|

काठमाडौं : शल्यक्रियाको समयमा गम्भीर त्रुटि गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले दुई डाक्टरलाई एक महिनासम्मका लागि निलम्बन गरेको हो। नर्भिक अस्पतालमा कार्यरत दुई डाक्टरले बिरामीको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिनेको गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।

कारबाहीमा पर्ने डाक्टरहरूमा डा. प्रवीण नेपाल र डा. शैलज रञ्जितकार रहेको मेडिकल काउन्सिलले जनाएको छ। उनीहरूलाई काउन्सिलको २३ गते बसेको बैठकले कारबाही गर्ने निर्णय गरेको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार ती डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्। उनले भने,‘देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिनेको गरेर गम्भीर गल्ती गरेको भनेर उजुरी परेको थियो। विज्ञसहितको टोलीले छानविन गर्दा उपचारमा गम्भीर त्रुटि भएको देखियो। उहाँहरूलाई एक महिनासम्म कुनै मेडिकल प्राक्टिस् गर्न नपाउने गरी निलम्बन गरेका छौँ।’ 

उक्त घटनामा दुवै डाक्टर दोषि भएकाले कारबाही गर्ने निर्णय गरिएको उनले बताए। चितवनकी बिन्दु पौडेलको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरिएकाले दुई डाक्टरलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ। पौडेलको गत शुक्रबार शल्यक्रिया भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.