|

धनकुटा : जिल्लाको छथर जोरपाटी क्षेत्रमा टिप्ने बेला भएको तरकारी बाली असिनाले नस्ट गरेको छ। कृषकले टिपेर बिक्री गर्ने बेला भएको मटर र सागबाली क्षति हुँदा लाखौँ रुपैयाँको नोक्सानि भएको स्थानीय कृषकको भनाइ छ। 

आइतबार साँझ परेको असिनाले सागबाली र मटरबाली चुट्दा पाँच लाख रुपैयाँ बढीको क्षति भएको कृषकले बताएका छन्। जिल्लाका धनकुटा नगरपालिका– २ तथा छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ मा करिब आधा फिट जम्ने गरी परेको असिनाले लाखौँ रुपैयाँ बराबरको क्षति भएको कृषक दीपक गुरुङले बताए।

धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको उक्त क्षेत्रमा रहेका करिब डेढ सय बढी कृषकको तरकारी बालीमा क्षति भएको छ। कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन्। करिब ४०० रोपनीमा रहेको बारीमा पाकेको तरकारीमा क्षति भएको छ।

बारीमा उब्जाएको तरकारी बालीले परिवार धान्दै आएका धनकुटा– २ का तिलबहादुर मगर भन्छन्, ‘वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवार धान्न कठिन हुने भयो।’ कृषकले बारीमा लगाएको तरकारी बाली टिप्न नपाउँदै असिनाले लगेको छ। ‘बारीमा मटर र साग टिप्ने बेला भएको थियो, एक्कासि असिना पानी आयो, केही दिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा मिल्यो’, कृषक तिलबहादुरले दुखेसो गरे।

कृषकको तरकारी बालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन्। यसरी वर्ष दिनको कमाइ माटोमा मिल्दा किसान चिन्तित बनेको कृषक गुरुङले बताए। असिनाले तरकारी बालीमा क्षति पु¥याएको जानकारी भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला कृषि कार्यालय धनकुटाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.