|

बारा : जितपुरसिमरा उपमहानगरपालिकामा निर्माणाधीन नेपालको दोस्रो विशेष आर्थिक क्षेत्र (सेज) निर्माण कार्यले गति लिएको छ। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरलाई लक्षित गरी उपमहानगरपालिकाको ४, १४ र १५ नम्बर वडामा पर्ने सिमरा–डुमरवाना क्षेत्रमा सेज निर्माण कार्य अगाडि बढाइएको हो।

सरकारले निर्यातजन्य उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवा र बारामा सेज निर्माणको कार्य अघि बढाएको हो। भैरहवामा ०७१ मंसिर ३ मा नै सेज उद्घाटन भइसकेको छ।

कुल ८३३ बिघा जमिनलाई पाँच ब्लकमा विभाजन गरी काम भइरहेको छ। बारामा स्पेसल गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गर्ने नीतिअनुरूप हाल ब्लक ‘ए’ को ३४२ बिघा क्षेत्रफलमध्ये १६० बिघा जमिनमा काम भइरहेको बाराको सेज निर्माण विकास समितिका साइड इन्जिनियर दिनेश न्यौपानेले बताए। उक्त ब्लकमा ३९ फिटको मुख्य र २८/२९ फिटको शाखा बाटो निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ। उक्त सडकमा साइकल र फुटपाथको व्यवस्था गरिएको छ।

करिव दुई अर्ब रुपैयाँको लागतमा निर्माण हुने प्रशासनिक र सेवा भवनको निर्माण कार्य भइरहेको छ। बीमा, बैंक, भन्सारजस्ता सेवालाई एकीकृत गर्ने उद्देश्यले सेवा भवन निर्माण गर्न लागिएको हो।

आगामी दुई वर्षभित्र ब्लक ए को काम सम्पन्न गरी इच्छुक उद्योगीलाई उद्योग स्थापनाका लागि अपिल गर्न सक्षम हुने इन्जिनियर न्यौपानेले बताए। ब्लक ‘ए’ मा विशेषत: तयारी पोसाक निर्माण गर्ने उद्योग रहनेछन्।

ब्लक ए को कामसँगै ब्लक बी र सीको पनि काम अगाडि बढिरहेको जनाइएको छ। ब्लक बी १२८ र ब्लक सी ४९ दशमलव ५ बिघामा निर्माण हुनेछ। ब्लक बी र सीको डीपीआर तयार गरी पर्खाल लगाउने काम सुरु भएको छ।

स्थानीय उत्साहित

सेज निर्माण कार्यले गति लिन थालेपछि स्थानीय उत्साहित छन्। रोजगारी, विकास र स्थानीय तहको समृद्धिका लागि सेज महत्वपूर्ण रहने भन्दै स्थानीयबासीले निर्माणको काममा कुनै अवरोध नगर्ने प्रतिवद्धता नै व्यक्त गरेका छन्।

‘निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनामा विशेष आर्थिक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह भएकाले सेज निर्माणमा सहयोगी बनेका छौं,' वडाध्यक्ष ईश्वर केशीले भने, ‘सेज रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र औद्योगिक विकासमा कोशेढुंगा हुने विश्वास लिएका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.