|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कुनै घटनामा कुनै सांसदको संलग्नता भएको आाशंकामा अभियोग लगाउँदै जेल हाल्ने हो संसद्‍ नै खाली हुने चेतावनी दिएका छन्।

कैलाली जिल्लाको क्षेत्र नम्बर १ मा राजपाको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित  सांसद रेशमलाल चौधरीललाई प्रतिनिधिसभा सदस्यको रूपमा शपथ खुवाउने व्यवस्था गर्न राजापाले माग गर्दै आएको छ। राजपाले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेट गरी चौधरीलाई शपथको व्‍यवस्था गर्न पनि माग गरेको छ। गृहमन्त्री थापासँगको भेटपछि महतोले भने, ‘कस्ता कस्ता अभियोग लागेका केही व्यक्तिले शपथ गर्ने तर चौधरीलाई चाहिँ किन जेलमा?’

महतोले सत्तामा बस्नेहरूले मन नपरेका हरेक सांसदले अनेकौँ अभियोग प्रहरीलाई दर्ता गर्न लगाउँदै जाने प्रवृत्ति बढ्ने हो भने संसद नै खाली हुने बताए। ‘लोकतन्त्रमा जनताभन्दा माथि कोही छैन, त्यही जनताले चुनेर पठाएको सांसद रेशमलाल चौधरीलाई शपथ खान दिनुपर्छ भन्ने माग हामीले गर्‍यौँ’, महतोले थाहाखबरसँग भने, ‘अदालतले अपराध प्रमाणित नगरेको जनप्रतिनिधिलाई थुनामा राख्न मिल्छ?’ 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित अध्यक्ष मण्डलको टोली सात दिनदेखि आमरण अनशनमा छ। अनशन बसेका चौधरीको स्वास्थ्यस्‍थिति बिग्रिएर उनको ज्यान तलमाथि भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत महतोले दिएका थिए। गृहमन्त्री थापाले भने चौधरीमाथि लागेको अभियोग राजनीतिक प्रकृतिको भएकोले प्रधानमन्त्रीसँगको छलफलबाट विवाद टुंग्याउन सुझाएका थिए।

अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवका अनुसार गृहमन्त्री थापाले आफूहरू पनि सशस्त्र क्रान्तिबाट आएको व्यक्ति भएकोले कैलाली घटना पनि राजनीतिक भएको भन्दै त्यो घटनालाई आफूले संवेदनशील भएर हेरेको बताएका थिए। ‘यो घटनालाई मैले संवेदनशील भएर हेरेको छु, म सकारात्मक छु’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै महतोले भने, ‘उनलाई रिहाइ गर्न केही कानुनी जटिलता रहेकोले त्यस विषयमा राजनीतिक निर्णय गर्नुपर्छ।’

गृहमन्त्री थापाले सांसद रेशमलाल चौधरीलाई शपथको व्यवस्था गर्न भने सरकारले गृहकार्य गर्ने बताएका थिए। राजपाका नेताहरूले सांसदलाई शपथ खान नदिने घटनाले सत्ताको खेलमा पछि नकारात्मक नजिर हुन सक्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.