प्रचण्डको धपेडी

|

काठमाडौं : किरात राई यायोक्खाले प्रदेश १ को नामकरण गर्दा पहिचानको आधारमा किरात प्रदेश राखिनुपर्ने माग गरेको छ। किरातीको भाषा, संस्कार, सँस्कृतिलगायत अधिकारको संरक्षण गर्दै प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने माग गरकेको हो। यायोक्खाले प्रदेश १ को राजधानी किरात प्रदेश राख्न माग गर्दै पहल सुरु गरेको छ। 

यायोक्खाले सबै दलका प्रमुख तथा प्रदेश १ का सांसदहरूलाई ज्ञापनपत्र बुझाएर प्रदेशको नाम किरात प्रदेश राख्न माग गरेको हो। सोहीअनुसार बुधबार यायोक्खाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेशको नाम किरात प्रदेश राख्न पहल गर्न आग्रह गरेको हो। प्रचण्डलाई ज्ञापनपत्र बुझाउन यायोक्खाका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यसहित किरात समुदायका अगुवाहरू पेरिसडाँडा पुगेका थिए। 

माओवादीले लामो पहिचानको मुद्दालाई आफ्नो प्रमुख मुद्दा बनाएको भन्दै आफूहरूले माओवादीबाटै ज्ञापनपत्र बुझाउन सुरु गरेको यायोक्खाका कार्यवाहक अध्यक्ष दिवश राईले बताए। उनले भने, ‘माओवादीले पहिचानका मुद्दालाई सशक्त ढंगबाट उठाएको छ। यसकारण हामीले तपाईंहरूबाट सुरु गरेका छौँ। यसमा तपाईं (प्रचण्ड) ले पहल गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौँ।’

किरात शब्द आफैँमा बहुपहिचानसहितको भएकाले किरात नामांकन गर्नुको विकल्प नरहेको महासचिव जीवन हताचो राईले बताए। उनले भने, ‘किरात शब्द आफैँमा बहुपहिचानसहितको सर्वस्वीकार्य नाम हो। यसले कुनै एक जातिलाई मात्र प्रतिनिधित्व गर्दैन। यसले हिमाल, पहाड र तराईका १६ किरातीलगायत प्राय: सबै जनजाति र त्यस भेगमा रहेका सबै जातजातिलाई समेट्छ।’ उनले पूर्वी क्षेत्रमा किरातीको आफ्नै इतिहास भएकाले त्यसलाई बुझ्नुपर्ने बताए। उनले आफूहरूको इतिहास नामेट गर्न नमिल्ने धारणा राखे। 

किन प्रदेशको नाम किरात? 

आफूहरूले किरात प्रदेश ऐतिहासिक घटनाका आधारमा माग गरेको कार्यवाहक अध्यक्ष दिवश राईले बताए। उनले प्रथम किराती राजा यलम्बर नेपालको व्यवस्थित राज्य संचालनको अभ्यास गर्ने पहिलो राजा भएको दाबी गरे।

उनले नेपालमा यलम्बरलगायत ३२ किराती राजाले एक हजार ६६३ वर्ष आठ महिना शासन गरेको इतिहास रहेको बताए। ‘पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेसँगै भावनात्मक विखण्डन सुरु भयो। सामाजिक साँस्कृतिक, भाषिक विभेद र समुदायको मनोविज्ञानम नकारात्मक असर पर्‍यो’, उनले भने, ‘राजाको एकात्मक केन्द्रिकृत राज्य व्यवस्थामा वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक समस्या आयो। यही कारण हाम्रो पहिचान खोसियो।’
राजनीतिक परिवर्तनमा किरात समुदायले पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए। 

यसरी खोसिएको आफूहरूको पहिचान संघीयता स्थापनासँगै पुनःस्थापना हुनेमा आफूहरू आशावादी भएको उनको भनाइ थियो। उनले भने, ‘किरात राज्य स्थापना गर्ने नाममा धेरैले ज्यान गुमाए। युद्धकालमा माओवादीले गोपाल किरातीको नेतृत्वमा किरात जनसरकार नै गठन गर्‍यो। हाम्रो इतिहासका आधारमा पनि प्रदेशको नाम किरात नै हुनुपर्छ।’

सगरमाथा र कोसी साझा होइन : यायोक्खा

प्रदेश १ को नाम सगरमाथा वा कोसी राख्ने गरी बहस नै सुरु गरेको छ तर किरात राई यायोक्खाले भने यो नाम साझा नभएको बताएको छ। यायोक्खाका महासचिव जीवन हताचो राईले यी नामभन्दा किरात प्रदेश नै ठीक रहेको बताए।

‘स्थानीय थुलुङ भाषाको चोमोलुङमालाई ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेष्टको नाममा सन् १८६५ मा माउन्ट एभरेष्ट राखियो। त्यस पहिला यसको नाम चोमोलोङ्मा थियो’, उनले भने, ‘वि.सं. २०१२ मा बाबुराम आचार्यले सगरमाथा नाम राखिदिए। कोसी पनि कसै न कसैको भाषामा मिल्न जान्छ।’ त्यसकारण सबैभन्दा लामो इतिहास बोकेको किरात नाम राख्दा उचित हुने उनले बताए।

अरूलाई मिलाउनुस्, म तयार छु : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू किराती समुदायसँग परिचित रहेकाले किरात प्रदेश नामंकन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भने, ‘किरात प्रदेश नाम राख्न हाम्रो पार्टीलाई, मलाई धेरै भन्नै पर्दैन।’ आफूले किरात राष्ट्रिय मुक्ति मोर्चा बनाउने क्रममा नै किरात प्रदेश बनाउनुपर्छ भनेर बोलिसकेको उनले बताए। उनले भने, ‘मैले पहिला नै किरात प्रदेश बनाउनुपर्छ भनेको छु। लिम्बूवान, खम्बूवान राख्नुभन्दा किरात प्रदेश नै ठीक हुन्छ भन्ने धारणा राख्ने मान्छे हुँ म आफैँ।’

उनले माओवादीलाई मनाउनुभन्दा अरू दललाई मनाउन आग्रह गरे। उनले भने, ‘अब तपाईंहरू यहाँ एमाले, कांग्रेस र स्वतन्त्र पनि हुनुहुन्छ होला। तपाईंहरू अरूलाई मनाउन पहल गर्नुहोस्, त्यसपछि त स्वतः भइहाल्छ।’

प्रचण्डको धपेडी

कार्यकर्ता तथा पार्टीको औपचारिक भेटघाटका कार्यक्रमहरू पार्टी कार्यालयमा नै गर्ने प्रचण्डले यसअघि नै घोषणा गरेका थिए। त्यहीअनुसार बुधबार पनि प्रचण्ड भेटघाटका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगे। उनी दिउँसो २ बजे पार्टी कार्यालय पुग्दा त्यहाँ नेता, कार्यकर्ताको भीड थियो। 

माओवादीले सरकारमा जानका लागि पाँच मन्त्रीको नाम पनि छनोट गरेको छैन। सभामुख तथा उपराष्ट्रपति पनि छनोट गरिसकेको छैन। त्यसकारण पनि पार्टी कार्यालयमा नेताको पनि बाक्लै उपस्थिति थियो।

अरू बेला प्राय: सुनसान रहने कार्यालयमा प्रचण्ड आएपछि बुधबार नेताको पनि बाक्लो उपस्थिति थियो। कार्यालयमा नेताहरू देव गरुङ, देवेन्द्र पौडेल, मणि थापा, तिलक परियारलगायत नेताको उपस्थिति थियो। प्रचण्डलाई भेट्न अन्य कार्यकर्ताको पनि बाक्लै भीड थियो। कार्यालयमा ४:३० बजेसम्म बसेका प्रचण्डले भेट्न आएका सबैलाई भेट दिन सकेनन्। 

उनले बुधबार भेट गर्न नसकेका कार्यकर्तालाई बिहीबार भेट गर्न आउने व्यवस्था मिलाउन पार्टीका कार्यालय सदस्य श्रीराम ढकाल (प्रशान्त)लाई निर्देशन दिँदै थिए। उनले भने, ‘प्रशान्तजी, आज धेरै व्यस्तता छ। भोलि १ बजे पार्टीको कामले यहाँ आउँदै छु। २ बजेदेखि भेटघाटको कार्यक्रम मिलाउनुहोला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.