|

काठमाडौं : एक महिनाअघि २५ माघमा मानव तस्करीको अभियोगमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परे। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ठमेलबाट पक्राउ गरेको थियो।

मानव तस्करको अभियोगमा मुद्दा चलाइएका उनी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार हाल पुर्पक्षका लागि जेलचलान भएका छन्। सिआइबीकाअनुसार सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित १३ जनाको टोली दक्षिण कोरिया गएको थियो।

तर, नेपाल फर्किने क्रममा खड्गी र अर्का एकजना मात्र नेपाल फर्किएको र बाँकी ११ जनाबाट पैसा लिएर खड्गीले उनीहरूलाई कोरियामै छाडेको अभियोग छ।

त्यसको ठीक एक महिनापछि २४ फागुनमा एक खुट्टाले कुशल नृत्य देखाएर चर्चामा आएकी रोमा न्यौपानेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी अभियोगमा पक्राउ गरेको छ। उनीविरुद्ध ३६ लाख रूपैयाँ ठगी गरेको अभियोग परिसरमा दर्ता भएको प्रहरी प्रवक्ता मोहनबहादुर थापाले जानकारी दिए।  

न्यौपानेविरुद्ध ०७२ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले ३६ लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेका थिए।

ठमेलमा भिएडी अर्थात् ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमाले ठगी गरेको पीडितहरुको भनाइ छ। ७२ सालमै दर्ता भएको उक्त अभियोगमा फरार रहेका रोमालाई प्रहरीले बिहीबार पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर थापाले बताए।

कलाकारिता क्षेत्रमार्फत आममानिससँग परिचित कलाकारबाट अपराध मनोवृत हुनु दुखद रहेको उनको भनाइ छ। रोमाले बस दुर्घटनामा बायाँ खुट्टा गुमाएकी थिइन्।

भुवन केसीमाथि पनि गीत चोरीको अभियोग

माघ २६ गते रिलिज भएको भुवन केसी निर्माता रहेको कृ फिल्ममा आफ्नो गीत चोरी गरेको भन्दै शम्‍भु प्रधानले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन्। '२०४३ सालमा प्रधानले निर्देशन गरेको सम्झना चलचित्रबाट 'उकालीमा अघिअघि ओरालीमा पछिपछि' गीत चोरी गरेर कृ फिल्ममा राखेको भन्ने उजुरी आएको छ, हामी अनुसन्धान गर्दै छौँ,' थापाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.