|

चितवन : चितवनको भरतपुर अस्पतालले आफैँले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न सुरु गरेको छ। दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो।

वार्षिक अक्सिजन खरिदमा ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण गरिएको उनले बताए। पाइपलाइनमार्फत अस्पतालका अक्सिजन आवश्यक पर्ने विभागमा आपूर्ति गरिएपछि सिलिण्डरमा निर्भर हुन नपर्ने भएको उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गतवर्ष स्वास्थ्यमन्त्री गगनकुमार थापा हुँदा नै बजेट विनियोजन भएको भए पनि बढी पैसा बोलपत्र हाल्नेले मुद्दा दिएपछि काममा ढिलाइ भएको बताए। एक करोड ९२ लाख बोलपत्र हालेको कमलेश इन्टरप्राइजेजले  एक करोड ४६ लाख टेण्डर हाल्ने टेक्निकल एशोसिएट्स सर्भिसेज प्रालिले प्रक्रिया नपुर्‍याएको भन्दै मुद्दा हालेपछि समयमै फैसला नहुँदा काममा केही ढिलाइ भएको अध्यक्ष राजभण्डारीले बताए।

उनका अनुसार पूर्वमन्त्री थापाले अक्सिजन खरिद गर्ने पैसाले प्लान्ट नै निर्माण गर्न सकिने भएकाले तत्काल काम गर्न बजेटसहित निर्देशन दिएका छन्। अस्पतालमा भर्ना भएका ६ सय बिरामी, छ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया गरेका बिरामी, २० वटा सघन उपचार कक्षमा रहेका बिरामी, १२ वटा शिशु सघन उपचार कक्षमा रहेका बिरामी, ६० शय्याको मेडिकल वार्ड र १५ शय्याको वृद्धवृद्धाको वार्डमा अक्सिजन आपूर्ति गरिएको उनले बताए।

अस्पतालका बायोमेडिकल इन्जिनियर लीलाम्बर चौधरीले अस्पताललाई २४ घण्टामा २४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले जडान गरेको प्लान्टबाट २४ घण्टामा सात लाख २० हजार लिटर उत्पादन हुने बताए। यो प्लान्टबाट पाँच सय लिटर प्रतिमिनेट (३० एनएमक्यू प्रतिघण्टा) उत्पादन हुने चौधरीले बताए।

डेनमार्कको अक्सिमेट कम्पनीले उत्पादन गरेको यस प्लान्टबाट पाइपलाइन र सिलिण्डर दुवैमा ग्यास आपूर्ति एवं भर्न सकिनेछ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मरासिनीले जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने गरी उत्पादनको क्षमता रहेको बताए। उनका अनुसार सरकारी तवरमा सम्भवतः काठमाडौँको वीर अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि भरतपुर अस्पतालमा प्लान्ट जडान भएको हो।

कतिपय अस्पतालले बिरामीसँग अक्सिजन शुल्क लिने गरेको भए पनि भरतपुर अस्पतालले यसअघि पनि शुल्क नलिएको र अब पनि लिनुनपर्ने भएको मरासिनीले बताए। हावामा अक्सिजन, नाइट्रोजन र अन्य ग्यास हुने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.