|

काठमाडौं : व्यवसायी अजेयराज सुमार्गीको जीवन यात्रा समेटिएको पुस्तक 'अजेयराज सुमार्गी' बजारमा आएको छ। बुधबार काठमाडौंमा सार्वजनिक गरिएको पुस्तकमा अजेयराज सुमार्गीसँग सहयात्रा गरेका र उनलाई नजिक चिनेका  विभिन्न क्षेत्रका ३५ व्यक्तित्वले उनका बारेमा गरिएको विवरण र बिचार समेटिएको छ। पुस्तक निर्मलकुमार थापा र अरुणराज सुमार्गीले लेखेका हुन्।

काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा लेखकद्वय निर्मलकुमार र अरुणराजले व्यवसायी सुमार्गीकी आमा विश्वकान्ती कलावती सुमार्गीलाई पुस्तक हस्तान्तरण गरे। विश्वकान्तीले छोरा सुमार्गीलाई हस्तान्तरण गरेर पुस्तक सार्बजनिक गरिएको थियो ।

पुस्तक लोकार्पण कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै स्वामी कमलनयनाचार्य। साथमा भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोली लगायत। 

पुस्तकका बारेमा भएको छलफल कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले 'एउटा व्यक्तिका बारेमा ऊसँग सम्बन्ध भएका व्यक्तिसँग सोधखोज गरेर पुस्तकमा प्रस्तुत गरिएकोले यो नवीनतम विधा भएको' बताए। 'प्रस्तुतीकरण र शिल्पको हिसाबले नौलो विधा आएको छ। एउटा व्यक्तिमाथिका टिप्पणी रोचक किसिमले उतारिएको छ।'

पुस्तकको पाण्डुलिपि अध्ययन गरेका मेगा बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाहले आफूलाई सुरुमा पुस्तक आत्मकथा होला लागेको बताए। 'किताबको बारेमा सुन्दा आत्मकथा होला सोचेको थिएँ तर होइन रहेछ', शाहले भने, 'उहाँको जीवन रोचक छ। पुस्तकले उहाँसँग यात्रा गरेको अनुभूत गराएको छ।' अनिलकेशरीले पुस्तक 'दुई कुशल चित्रकारले क्यानभासमा पेन्टिङ बनाएजस्तो' भएको टिप्पणी गरे। 'पहिलो अध्यायदेखि नै पेन्टिङजस्तो लाग्यो, फोटोग्राफ होइन', उनले भने, 'पेन्टिङलाई दर्शकले जसरी पनि हेर्न सक्छन्।'

पुस्तक चर्चामा (वायाँबाट) लेखक अरुणराज, बैंकर अनिलकेशरी शाह, समीक्षक घनश्याम घिमिरे र अर्का लेखक निर्मलकुमार थापा।

अजेयराज सुमार्गीको अध्यात्मिक पाटोबारे चर्चा गर्दै योगी डा. विकासानन्दले उनी 'नेपाली युवाका लागि रोल मोडेल रहेको' बताए। विकासानन्दले सुमार्गीको जीवन सफल हुनुमा उनका गुरुहरुको प्रेरणाको भूमिका रहेको बताए। 'संसारमा दुई प्रकारका गुरु छन्, संसार चिनाउने र आत्मा चिनाउने', उनले भने, 'मान्छेहरु एक प्रकारका मात्र गुरु भेट्छन् तर अजेयराजले दुबै किसिमका गुरु भेट्नुभएको छ।'

अजेयराजलाई नबुझ्नेहरु र गलत कुरालाई मात्र प्रश्रय दिनेहरुले उनलाई विवादमा तान्ने गरेको विकासानन्दले बताए। 'नेपाल पछाडि पर्नुको कारण नै नकारात्मक कुरालाई बढी प्रश्रय दिनु हो', विकासानन्दले भने, 'कुनै पनि सफल मान्छेको पछाडि उसको छायाँ पनि हुने गर्छ। यहाँ व्यक्तिलाई होइन त्यही छायाँलाई समातेर आलोचना गर्ने गरिएको छ।'

'भ्रम चिर्ने प्रयास'

पुस्तकका एक लेखक निर्मलकुमार थापा।

छलफल कार्यक्रममा लेखकद्वयले पुस्तकको औचित्य र लेख्दाका अनुभव सुनाएका थिए। लेखक निर्मलकुमार थापाले आफूले 'व्यवसायी अजेयराजलाई सञ्चारमाध्यमले जसरी परिचित गरायो त्यसरी नै चिनेको' बताए। 'रेडियो, टिभी र पत्रपत्रिकामा जसरी अजेयराजलाई नकारात्मक रुपमा बढी चिनाइयो त्यसरी नै चिनेको रहेछु। तर उहाँका साथी, परिवार र व्यवसायीसँग सोधखोज गर्दा त्यस्तो भेटिन', उनले भने।  

थापाले केही व्यक्तिले नेपथ्यबाट सञ्चारमाध्यम सञ्चालन गरेर आफ्नो अनुकूलमा भ्रम फैलाएको बताए। 'केही व्यक्ति नेपथ्यमा बसेर सञ्चारमाध्यमलाई हतियार बनाएर प्रस्तुत गरेका रहेछन् भन्ने थाहा पाएँ', उनले भने।

त्यस्तै अर्का लेखक सुमार्गीका भाइसमेत रहेका व्यवसायी अरुणराज सुमार्गीले आफ्ना दाजुका बारेमा फैलाइएका भ्रम तोड्न समेत पुस्तक लेख्नुपरेको बताए।

पुस्तकका लेखक अरुणराज सुमार्गी।

'अजयराज सुमार्गीलाई जे जसरी भिलेन बनाउने प्रयास भइरहेको छ, यो पुस्तकमा बोल्ने पात्रहरुलाई गएर सोधुन्,  उनीहरुले अजय सुमार्गी को हुन् आफैं बुझ्ने छन् ', अरुणराज सुमार्गीले भने, 'होइन भने यो पुस्तक पढेपछि तिनीहरुको चेत खुलोस्।' उनले पुस्तक पाठकको हातमा रहेको र सत्य खुलिसकेको बताए।

'यथार्थ जीवन'

समालोचक घिमिरेले पुस्तकमा यथार्थ जीवन आएको बताए। 'व्यक्तिको बारेमा बजारमा आएका आत्मकथा जस्तै भक्तिगान होला जस्तो लागेको थियो, किताब पढेपछि त्यो पाइन', उनले भने।

कार्यक्रममा (वायाँबाट) योगी डा. विकासानन्द, भारतीय जनता पार्टीका नेता विजय जोली, स्वामी कमलनयनाचार्य, व्यवसायी गुणचन्द्र विष्ट र बैंकर अनिलकेशरी शाह।

पुस्तकमा थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्ट, पूर्व प्रम कीर्तिनिधि विष्ट, सुमार्गीका बुबा माधवराजका समकालीन एचसी मण्डल, केदार कँडेल, तुलसी थापा र राजकुमार सिन्धी, भारत विभाजनपछि नेपाल आएर ४२ वर्षदेखि हेटौंडामा बसोबार गर्दै आएका ज्ञानसिंह सरदार, व्यवसायी गुणचन्द्र विष्ट लगायतका दृष्टिकोण समेटिएको छ। व्यवसायीहरु उमेशचन्द्र ठाकुर, भागिरथ शर्मा, टेकनारायण कँडेल, दलबहादुर लामा, राजन खतिवडा, शुभरत्न मानन्धर, कृष्णप्रसाद शर्माले अजेयराजका बारेमा बोलेका कुरा पुस्तकमा समावेश गरिएको छ।

पुस्तकमा स्वामी कमलनयनाचार्य, संस्कृतका ज्ञाता बासुदेव आत्रेय, नेपाली कांग्रेसका योद्धा एवं सुमार्गीका जेलजीवनका साथी नारायण बास्तोला, धार्मिक अभियन्ता टीकाप्रसाद चौलागाईँ, जनमुखी सहकर्मी शिव राना मगर र हरिबोल महत, सांसद रामनारायण बिँडारी र विद्यालय जीवनका साथी महेन्द्र पौडेलका धारणा पनि समेटिएको छ।

पुस्तक नै लेख्ने बेला भएको थिएन कि भन्ने लागेको थियोः सुमार्गी

अजेयराज सुमार्गी। 

पुस्तकका प्रमुख पात्र व्ययवसायी अजेयराज सुमार्गीले आफूबारे पुस्तक लेख्ने समय नभएको लागे पनि लेखकद्वयले आफ्नो स्मृतिमा धुमिल भएका पात्रलाई फेरि परिचित गराएको अनुभूति भइरहेको प्रतिक्रिया दिए। पुस्तक आफ्नो २०६० साल पहिलेको जीवनका बारेमा रहेको उनले बताए।  

सुमार्गीले भ्रमले गर्दा समाज बिग्रिँदै गएको बताउँदै 'थाहा' बाटमात्र समाजमा रहेका भ्रम चिर्न सकिने बताए। 'सत्य हलुका छ, जे देख्यो त्यो भने पुग्छ', उनले भने, 'झुठ बोक्न अनेकौँ कथा रच्नुपर्छ। कथामा फेरि कुन कुन पात्र मिल्दैनन्, कालखण्ड मिल्दैन। झुठ बोक्न बडा गाह्रो छ।'  

आफ्नाबारे लेखिएको पुस्तकले 'जीवन शून्यबाट होइन, माइनसबाट सुरु गरे पनि सफल हुन सक्छ' भन्ने चेतना मात्र दिन सक्यो भने यसका लेखकको मिहिनेतले अर्थ राख्ने उनले बताए। 'एउटा पुस्तकले एउटा मात्र पात्रलाई सुमार्गमा हिँड्न प्रेरित गर्‍यो,  माइनसबाट हिँड्नलाई प्रेरणादायी भयो र जिरोबाट जीवन सुरु गर्नलाई प्रेरणादायी भयो भने मेरा भाइहरुले गरेको मिहिनेत फलदायी भयो भनेर मैले र मेरो परिवारले सकारात्मक रुपमा लिनेछौं।'

पूण्यकर्म गर्दा खेदियोः कमलनयनाचार्य

स्वामी कमलनयनाचार्यले अजेयराज सुमार्गी आफ्ना शिष्य भएको कारण कतिपय नकारात्मक बिचार राख्नेहरुले आफूलाई समेत खेद्ने गरिएको बताए। 'नेपालमा पुण्यकर्ममा लागेको मान्छेलाई खेद्ने गरिएको छ', कमलनयनाचार्यले भने, 'शिष्यको रुपमा अजेयराज भएको कारण उसलाई दुःख दिन मलाई समेत खेद्ने गरिएको छ।'

कार्यक्रमको निम्तो मान्न भारतबाट आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले अजेयराज सुमार्गी 'दुई देशको सम्बन्ध सुमधुर बनाउन सक्ने व्यक्ति' भएको बताए। 'नेपाल र भारतको राजनीतिक, सांस्कृतिक र आर्थिक रुपमा राम्रो काम गरिरहनुभएकोमा म सुमार्गी परिवारलाई अभिवादन गर्दछु', जोलीले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश लिएर नेपाल आएको बताएका जोलीले भने- 'सुमार्गी परिवारले नेपाल भारतको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।'

हेटौँडा चुन उद्योग प्रालि (२०२८) बाट व्यवसायिक क्षेत्रमा हात हालेका पिता माधवराज सुमार्गीको निधनपछि आफ्नो व्यवसायिक विरासत सम्हाल्दै आएका अजेयराज सुमार्गी तत्कालीन मेरो मोबाइल (हाल एनसेल) का संस्थापक मध्येका एक हुन्। हाल उनी नेपाल स्याटेलाइट कम्पनी (हेलो नेपाल), हिमालयज अनटप खानेपानी, मुक्तिश्री सिमेन्ट, थाहा मिडिया ग्रुप लगायत क्षेत्रमा लगानी गरी व्यवसाय गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.