|

काठमाडौं : सुविन भट्टराई चर्चित युवा लेखक हुन्। 'समर लभ', 'साया' र 'मनसुन' उनका उपन्यास हुन् भने 'कथाकी पात्र' पहिलो कथासंग्रह हो। वर्तमान नेपाली आख्यान लेखनमा चर्चित र युवापुस्तामा निकै रुचाइएका भट्टराई कुनै बेला प्राध्यापन पेसामा संग्लन थिए।

"समर लभ' प्रकाशनपश्चात उनी किशोर-किशोरीमाझ यति लोकप्रिय बने कि फलस्वरूप प्राध्यापन पेसा छोडेर उनी पूर्णकालीन लेखक बनेका छन्। विशेषगरी युवापुस्ताको मनोविज्ञानअनुसार प्रेममा आधारित कथा र उपन्यास लेख्न रुचाउने भट्टराई स्वयंलाई चाहिँ  प्रेममा लेखिएका कुनकुन पुस्तक मनपर्छन् त? यसै विषयमा आधारित रहेर थाहाखबरकर्मी राजु पौडेलले भट्टराईसँग गरेको कुराकानी। 

१. नर्वेजियन उड

तोरु वातानोबे नामक पात्रको आफ्नो कलेज जीवनमा भेटिएका नाओको र मिदोरी दुई केटीसितको प्रेमसम्बन्धका बारेमा छ कथा। हारुकी मुराकामीले टोकियोको यति मीठो प्रस्तुति गरेका छन् कि पाठक त्यहीँ पुग्छ। साथसाथै प्रेममा आउने सहज यौन सम्बन्धका बारेमा पनि मुराकामीले बडो सुन्दर र कलात्मक पारामा खुलेरै वर्णन गरेको मलाई झन् मनपर्‍यो।

२. फोर्टी रुल्ज अफ लभ

एलिफ सफाक टर्किस लेखिका हुन्। फोर्टी रुल्ज अफ लभले थोरै एला रुबेनसन नामक पात्रको सम्बन्धको आजको कथा पनि भन्छ। तेह्रौँ शताब्दीको रुमी र साम अफ ताब्रिजको मित्रता र सम्बन्धको रहस्य पनि खोतल्ने काम गर्छ। प्रेमका यति धेरै कविता लेख्ने रुमीलाई साम अफ ताब्रिजले कसरी कविको अवतारमा ल्याए, त्यो बडो रोचक लाग्छ।

३. ब्रिजेस अफ म्याडिसन कन्टी

मलाई यो कथाको सुरुवात ठिकठिकै लागेको थियो। पढ्दै जाँदा बीचतिर पुगेपछि त्यो ठीकठीकै अलिक राम्रो भन्नेमा उक्लियो। तर मलाई यसको अन्त्यले भने च्वास्सै छोयो। यो प्रेमकथा प्रौढहरूको प्रेमकथा हो। रोबर्ट जेम्स वालर यसका लेखक हुन्। उनले रोबर्ट किनकेड र फ्रान्सेस्का जोनसोनको प्रेमलाई बडो हृदयस्पर्शी शब्दहरूमा कुँदेका छन्। वालरको भाषा पनि बडो मीठो छ।

४. द बुक अफ लभ

यो रुमीका छोटा कविताहरूको संग्रह हो। रुमी प्रेम कविता बढी लेख्छन् भन्ने कुरा जग जाहेर छ तर यसमा प्रेमका अलावा अरू खालका कविताहरू पनि छन्। उनका छोटा तर मीठा कतिपय कविताहरूले ऊर्जा दिन्छन्। फेसबुक स्टाटस हुने खालका पंक्तिहरू पनि उनका कतिपय कविताहरूमा छन्। कहिल्यै कविता लेख्न नजान्ने मान्छेलाई समेत लेखूँलेखूँ बनाइदिन सक्ने ऊर्जा उनका कवितामा हुन्छन्। तर यसै संग्रहका कतिपय कविताहरू बकवास पनि लाग्छन्।

५. अ लभ स्टोरी

यो क्लासिक लभ स्टोरी हो। यो सन् १९७० को पुस्तक हो। एरिक सेगल यसका लेखक हुन्। उनको भाषा बडो सरल हुन्छ। अहिले फेसनमा रहेको ‘चिक लिट’ जनराको सुरुवात सम्भवत: यिनै लेखकबाट भएको हो। अहिलेका चर्चामा रहेका निकोलस स्पार्क्स, चेतन भगत, जोन ग्रिन हिँडेको बाटो पनि त्यही हो। अ लभ स्टोरी वियोगान्त प्रेमकथा हो।

६. टु स्टेट्स

चेतन भगतको सबैभन्दा मनपर्ने किताब मेरो लागि टु स्टेट्स नै हो। प्रेमकथामा आधारित सयौँ, हजारौँ पुस्तक पढे पनि मेरा लागि यसको नूतनता कहिल्यै मासिने छैन। दुईवटा फरक स्टेटका मानिसको प्रेमदेखि विवाहसम्मको यात्रा कति जटिलताका साथ सम्पन्न हुन्छ भन्ने कुरा बडो रोचक पारामा भगतले लेखेका छन्। सरलता उनको सबैभन्दा सबल पक्ष हो।

७. लोलिता

यो पुस्तक कसरी बिर्सन सकिन्छ र! ब्लादिमिर नाभाकोभको लोलिता, जसले एउटा छुट्टै संसारमा पुर्‍याइदिन्छ। भन्नेहरूले अश्लील, उच्छृङ्खल पनि भन्लान् यो किताबलाई तर यसमा भएको लोलिता र हम्बर्टको प्रेमकथा, जो विकृत हुँदो हो, विद्रुप हुँदो हो, जायज नहुँदो हो तर पढ्दा त्यही चिजले छुन्छ। लेखकले कथालाई यस्तो भाँडोमा हालेका छन्, जहाँ कहिले बास्ना छचल्किएको देखिन्छ, कहिले प्रेम छचल्किएको देखिन्छ। तर अन्त्यतिर गएपछि कम्तीमा मलाई प्रेमले जितेको हो कि झैँ लाग्छ।

८. मिल्क एण्ड हनी

रूपी कौर अहिले संसारले चिनेको नाउँ हो। मिल्क एण्ड हनी उनको पहिलो प्रकाशित कविताहरूको संग्रह हो। संग्रहमा प्रेम, घृणा, पीडा, विद्रोह, फेमिनिज्म, आशा, निराशा धेरै चीजहरूको मिश्रण पाइन्छ। उनका कविता सारै छोटा तर च्वास्स छुने खालका छन्। धेरैजसो कविता चार, पाँच, छ पंक्तिमा सीमित छन्। उनका कविता पनि फेसबुक स्टाटस हाल्ने खालका लाग्छन्।

९. लभ हर वाइल्ड

यस पुस्तकका लेखक हुन् एटिकस। रूपी कौरभन्दा अझ उन्नत भर्सन लाग्छन् एटिकस। प्रेमलाई हेर्ने सूक्ष्म दृष्ठिकोण यसमा पाइन्छ। क्यानाडियाली कवि एटिकस सार्वजनिक ठाउँमा समेत मास्क लगाएर उपस्थित हुन्छन् रे! प्रेम कविता लेख्ने उनका कविताहरू पनि छोटा तर मर्मस्पर्शी हुन्छन्।

१०. लभ एण्ड मिस एड्भेन्चर

यो पनि छोटा तथा लामा कविताहरूको संग्रह हो। लाङ लिफ यसकी लेखिका हुन्। यो उनको पहिलो संग्रह हो। उनको 'ललिबाई' नामक संग्रहमा पनि मीठा कविताहरू छन्। मलाई यस संग्रहभित्र भएका केही कविताले छोएका छन्।

कुनै पनि पुस्तक पढ्दा त्यसको ५० प्रतिशत भागले छोयो भने मलाई त्यो पुस्तक स्वतः राम्रो लागिहाल्छ। उनको यस संग्रहको हकमा पनि त्यही भएको हो। प्रेमसँग सम्बन्धित छोटा तर मन छुने खालका कविताहरूको संग्रह पाएँ भने त्यो मेरा लागि ठूलो कुरा हुन्छ। यो संग्रह सिध्याउन मलाई दुई घण्टा पनि लागेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.