|

काठमाडौं : कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर अप्रिल २२ (बैशाख ९)मा पार्टी एकता घोषणा गर्ने गरी नेकपा एमाले र माओवादी केन्द्रले तयारी सुरु गरेका छन्।

पार्टीको संगठन व्यवस्थापन गर्न बनेको संगठनसम्बन्धी कार्यदलले कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा पार्टी एकता गर्न एकता संयोजन समितिलाई सुझाव दिएको हो। यसअघि एमाले–माओवादीले पार्टी एकतालाई चैत पहिलो साताभित्र टुंग्याउने बताइएको थियो। पार्टी एकताका लागि एकता संयोजन समितिले दुईवटा कार्यदलसमेत गठन गरेको थियो।

गत फागुन १० गते बसेको एकता संयोजन समितिको बैठकले चैत पहिलो साता पार्टी एकता टुंगोमा पुर्‍याउन दुई कार्यदल गठन गरेको थियो। त्यसअनुसार माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा ‘संगठन तथा विधान मस्यौदा कार्यदल’ गठन गरेको थियो।

यसले संठनात्मक स्वरूप र पार्टीको सिद्धान्तका बारेमा मस्यौदा तयार गर्ने बताइएको छ। यस्तै, एमाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा ‘राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल’ गठन गरेको थियो। ‘संगठन तथा विधान मस्यौदा कार्यदल’ सदस्य तथा माओवादी नेता गिरिराजमणि पोख्रेलले आफूहरूले नेतृत्व तहलाई २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारी अगाडि बढाउन सुझाव दिएको बताए। उनले भने, ‘हामीले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर २२ अप्रिलमा पार्टी एकताको घोषणा गर्न नेतृत्वलाई सुझाव दिएका छौँ। यसो गर्दा छलफलका लागि समय पनि हुन्छ।’

किन अप्रिल २२ मै पार्टी एकता?

अप्रिल २२ अर्थात बैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन हो। यही दिनमा पार्टी एकताको ऐतिहासिक निर्णय गर्ने गरी एमाले–माओवादीले तयारी सुरु गरेको बताइएको छ।

सन् १९४९ अप्रिल २२ (२००६ बैशाख १२)का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सदस्य रहेर नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।

उक्त दिन लेनिन जयन्ती पनि पर्ने भएकाले पार्टी एकता घोषणा त्यही दिन गर्नुपर्ने प्रस्ताव आफूहरूले अघि सरेको नेता पोख्रेलले बताए। उनले भने, ‘त्यो दिन नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक दिन हो। त्यसैले त्यो दिनलाई अर्को ऐतिहासिक दिन बनाउन पनि पार्टी एकता त्यही दिन गर्नुपर्छ।’

कार्यदलको म्याद १० दिन थपियो

‘संगठन तथा विधान मस्यौदा कार्यदल’ र ‘राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल’लाई २५ फागुनभित्र काम सक्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए। तर कार्यदलले फागुन २५ मा आफ्नो काम सकेन। संगठन निर्माण गर्न, पार्टीको विधान तयार पार्न गठन गरिएको विधान मस्यौदा समितिलले भने फागुन २५ भित्रमा दुईवटा प्रतिवेदन एकता संयोजन समितिमा बुझाइसकेको नेता पोख्रेलले जानकारी दिए। उनले भने, ‘जनवर्गीय संगठनको निर्माण, व्यवस्थापन, विधान तथा पार्टीको संगठन निर्माणका लागि प्रतिवेदन बुझाएका छौँ।’

नेता पोख्रेलले फागुन २५ मा सबै काम नसकिएकाले थप १० दिनको समय थपिएको जानकारी दिए। उनले भने, ‘दुवै पार्टीको संगठन र जनवर्गीय संगठनका बारेमा अध्ययन गर्न समय लाग्ने भयो। त्यसैले थप १० दिनको समय माग गरेका छौँ।’

थापाको नेतृत्वमा गठित ११ सदस्यीय कार्यदलले पार्टीको संगठन निर्माणका बारेमा विधान तयार गर्ने बताइएको छ। यस्तै, पार्टीको गाउँ तहदेखि केन्द्रसम्म संगठन निर्माण गर्दा दुवै पार्टीमा कसले कति योगदान गरेको छ भन्ने पनि कार्यदलले अध्ययन गरेर जिम्मेवारी दिइने गरी कार्यदलले प्रतिवेदन तयार गर्ने बताइएको छ।

पार्टी एकतामा किन ढिलाइ?

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनघि मंसिरमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेका यी दुई दलले चुनाव सकिएपछि तत्काल पार्टी एकता गर्ने घोषणा गरेका थिए।

निर्वाचनमा अपेक्षाअनुसारको मत परिणाम आए पनि पार्टी एकताका लागि केही ढिला भयो तर पार्टी एकताका लागि सहमति जुट्न सकेन। पार्टी एकताका लागि प्रारम्भिक एकताका आधारहरू तयार भएपछि भने छलफल र बहस बाक्लियो।

पार्टी एकतालाई चैतसम्ममा टुंग्याउने गरी दुई कार्यदल पनि गठन गर्‍यो। एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले चैतभित्र पार्टी एकता घोषणा गर्ने गरी काम गर्न कार्यदललाई निर्देशन दिए तर चैतमा पनि पार्टी एकता हुने सम्भावना न्यून रहेको छ।

पार्टी एकताका प्रारम्भिक आधारमा हस्ताक्षर गरेपछि सरकार विस्तारकमो छलफलमा केन्द्रित हुनुपरेकाले पार्टी एकता घोषणामा केही ढिला भएको माओवादीका एक नेताले बताए। उनले भने, ‘पार्टी एकतामा ढिलाइ हुनुको अर्को कारण भनेको सरकार विस्तार हो। पार्टी एकताका विषयमा भन्दा पनि सरकार विस्तारका विषयमा छलफल केन्द्रित गर्नुपरेको छ।’

दुई पार्टीका पछिल्ला आन्तरिक बैठकहरू पनि सरकार विस्तार, राष्ट्रपति निर्वाचन, उपराष्ट्रपति निर्वाचनलगायत विषयमा केन्द्रित हुँदै आएको ती नेताले बताए। उनले भने, ‘फोरम र राजपालाई पनि सरकारमा ल्याउने तयारी भइरहेको छ। त्यसका लागि छलफल पनि गर्नुपरेकाले एकताका विषयमा नेतृत्वले खासै छलफल गर्न पाएको छैन। त्यसो हुनाले बैशाखसम्ममा पार्टी एकता गर्ने तयारी गरिएको हो।’

तर कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन भने पार्टी एकता हुने ती नेताले दाबी गरे। उनले भने, ‘पार्टी एकता त अहिलेको आवश्यकता हो। अब यो र त्यो बहानामा पार्टी एकता ढिला गर्नु हुँदैन। अप्रिल २२ मा कुनै हालतमा पार्टी एकता घोषणा हुन्छ।’ एमाले र माओवादीको एकता संयोजन समितिको बैठकले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने निर्णय गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.