|

गोरखा : भिमसेन गाउँपालिकास्थित बगुवामा नमुना एकीकृत मिलनवस्ती धमाधम निर्माण भइरहेको छ। भूकम्पले ध्वस्त बगुवागाउँमा एकीकृत वस्ती निर्माण भइरहेको हो।

नमुना वस्तीमा १३८ घर निर्माण गरिने भएपनि अहिले ३० वटा घरको मात्रै डीपीसीको काम सकिएको छ। उक्त घर अक्सफामसँगको साझेदारीमा तुलसी मेहेर युनेस्को क्लब गोरखाको सहयोगमा निर्माण हुन लागेको एकीकृत वस्ती निर्माणका अभियन्ता रामहरि श्रेष्ठले जानकारी दिए।

वस्ती निर्माणका लागि सोमप्रसाद पाण्डेको अध्यक्षतामा एकीकृत मिलन वस्ती पुनर्निर्माण समिति नै निर्माण गरिएको छ।  वस्ती निर्माण अभियन्ता श्रेष्ठ भूकम्पपछि बनेका पक्की घरले गाउँको स्वरुप नै बिगारेको दावी गर्छन्। त्यसैले एकीकृत वस्तीका घर नेपाली मौलिक परम्परा झल्कने खालका निर्माण गरिने उनले बताए। उनले भने, ‘गाउँको पहिचान जोगाउन बार्दली, अटेली भएको घर बनाउन लागेका छौं।’ 

एकीकृत वस्ती २०० रोपनी क्षेत्रफलमा बन्नेछ। १०५ रोपनी क्षेत्रफलमा घर निर्माण गरिनेछ भने बाँकी ९५ रोपनी क्षेत्रफलमा सामुदायिक भवन, विद्यालय लगायतका संरचना निर्माण हुने जनाइएको छ। एकीकृत वस्ती नेपाल पुननिर्माण प्राधिकरणसँगको समन्वयमा सुरु गरिएको हो। वस्तीका ३० घरबाहेकका अन्य भने स्थानीय आफ्नै खर्चमा बनाउने छन्।

लालपुर्जा वितरण तयारी

मिलन वस्तीभित्र निर्माण हुने घरको घरमुलीलाई लालपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको मालपोत कार्यालय गोरखाका प्रमुख देवेन्द्रबहादुर थापाले बताए।

‘मिलन वस्तीभित्र घर बनाउनेहरूको लालपुर्जा लगभग तयार भइसकेको छ,’ थापाले भने ‘केही दिनमा वितरण हुनेछ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.