरको तालिम दिन जान्छु, उदाहरण आफ्नै दिन्छु। वर्षौंदेखि पितृसत्तात्मक सोच हावी भएको हाम्रो देशमा परिवर्तन त हुँदै छ तर परिवर्तनमा महिला नै पीडित छन्। महिलाहरू सामाजिक, राजनीतिक, आर्थिक कामका लागि घरबाट त निस्कन थालेका छन् तर घरधन्दा सबै भ्याएर परिवारलाई व्यवस्थित बनाएर।

मेरी एउटी साथी र उसको श्रीमान एउटै अफिसमा काम गर्छन्। पद समान छ, तलब समान छ। सँगै अफिस आउँछन्, जान्छन् तर घर पुगेपछि दुवैलाई चिया खान मन लाग्छ। साथीले नै चिया बनाएर लगिदिन्छे र आफू पनि खान्छे। ऊ भन्छे ‘मेरो श्रीमानलाई भान्छाको काम गर्न नै अल्छी लाग्दोरहेछ। मलाई काममा लगाउन चुरा बजेको हातको खाना नै अर्को भन्छन् के भन्नु र?’ 

कतिपयलाई जेन्डरको सवाल नै थाहा छैन। हाम्रो मिश्रित खालको समुदायमा कति परिवारमा पुरुष पीडित छन् त कतिपयमा महिला। तर पनि अधिकांश परिवारमा महिलाले नै घर व्यवहार बाहिर सबैतिर धान्नुपरेको छ भने कतिपय परिवारमा पुरुषको योगदान अतुलनीय छ। 

सबै जिल्लाका महिला तथा बालबालिका कार्यालयले समविकास तालिम भनेर श्रीमान–श्रीमती दुवैलाई राखेर जेन्डरको तालिम गाउँगाउँमा दिइरहिएको छ। मलाई साह्रै राम्रो लागेको कार्यक्रम हो यो। यो कार्यक्रम प्रत्येक घरघरमा पुग्ने हो भने पक्कै पनि उल्लेखनीय सुधार आउँछ जस्तो लाग्छ। हामीले चाहेको मातृसत्तात्मक समाज होइन, समतामा आधारित समाज  नै हो। महिलालाई मात्र अवसर दिनुपर्छ, पुरुषलाई पछाडि पार्नुपर्छ भनिएको होइन, दुवै बराबर हुनुपर्छ भनिएको हो। 

जबसम्म हाम्रो समाजका महिला र पुरुषमा यी कुराहरूको ज्ञान हुँदैन वा यी कुरामा सचेत हुँदैनन्, तबसम्म हामीले कल्पना गरेको समतामूलक, लैंगिक हिंसामुक्त र सौहार्द समाज निर्माण हुन सक्दैन। यो कुरा राज्यको नीति निर्माणको तहमा रहेकाहरूले पनि बुझ्न जरुरी छ। अहिले ३३ प्रतिशत महिला प्रतिनिधित्व भनेको अंकगणित मात्र हो, संख्याले केही हुँदैन, मूल कुरा व्यवहार हो, कानुन र नीति नियमको उपयुक्त पालना र कार्यान्वयन हो। यसर्थ नीति निर्माताको तहदेखि सामान्य घरपरिवारका सदस्यसम्मले यसबारेमा गम्भीर र जिम्मेवार भएर ध्यान दिनु आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.