|

काठमाडौं : नुवाकोटका ३२ वर्षका श्याम पौडेल (नाम परिवर्तन)लाई राती सुत्दा अप्ठ्यारो हुनुका साथै हल्का छाती दुख्यो र गंगालाल अस्पताल जचाउन पुगे। चिकित्सकले हृदयाघातको लक्षण भएको हुँदा सिधै 'इमर्जेन्सी'मा राखेर उपचार गरे। समयमै आएको कारण सम्भावित हृदयाघातको जोखिमबाट जोगिएको चिकित्सकले उनलाई बताए।

गंगालाल अस्पतालकै परिसरमा भेटिएका काभ्रेकी ४२ वर्षकी सीता पौडेल (नाम परिवर्तन)लाई बाटोमा  हिँडिरहेका बेला एक्कासि छाती दुख्ने र भारी हुने भएपछि गाउँकै अस्पतालमा गइन्। चिकित्सकले जाँच गरेपछि हृदयघातको लक्षण भन्दै तुरुन्तै गंगालाल अस्पताल 'रिफर' गरे उनलाई। अस्पताल आएर उपचार गर्दा उनलाई हृदयाघात भइसकेको रहेछ। चिकित्सकले तुरुन्तै 'एन्जिओप्लास्टी' गरेर उनको बन्द भएको नसा खुलाएर हृदयाघातबाट बचाए। उपचार गरेर गएको एक महिनापछि 'फलोअप'मा आउँदा अस्पताल परिसरमा भेटिएकी सीताले आफ्नाबारे बताइन्।

'सामान्य छाती दुखेर घर नजिकैको अस्पताल गएँ', उनले भनिन्, 'चिकित्सकले हृदयाघातको लक्षण भन्दै तुरुन्तै यहाँ जान भने। जाँच गर्दा हृदयाघात भइसकेको रहेछ, त्यसपछि तुरुन्तै 'एन्जिओप्लास्टी' गरेर  बन्द भएको नसा खोलिदिए।'

यस्तै, केही समयअघि माअोवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको पनि अकस्मात मृत्यु भयो। चिकित्सकहरूले उनको मृत्यु पनि मुटुरोग अर्थात् 'सडेन कार्डियाक अरेस्ट'ले भएको पुष्टि गरेका थिए।

यी त प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय मुटुसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या पनि बढ्दै गएको देखिन्छ। मुटु रोगको उपचार हुने नेपालको एक मात्र शहीद गंगालाल हृदय रोग उपचार केन्द्रमा उपचार गर्न आउने बिरामीको संख्या हेर्ने हो भने पनि पछिल्लो समय मुटु रोगका बिरामी बढ्दै गएका देखिन्छ।

दैनिक तीनदेखि आठ सयसम्म बिरामीको उपचार गर्दै आइरहेको गंगालाल अस्पतालमा विगत तीन वर्षयता मुटु रोगको उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ।

अस्पतालले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा ९० हजार २३१ जनाले सेवा लिएका थिए। यस्तै, आव २०७२/०७३ मा एक लाख आठ हजार २७३ जना मुटु रोगीहरूले परीक्षण गराएका थिए भने आव २०७३/०७४ मा एक लाख २५ हजार ७५४ जनाले मुटु रोगसम्बन्धी उपचार गरेका थिए।

मुटुको 'एन्जिओप्लास्टी' र 'एन्जियोग्राफी' गर्ने बिरामी पनि बढ्दै

विगत तीन वर्षयता मुटुको रोगको लक्षण देखिएर उपचार गर्न आउने बिरामी बढ्दै छन्। मुटुको एन्जिओप्लास्टी र एन्जियोग्राफी गर्ने बिरामी पनि बढ्दै गएका छन्। आव २०७१/०७२ मा पाँच हजार २८२ जना बिरामीहरूको क्याथल्याबमार्फत विभिन्न उपचार गरिएकोमा  उपचार गराएकामध्ये तीन हजार २८ जनाको मुटुको एन्जियोग्राफी र एक हजार १६१ जनाको मुटुको एन्जियोप्लास्टीमार्फत मुटुको उपचार गरिएको थियो। एक हजार २०० जनाको मुटुको शल्यक्रिया गर्ने लक्ष्य भए पनि एक हजार ४३० जनाको शल्यक्रिया गरिएको थियो ।

आव २०७२/०७३ मा एक हजार ४५५ जनाको मुटुको शल्यक्रिया गरिएको थियो । सरकारको लक्ष्य भने एक हजार २ सय जनालाई शल्यक्रिया सेवा दिने रहेको रहे पनि। जसमध्ये पनि एक हजार २ सय ओपनहार्ट सर्जरी, ९२ वटा क्लोज हार्ट सर्जरी र १ सय ४३ वटा अन्य सर्जरी गरेका थिए।  यसरी अघिल्लो आर्थिक वर्षमा आइपुग्दा उपचारका लागि आउनेको संख्यामा वृद्धि भएको छ। ७ हजार ७१५ बिरामीले क्याथल्याब मार्फत एन्जिओप्लास्टी, एन्जियोग्राफी, पेसमेकर लगायतका सेवा लिएका थिए।

युवामा मुटु रोग बढी

जसरी पछिल्लो समय मुटु रोग बढ्दै गएको छ, त्यसरी नै युवा उमेरमा नै मुटु रोगको सिकार बन्नेहरूको संख्या पनि बढ्दै गएको छ। गंगालाल अस्पतालमा २० देखि ५० वर्षबीचका उपचार गर्न आउने संख्या पनि बढ्दै गएको गंगालाल अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले बताए। उनले भने, ' केही वर्षयता अस्पतालमा जसरी मुटु रोगका बिरामी बढ्दै गएका छन्, त्यसमध्ये आधाभन्दा बढी युवा उमेरका बिरामी रहेका छन्।' अस्पतालको तथ्यांक हेर्ने हो भने पनि युवामा मुटु रोग बढ्दै गएको देखिन्छ। 

आ.व. २०७१/०७२ मा २० देखि ५० वर्षमुनिका ७६ हजार ९२१ ले मुटु रोगसम्बन्धी उपचार गराएका थिए। २०७२/०७३ मा ९१ हजार २११ जनाले उपचार गराएकोमा अघिल्लो आ.व.मा एक लाख ६१ हजार ४१ जना २० देखि ५० वर्ष उमेर समूहका मानिसले मुटु रोगको उपचार गराएका थिए।

सबैभन्दा धेरै मुटु रोगको शिकार पुरुषहरू भएको तथ्यांकमा देखिन्छ। महिलामा महिनावारी गराउने एस्ट्रोजिन प्रोष्टोजन हर्मोनले मुटु रोगबाट बचाउने हुँदा महिलाहरूको तुलनामा पुरुषमा बढी मुटु रोग देखिने गरेको मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

'बढ्दो मुटु रोगले महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन्। महिनावारी गराउने एस्ट्रोजन प्रोष्टोज हर्मोनले महिलामा सुगर, प्रेसर र कोलेस्ट्रोरोललाई कन्ट्रोल गर्ने हुँदा महिलालाई मुटु रोग लाग्ने जोखिम पुरुषको तुलनामा कम हुन्छ।'

किन बढ्दै छ मुटु रोग?

बदलिँदो जीवनशैली र खानपान पछिल्लो समय मुटु रोग बढ्दै जानुको मुख्य कारण हो। धुम्रपान, मद्यपान, कोलेस्ट्रोल, ब्लड प्रेसर बढ्नुलगायत पनि यसका कारक हुन्। थाइराइड, सुगर,  बढ्दो मोटोपन पनि मुटु रोग बढ्दै जानुका कारण रहेको डा. ओममूर्ति अनिल बताउँछन्।

उनले भने, 'पछिल्लो समय जसरी मानिसको जीवनशैली र खानपान बढेको छ, यसले मानिसलाई मोटोपनादेखि उच्चरक्तचाप बढाइरहेको छ। यो नै मुटुरोग बढ्नुको मुख्य कारण हो।'

यस्तै, पहिलेको तुलनामा मानिसहरूमा मुटु रोग बढ्ने कारण स्वास्थ्य सचेतना पनि रहेको अर्का मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्। उनले भने, 'पहिलेको तुलनमा मानिसहरू अस्पतालमा गएर 'चेकअप' गर्ने चलन बढेको छ। यसले गर्दा मुटु रोग लाग्ने मानिसको संख्या बढ्दै गएको देखिएको छ।'

सरकारसँग छैनन् आवश्यक विशेषज्ञ चिकित्सक

जसरी मुटुको रोग बढ्दै गएको छ, त्यसअनुसार उपचार गर्ने विशेषज्ञ चिकित्सहरूको भने कमी देखिन्छ। नेपाल मेडिकल काउन्सिलका अनुसार हालसम्म नेपालमा जम्मा ११४ जना मुटु रोग विशेषज्ञ रहेका छन्। ११४ जनामा कार्डियाक सर्जन र कार्डियोलोजिस्ट दुवै पर्ने काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्मा बताउँछन्।

उनले भने, 'हालसम्म हाम्रोमा दर्ता भएका मुटु रोग विशेषज्ञहरू जम्मा ११४ जना छन्। त्यसमा कति विदेशिएका छन् भने केही त काउन्सिलमा दर्ता नभईकनै काम गर्नेहरू पनि छन्।'

नेपालमा जनसंख्याको आधारमा हेर्ने हो भने एक जना मुटु रोग विशेषज्ञको भागमा दुई लाख ७२ हजार मानिस पर्न आउने भए पनि अहिले त्यस्तो नरहेको रजिष्ट्रार शर्माले बताए। काउन्सिलका अनुसार नेपालमा हरेक वर्ष १० जना बढी मुटु रोग विशेषज्ञ दर्ता भइरहेका छन्।

यस्तै, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार हाल नेपालमा मुटु रोगबाट पीडित मानिस कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा रहेको अनुमान छ। यस हिसाबले ११० जना डाक्टरले ४५ लाख बिरामी हेर्नुपर्ने अवस्था रहेको छ। यसका साथै मुटुको मात्र उपचार गर्ने छुट्टै अस्पतालहरूको समेत कमी भएको डा. रेग्मीले बताए।

मुटु उपचार गर्ने तरिका

कुनै पनि मानिस आफूलाई मुटु रोगको शंका लागेर अस्पताल पुग्ना साथ चिकित्सकले उनलाई सबैभन्दा पहिले इलेक्ट्रो काइकार्डियोग्राम (ईसीजी) गरिन्छ। यो मुटुको अवस्था थाहा पाउन गरिने पहिलो उपचार विधि हो। ईसीजीले मुटुको चाल र हृदयाघातको जोखिमबारे थाहा पाउन सजिलो हुन्छ। 

त्यसैले मुटुको चाल ज्यादै छिटो भएमा, छाती दुखेमा, सास फेर्न गाह्रो भएमा बिरामीले तुरन्त ईसीजी गराइहाल्नुपर्ने मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरका मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्। यसरी ईसीजीद्वारा मुटुको अवस्थाबारे राम्रोसँग थाहा नपाइएको अवस्थामा 'इको' वा इकोकार्डियोग्राफी गराइन्छ। मुटुसम्बन्धी परीक्षणमा इको अनिवार्य जस्तै मानिन्छ।

डा. भट्टराइले भने, 'ईसीजी गराउँदा मुटुको समस्या पत्ता लगाउन नसकिए इको गराउनुपर्छ। यसले मुटुका रोगबारे प्राय: सबै कुरा पत्ता लगाउन सक्छ। त्यसैले मुटुको परीक्षणका लागि इको अनिवार्य जस्तै मानिन्छ। 

मुटु परीक्षण गर्ने अर्को तरिका भनेको ट्रेडमिल परीक्षण हो। यो परीक्षण गर्न बिरामीलाई ईसीजीको निगरानीमा 'ट्रेडमिल'मा हिँड्न लगाइन्छ। यो परीक्षण गर्दा बिरामीलाई ट्रेडमिलमा मुटुको गति एउटा आवश्यक विन्दुसम्म नपुगुन्जेल हिँड्न लगाइन्छ र त्यसबेला ईसीजीमा कुनै परिवर्तन हुन्छ कि हुँदैन भनी हेरिन्छ। यो परीक्षण शत प्रतिशत पक्का भने हुँदैन। यो ८० प्रतिशत जति मात्र मिल्दोजुल्दो हुन्छ। त्यसैले ईसीजीमा कुनै परिवर्तन भएको पाइएमा कोरोनरी एन्जियोग्राफी परीक्षण गर्नुपर्ने हुन्छ।

 

कोरोनरी एन्जियोग्राफी भनेको मुटुको एक्सरे गर्ने विशेष प्रविधि हो। यस प्रविधिअन्तर्गत विशेष रंगीन तरल पदार्थ मुटुमा जाने धमनीमा पठाइन्छ। यो प्रक्रिया पूरा गर्न करिब १५–२० मिनेटको समय लाग्छ। त्यसपछि बन्द भएको नसा खोल्न एन्जियोप्लास्टी गर्नुपर्ने हुन्छ।

 मुटु रोगका प्रकारहरू

मुटु रोग पनि विभिन्न कारणले लाग्ने गर्छ। पछिल्लो समय देखिने धेरै मुटु रोग भने जीवनशैलीमा आधारित मुटु रोग रहेको चिकित्सकहरू बताउँछन्। यसले गर्दा पछिल्लो समय मानिसहरू युवा अवस्थामा नै मुटु रोगको शिकार बनेका छन्। यसका अलावा मानिसलाई जन्मजात मुटु रोग पनि हुन सक्छ। कुनै केटाकेटीलाई जन्मजात मुटु रोग लागेको हुन सक्छ। डा. भट्टराईका अनुसार गर्भाधारण गरेको तीन महिनाभित्र आमालाई रुबेला नामक दादुरा जस्तै प्रकृति भएको रोग लाग्यो भने मानिस मुटु रोग भएर जन्मिने गर्छ।

यस्तै, अर्को प्रकारको मुटु रोग भनेको बाथ मुटु रोग हो। यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका मानिसहरूलाई पछि गएर युवा अवस्थामा देखिने मुटु रोग हो। तीनदेखि १५ वर्षका बालबालिकामा लगातार घाँटी दुख्ने, लामो समयसम्म टन्सिल हुने, बच्चामा लगातार घाँटी दुखेर ज्वरो आउनुका साथै हातखुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने भएमा यो ज्वरोलाई बाथज्वरो भनिन्छ। यही ज्वरोका कारण पछि गएर मुटुको भल्भ खराब हुन्छ। यसलाई बाथ मुटुको रोग भनिन्छ।

अर्को प्रकारको मुटु रोग भनेको हृदयाघात हो, जुन मानिसको जीवनशैली र खानपानले हुने गर्छ। पछिल्लो समय मानिसको मुत्युको प्रमुख कारण मानिएको हृदयाघात हुँदा मुटु मांसपेसीको डल्लो हुन्छ। यसले गर्दा शरीरभर रक्त सञ्चालन हुन सक्दैन। रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल जमेर साँगुरो हुने गर्छ। यसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेसीहरूमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन।

विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ। रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुलाई सञ्चालन गर्ने आवश्यक तत्त्वहरू आउने बाटो ठप्प हुन्छ। यही अवस्थालाई हृदयाघात भनिन्छ।

              

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.