|

काठमाडौं : पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले हजारौँ मानिसलाई योग गराएका छन्। 

३१औँ मनोक्रान्ति दिवसको उपलक्ष्यमा डा. योगी विकासानन्दसँगै मंचमा रहेका रेग्मीले चर्चित लेखक एवं टिप्पणीकार खगेन्द्र संग्रौला, नाट्यकर्मी अशेष मल्ल, गायक आनन्द कार्कीलगायत नेपालका चर्चित व्यक्तिसहित हजारौँ सर्वसाधारणलाई योग गराएका हुन्। 

चर्चित व्यक्तिहरूले योग गरिरहँदा वातावरणमन्त्री लालबाबु पण्डित भने मुसुमुसु हाँस्दै रेग्मीले योग गरेको हेरिरहेका थिए। 

३१ वर्षअघि डा. योगी विकासानन्दले स्थापना गरेको मनोक्रान्ति अभियानले ध्यान, योग, प्राकृतिक स्वास्थ उपचार एवं ‘माइन्ड टेक्नोलोजी’सम्बन्धी काम गरिरहेको छ। यस संस्थाबाट प्रत्यक्ष–परोक्ष गरी १३ लाख बढी व्यक्ति लाभान्वित भएको दाबी गरिएको छ। यसअघि रानीबारीस्थित केन्द्रीय कार्यालयमा मनाउने गरिएको मनोक्रान्ति दिवस यस वर्षदेखि खुलास्थलमा मनाइएको छ। 

कार्यक्रममा खिलराज रेग्मीले आफू डा. योगी विकासानन्दको प्रतिभाबाट अन्त्यन्तै प्रभावित रहेको र उनको अभियानलाई साथ दिँदै आएको बताए। मनोक्रान्ति अभियानले युवाको शारीरिक र मानसिक अवस्थामा थप सुधार ल्याएकाले यस अभियानले देशका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। 

उक्त अवसरमा डा. योगी विकासानन्दको ८७औँ पुस्तक ‘सफल’ विमोचन पनि गरिएको थियो। पुस्तक विमोचन गर्दै वातावरणमन्त्री लालबाबु पण्डितले आफू मन्त्रालयको काम छाडेर एकै क्षण भए पनि डा. योगी विकासानन्दसँग स्वास्थसम्बन्धी टिप्स लिन आएको बताए। 

जावलाखेलको खुला चौरमा भएको उक्त कार्यक्रममा उपस्थित हजारौँ व्यक्तिहरूका बीच गायक आनन्द कार्कीले गीत गाएका थिए भने खगेन्द्र संग्रैलाले आफू नियमित योग गर्ने बताएका थिए। कार्यक्रममा डा. योगी विकासानन्दले हास्यप्रधान प्रस्तुतिका साथै विभिन्न किसिमका आसन र त्यसका फाइदाका बारेमा प्रस्तुति दिएका थिए। उनलाई योगी ध्रुवानन्द, योगी देवेन्द्र, योगी छम् र योगी गम्भीरले सहयोग गरेका थिए।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.