|

विराटनगर : मोरङको बेलबारी नगरपालिका– १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा शनिबार बिहान फेला परेकी महिलाको सात महिनाको गर्भ रहेको खुलेको छ। 

प्रहरीले अहिलेसम्म ती महिला को हुन् भन्ने विषयमा जानकारी पाउन सकेको छैन। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कोही कसैले मार्ने उद्देश्यका साथ उनलाई जंगलमा ल्याइएको हुनसक्ने बताएको छ। 

‘घाँटीमा नील र डाम छ’, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कटुवालले भने, ‘घाँटी थिचेर मार्ने प्रयास भइरहेको बेला गाउँले पुगेपछि अपराधी फरार भएको हुनसक्ने आशंका छ।’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएकी ती महिला अझै बोल्न सकेकी छैनन्। 

‘घाँटीमा थिचेर अन्तिम अवस्थामा पु¥याएका कारण उनी अझै बोल्न सक्ने अवस्थामा छैनन्’, कटुवालले भने, ‘भोलिसम्ममा उनको स्वास्थ्यमा सुधार हुने अपेक्षा छ।’ कटुवालका अनुसार तराईमूलकी ती महिलाको घर सुनसरीको इनरुवा आसपास हुनसक्ने अनुमान गरिएको छ। ‘आइतबार बिहान केही संकेतमार्फत् उनले सुनसरीको इनरुवा घर भएको बताएकी छन्’, कटुवालले भने। 

आफन्त कोही नहुँदा उपचारमा समस्या
उनको उपचारका लागि प्रहरीलाई समस्या भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पैसाविना उपचार गर्न नसक्ने बताएपछि प्रहरीलाई पनि समस्या परेको हो। ‘अहिलेसम्म कोही पनि उनको आफन्त नआएका कारण उपचारमा आर्थिक अभाव भएको छ’, कटुवालले भने। 

शनिबार बिहान दाउरा, घाँस लिन जाने स्थानीयले ती महिलालाई फेला पारेका थिए। अन्दाजी २५ वर्षकी महिला मुखबाट फिँज काढेर अचेत अवस्थामा भेटिएकी थिइन्। ती महिलालाई भाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बेलबारीको सहयोगमा उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.