|

काठमाडौं : मदन पुरस्कार विजेता लेखक तथा कथाकार महेशविक्रम शाहको कथा सङ्ग्रह ‘भुइँखाट’ शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरियो। कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले शाहको सातौं कथा कृति भुइँखाट सार्वजनिक गरे।

भुइँखाट कथा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि सुवेदीले अहिलेका सबै एकै प्रकारका कथा आउने गरेको बताए। उनले भने, ‘आजभोलिका लेखकले लेख्ने कथाको कथानकमा संकट देखिन्छ। साहित्यमा देखिएको प्रमुख चुनौती भनेको पोस्ट ट्रुथभन्दा कथा अलग हो भनेर चिनाउने हो। केहीहदसम्म महेशले त्यसलाई पछ्याएका छन्।’

शनिबार  सार्वजिनक भएकाे पुस्तकमाथि टिप्पणी गर्दै नारायण ढकालले शाहको यो कृति पहिलाको 'सटाहा' जस्तै शसक्त रहेको बताए। उनलले भने, ‘शाहको पहिलो कृति ‘सटाहा’ मा वर्णन गरिएको थारू समुदायको मूल्य, मान्यता र संस्कृतिले म अविभूत भएको थिएँ। त्यसरी अविभूत हुने क्रमले ‘भुइँखाट’ सम्म आइपुग्दा पनि निरन्तरता पाएको छ।’

अर्का टिपणीकार नयनराज पाण्डेले शाहको कथामा विविधता रहेको बताए। ‘लेखकका कथाहरूमा परिवेश, विषयगत विविधता पाइन्छ। महेशले मधेस, हिमाल पहाडदेखि पश्चात्य जगतका  कथा र पात्रहरु संग्रहमा ल्याएका छन्’, उनले भने, ‘लेखकले सयम क्रमलाई पछ्याउँछन्। सयमसँग संवाद गर्नु उनको विशेषता हो।’ 

पुस्तकबारे बोल्दै लेखक शाहले आफू अात्मादेखि नै साहित्यकार भएको बताए। उनले भने, ‘मेरी श्रीमतीले सधैं भन्छिन्, तपाईंलाई पुलिसहरूले साहित्यकारका रूपमा चिन्छन्। साहित्यकारहरूले पुलिसको रूपमा। तर म आत्मादेखि नै साहित्यकार हुँ। त्यसको जवाफ मेरा कृतिहरू हुन् जस्तो लाग्छ मलाई।’

 मदन पुरस्कार विजेता कथाकार शाहका यस अघि ‘सटाहा’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’, ‘काठमाडौंमा कमरेड’, ‘सिपाहीकी स्वास्नी’ र ‘ज्याक्सन हाइट’ कथा सङ्ग्रहरू प्रकाशित भइसकेका छन्। ‘भुइँखाट’ सङ्ग्रहमा जम्मा १८ ओटा कथाहरू समावेश छन्। यो कथा सङ्ग्रह फाइनप्रिन्टले प्रकाशित गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.