|

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा अफगानिस्तानको अप्रत्यासित हारको यात्रा जारी छ। प्रतियोगिताको तेस्रो खेलमा अफगानिस्तान हङकङसँग वर्षाले प्रभावित खेलमा डर्कवर्थ लेविस नियम अनुसार ३० रनले पराजित भयो।

हङकङसँग बुलावायोमा सम्पन्न खेलमा पराजित भएसँगै डार्क हर्सका रुपाम विश्व क्रिकेटमा उदाएको अफगानिस्तानको विश्वकप यात्रा अब गणितीय बनेको छ। पहिलो खेलमा स्कटल्याण्डसँग तथा दोश्रो खेलमा जिम्बावेसँग पराजित भएको अफगानिस्तानले अब अन्तिम खेलमा शनिबार (मार्च १०) नेपालको सामना गर्नेछ। नेपालसँग पराजित भए अफगानिस्तान पहिलो चरणबाटै बाहिरिने छ।

जीतपछि हङकङले भने सुपर सिक्सको सम्भावना बलियो बनाएको छ। नेपाललाई पराजित गरेको खण्डमा हङकङ सुपर सिक्समा पुग्ने छ। त्यस्तै प्रतियोगितामा बाँकी दुई खेल जितेमा नेपालले पनि सुपर सिक्समा स्थान बनाउने अवसर बाँकी छ। हङकङले कुनै पनि टेस्ट राष्ट्र विरुद्ध एकदिवसीय खेलमा जीत निकालेको यो पहिलो पटक हो। सन् २०१४ को टि–२० विश्वकपमा हङकङले बंगलादेशलाई पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिंङ गरेको हङकङले पुरै ५० ओभर ब्याटिङ गर्दै २ सय ४१ रन बनाएको थियो। अंशुमन रथले सर्वाधिक ६५ रन बनाए भने बाबर हयातले ३१, निजाकत खानले २८ रनको योगदान दिए। अफगानिस्तानका बलर मुजिब उर रहमान र मोहम्मद नाबीले ३-३ विकेट लिएका थिए।

२ सय ४२ रन लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान फेरि एकपटक खराब ब्याटिङको शिकार भयो। उसका लागि दौलत जद्रानले अविजित ४० रन, मोहम्मद नाबीले ३८ रन योगदान दिए पनि जितको लागि पर्याप्त भएन। अफगानिस्तान इनिङमा ४३ ओभर सकिंदा १ सय ६७ रन थियो भने उसले ७ विकेट गुमाउँदा वर्षा  सुरु भयो। वर्षाले खेल रोकिएपछि अफगानिस्तानले ४६ ओभरमा २ सय २६ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १ सय ९५ रन मात्र जोड्न सक्यो।

यसअघि अफगानिस्तान स्कटल्याण्डसँग ४ विकेटको पराजित भएको थियो भने १० मार्चमा जिम्बावेसँग २ रनले हारेको थियो। अफगानिस्तानले अन्तिम खेलमा नेपालको सामना गर्ने छ।

यस्तो छ अफगानिस्तान शीर्ष ६ मा पुग्ने सम्भावना

शीर्ष ६ मा पुग्ने सम्भावना गणीतिय बनेको अफगानिस्तानले अन्तिम खेलमा नेपाललाई फराकिलो अन्तरले पराजित गर्नु पर्ने छ। हङकङले बाँकी दुई खेल हार्नु पर्ने छ। नेपाल विरुद्धको खेलमा हङकङलाई नेपालले झिनो अन्तरले हराउनु पर्ने छ। त्यस्तै हङकङ जिम्बावेसँग फराकिलो अन्तरले पराजित हुनु पर्ने छ। यसो भए स्कटल्यान्ड र जिम्बावे बाहेक तीन टिमको समान दुई अंक हुने छ र रनरेट उच्च हुने टिम शीर्ष तीनमा पर्नेछ। यसका लागि अफगानिस्तानले नेपाललाई त हराउनु पर्छनै साथमा नेपालले पनि हङकङलाई हराइदिनु पर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.