|

रुकुम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले नौवटा विद्यालय खारेज गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनको आधारमा नगर शिक्षा समितिले अनुगमनपश्चात नौवटा विद्यालय खारेज गर्ने निर्णय गरेको हो। 

नगरपालिकामा रहेका जम्मा ६१ सामुदायिक विद्यालयमध्ये नौवटा विद्यालय पूर्ण रूपमा खारेज गर्ने र केहीलाई तह घटाउने पनि निर्णय लिइएको छ। एक महिनाको समय लगाएर गरिएको विद्यालय अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा नौ विद्यालयलाई पूर्ण मर्ज र १६ विद्यालयको कक्षा घटाउने निर्णय भएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए। केसीका अनुसार पढाइको गुणस्तर सुधार्न विद्यालय खारेज तथा तह घटाउने निर्णय भएको हो।

‘न्यूनतम पूर्वाधार पूरा नभएका, विद्यार्थी संख्या न्यून रहेका, पैदल दूरी ३० मिनेट वा सोभन्दा कम भएका र शैक्षिक गुणस्तर न्यून भएका विद्यालय खारेजीमा परेका छन्’, केसीले भने, ‘यति गरेपछि पढाइको गुणस्तरमा सुधार हुने, भौतिक पूर्वाधार अभाव नहुने तरिकाले पठनपाठन सजिलो हुने विश्वास लिएका छौँ।’ 

अधिकांश आधारभूत तह पठनपाठन गरिरहेका विद्यालय खारेजीमा परेका छन्। नगरपालिकाको ४ नम्बर वडाको चित्रिपाटन आधारभूत विद्यालय, ५ नम्बर वडाका मस्ट कैलाश तथा जलदेवी आधारभूत विद्यालय, ९ नम्बर वडाका जोलीपिपल, जनचेतना र दीपज्योति आधारभूत विद्यालय खारेज भएका छन्। १० नम्बर वडाको साइराम आधारभूत विद्यालय, ११ नम्बर वडाको जनभावना आधारभूत विद्यालय र १२ नम्बर वडाको जनविकास आधारभूत विद्यालय पनि खारेजीमा परेका छन्।

नौवटै विद्यालयका शिक्षक तथा विद्यार्थी र अन्य भौतिक सम्पत्ति नजिकको विद्यालयमा मर्ज गरिएको हो। भौतिक पूर्वाधारको अभाव, कम विद्यार्थी संख्या भएका १६ विद्यालयको तह घटाउने निर्णय पनि शिक्षा समितिले गरेको छ। यसअघि माध्यामिक, निम्नमाध्यामिक तथा प्राथमिक विद्यालय चलाइरहेका विद्यालयहरू तह घटुवामा परेका छन्।

१२ कक्षासम्म अध्ययन गराइरहेका  कतिपय विद्यालयले अब ८ कक्षासम्म र ५ कक्षासम्म अध्यापन गराइरहेकाहरूले ३ कक्षासम्म मात्र अध्यापन गराउन पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.