|

काठमाडौं : चैत २८ मा नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृहरूले ३० वर्षे सेवा अवधिका कारण अवकास लिँदै छन्। अवकास पाउने अधिकृतले एक महिनाअघिदेखि बिदा बस्ने चलन छ।

अर्यालसहित अवकास पाउने सबै अतिरिक्त प्रहरी महानिरीक्षकसहित २६ जना अधिकृत बिदा बसेमा प्रहरी संगठमा केही समय नराम्रो असर पर्ने उच्च प्रहरी स्रोतको भनाइ छ। 

पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लका अनुसार सबै बिदा बस्ने कानुनी प्रावधान नभए पनि बिदा बसेमा प्रहरी संगठनप्रति आममानिसमा नराम्रो सन्देश जाने छ। 'आइजिपीले कसलाई बिदा बुझाएर बिदा बस्ने भन्ने विषय नै पेचिलो छ', उनले भने।

समयअनुसार प्रहरी ऐनकानुन परिमार्जित हुन नसके संगठन कमजोर हुँदै जाने उनको भनाइ छ। 'अहिले खाली ३० वर्षे सेवाको कुरा छ, यो त्यति व्यावहारिक छैन', उनले भने, 'प्रहरी संगठन जस्तो कुरामा डिआइजीबाट सिधै आइजिपी हुनु राम्रो होइन।'

आइजिपी हुने प्रहरी अधिकृतले सबै जिम्मेवारी सम्हालेर आएको हुनु पर्ने उनको बुझाइ छ। पछिल्ला केही वर्षयता यस्तो बाध्यतात्मक अवस्था आएको र यसमा सरकार गम्भीर हुनु जरुरी भएको उनले बताए। 'भोली एसएसपीबाट सिधै आइजिपी बन्ने अवस्था आउन सक्छ, त्यस्तो भए के होला?' उनले भने। सबैभन्दा बढी जनतासँग सम्पर्कमा रहने प्रहरीको व्यवस्थापनमा सरकारले ध्यान नदिने हो भने प्रहरीको व्यावसायिक छविसमेत गुम्दै जाने प्रहरी अधिकृतहरूको भनाइ छ।

चैत २९ पछि आइजिपी प्रकाश अर्यालसँगै १६ जना अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी नौ जना प्रहरी नायव महानिरीक्षक डिआइजी र एक जना वरिष्ठ प्रहरी उपरीक्षक गरी २६ जना ३० वर्षे अवधिका कारण अवकाश हुनेछन्।

आइजिपी प्रकाश अर्यालको ब्याचबाट नेपाल प्रहरीमा डिआइजीबाट सिधै आइजिपी बन्ने अवस्था आएको हो। यसअघि उपेन्द्रकान्त अर्यालसमेत केही दिन मात्र एआइजी बनेर आइजिपी भएका थिए ।

बहालबाला डिआइजीबाट एक जना आइजिपी बन्ने निश्चित भएसँगै आइजिपीको दौड सुरु भएको छ। प्रहरी नेतृत्वको दौडमा डिआइजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा छ। उनीहरूमध्ये एक जना डिआइजी भएको ६ महिनामै आइजिपी बन्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.