|

इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकाललाई प्रदेश १ स्तरीय मानवअधिकार पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार सदरमुकाममा आयोजित समारोहमा ढकाललाई पुरस्कृत गरिएको हो।  

प्रदेशसभा सदस्य रामबहादुर रानामगरले पत्रकार ढकाललाई नगद १० हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरे। मानवअधिकार मञ्च नेपालले मानवअधिकार संरक्षणका लागि पत्रकारिताको माध्यमबाट विशिष्ट योगदान पु¥याउने प्रदेश १ का एक पत्रकारलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। 

डेढ दशकयता पत्रकारितामा क्रियाशील ढकालले महिला, बालबालिका र विभेदमा परेका सर्वसाधारणको न्यायका लागि पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान गरेकाले सम्मान गरिएको मञ्चले जनाएको छ। पत्रकार ढकाल राजधानी दैनिक, स्थानीय इलाम पोस्ट दैनिक, कञ्चनजंघा एफएम र इलाम आवाज साप्ताहिकलगायतका मिडियामा आबद्ध छिन्।
उक्त पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य सटेन्द्र जबेगु, विराटनगरका अग्रज पत्रकार यज्ञ शर्मा, झापाका अग्रज पत्रकार चन्द्र भण्डारी पनि सम्मानित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.