|

इलाम : पूर्वी पहाडी जिल्लाहरूमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरू मर्कामा परेका छन्। अलैँचीको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय आर्जनमा कमी आउन थालेको छ।

अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमी आएको इलामका व्यवसायीहरू बताउँछन्। दुई वर्षअघि प्रति मन ३२ हजार रुपैयाँसम्म खरिद–बिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रति मन आठ हजार रुपैयाँमा बिक्री भएको थियो।

यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको हो। यो वर्ष प्रति मन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ। उच्च रक्तचाप, ज्वरो आउँदा घरेलु औषधिका रूपमा गाउँमा प्रयोग हुने चिराइतो सुलुबुङ, माइपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ, नयाँ बजारलगायतका क्षेत्रमा चार हजारभन्दा बढी किसानहरूको आम्दानीको मुख्य स्रोत हो। चिराइतोमाथि भारतको एकाधिकार बजार रहेकाले भनेजस्तो मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ।

किसानहरूले चिराइतोको मूल्य नपाइरहेको अवस्थामा जिल्ला वन कार्यालय इलामले जडिबुटी विकासका लागि भनेर गत आर्थिक वर्षमा पकेट क्षेत्रमा चिराइतो खेती विस्तारका लागि २५ लाख रुपैयाँको लागतमा कार्यक्रम संचालन गरेको थियो।  महत्त्वपूर्ण जडिबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन्। चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायतका कृषक घरमै थन्क्याएर राख्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.