|

दमक (झापा) : हिमाली क्षेत्रमा चिसो बढेपछि जडिबुटीको व्यापार गरी घरायसी समानको जोहो गर्न तराई-मधेस झरेकाहरू फर्कने सुरसारमा लागेका छन्। 

मंसिरदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने भए पनि त्यहाँका वासिन्दालाई पनि गरी खान गाह्रो पर्छ। त्यसैले उनीहरू वर्सेनि तीनदेखि चार महिनाका लागि तराई झर्छन्। तर उद्देश्य हिउँद छल्नु मात्र हुँदैन, वर्ष दिनका लागि घरायसी समानको जोहो गर्नु पनि हुन्छ। त्यस्तैमध्येकी हुन्, संखुवासभाको उत्तरी क्षेत्र हटिया गोलाकी पेमा शेर्पा।

शेर्पा परिवारलाई वर्षभरि आफ्नै खेतीको चामल र च्याँख्लाले दुई छाक खान भने पुग्छ। पानीविना नै फल्ने ‘रातो चामल’ हुने धानको खेती हुन्छ। मकै, कोदो, आलु र साग अरू मुख्य बाली हुन् त्यहाँका। दुई दाजुभाइमध्ये एक भारतीय लाहुरे र अर्का मेलेसियामा कार्यरत छन्। त्यसैले खान लाउनकै दुःख भने उति साह्रो नहुने उनले बताइन्। तर नुन, तेल र मसलाको जोहो भने नगरी हुँदैन। त्यसैले हिउँदमा तराई-मधेस झर्ने गरेको उनको भनाइ छ। पढ्न भने उनले ७ कक्षादेखि नै छाडिन्। एक घण्टाको पैदल दूरीमा कक्षा ८ सम्मको स्कुल छ।  त्यसभन्दा माथिको कक्षा घरमा बसेर सम्भव भएन। पढ्न छाडेर घरखेत र कमाउन थालिसकेको उनले बताइन्।

फागुनको अन्तिम साता सुरु भएपछि झापामा पनि घाम चर्किन थालेको छ। ‘अब त फर्किने हौँ, घाम र गर्मीले यता अब बस्न सकिँदैन’, मध्याह्नमा चर्किएको घामतिर संकेत गर्दै उनले प्रश्न गरिन्, ‘तपाईंहरू चाहिँ कसरी बस्छ हौ यस्तो गर्मीमा?’ हटिया गोलाकै साङ्म शेर्पाका अनुसार उनीहरूको वस्तीबाट गाडी बिसौनी गोलासम्म आइपुग्न दुई दिन पैदल हिँड्नुपर्छ। तर त्यहाँदेखि नुनतेल किनमेलको बजार खाँदबारी आइपुग्न भने तीन दिनकै समय माया मार्नुपर्छ। गाडी भाडा पनि साह्रै महँगो छ। ‘दुई दिनको पैदलपछि पनि एकहोरो भाडा १५ सय लाग्छ’, उनले भनिन्, ‘जहिले तहिले बजार आउन पाइँदैन, आ'को बेला सप्पै लेर जान्छौँ।’  

गाउँ नै रित्तिन्छ

हटिया गोलामा पर्ने यी युवतीहरूको गाउँका २२ परिवारमा वर्सेनि हिउँदका बेला घर रुङ्ने मान्छे मात्र हुन्छन्। ‘अहिले त गाउँ खाली छ, केटाकेटी र बुढाबुढी मात्रै छ सप्पैकोमा’, पेमाले भनिन्, ‘सबैको बाट घर रुङ्ने एक/दुई जना छोडेर आएका छन्। अब घर पुगेर फेरि सबैले काम गर्नुपर्छ।’ उनले आफू सानो हुँदादेखि नै बाबुआमासँग पनि यता आउने गरेको बताइन्। साह्रै लजालु २२ वर्षकी पेमाले भनिन्, ‘११/१२ वर्ष भयो म हिउँदमा यता आउन थालेको।’

घाम चर्किंदै जाँदा जडिबुटीको भारी पनि अब त घट्दै गयो। जाने सुरसार पनि हुँदै छ। काँधको झोलाभरि २० प्रकारभन्दा बढीका जडिबुटीको भारी बोकेर उनीहरू दमकका गल्लीगल्ली र घरघर पुगेर भारी घटाइरहेका छन्। केही नमुनाचाहिँ नाङ्लामा बोकेर उनीहरू घरघर पुग्छन्। माझीफल, बिख्मा, हडचुड, यार्सागुम्बा, पाँचऔँले, शिलाजित, चिम्फिङ्, चिराइतो जस्ता जडिबुटी उनीहरूले खाने विधिसहित बिक्री गर्ने गरेका छन्। 

नेपालको भन्दा तिब्बतकै भर

हटियागोलाबाट नेपालको बजार आउन तीन दिन लाग्छ। जाँदा अरू तीन दिन। कम्तीमा सात दिन त माया मार्नै पर्छ। तर उत्तरतर्फ तिब्बतको बजार चाँगा तीन घण्टामा पुगिन्छ। त्यसैले दैनिक उपभोग्य वस्तुका लागि नेपालको भन्दा तिब्बतकै भर छ उनीहरूलाई। ‘खाँदबारी आउन तीन दिन लाग्छ, चाँगा बिहान गएर बेलुका आइहालिन्छ’, पेमाले बाध्यता सुनाइन्, ‘चाँगा त हामी गइरहन्छ, कहिले हप्तैपिच्छे, कहिले महिना दिनमा।’

हिउँदमा हटियागोलाबाट गोला, गोलाबाट खाँदबारी, खाँदबारीबाट धरान अनि धरानबाट दमकसम्म आउन पनि सजिलोचाहिँ छैन। भाडा मात्र करिव तीन हजार रुपैयाँ लाग्छ। यस्तै, विभिन्न ठाउँमा जडिबुटी निकासीको पूर्जी काट्नुपर्छ। पुर्जी काट्दा पनि ७०० रुपैयाँले पुग्दैन। हटियागोलादेखि गोलासम्म जडिबुटी बोकाएर ल्याउँदा पनि किलोको १०० रुपैयाँ लाग्छ। त्यसैले कमाउनेभन्दा पनि हिउँद छल्न र घुमघामका लागि मधेस झर्ने गरेको उनी जस्तै जडिबुटीको व्यापारका लागि आएकाहरूको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.