|

बारा : बाराको जीतपुर सिमरा- ३ रामवनमा कृषक दम्पती हत्याको विषयलाई लिएर प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयले सिमरा- ६ का स्थानीय संसुल मियालाई नियन्त्रणमा लिएको विरोधमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो। 

वडा अध्यक्ष क्यामुदिन अन्सारीको नेतृत्वमा स्थानीयवासी प्रहरी कार्यालय पुगेका थिए। प्रहरी कार्यालयमा पुगेपछि स्थानीयवासीले संसुल निर्दोष रहेको भन्दै छाड्न दबाब दिएका थिए। तर प्रहरीले भने सामान्य अनुसन्धानका लागि मात्र बोलाइएको भन्दै अनुसन्धान सकिएपछि छाडिदिने बताएको थियो।

अनुसन्धानको विषयलाई लिएर सामान्य भनाभन भएको केही समयपछि इलाका प्रहरी कार्यालय सिमरा अगाडि प्रहरी र स्थानीयवासीबीच झडप भएको स्थानीय श्याम गुप्ताले बताए। झडपमा परी केही स्थानीयवासी घाइते भएका छन्। अहिले सिमराको अवस्था सामान्य छ।  

गत मंसिर १५ गते स्थानीय ३५ वर्षका दीपक सुवेदी र उनकी ३० वर्षकी श्रीमती दीपा सुवेदीको हत्या भएको हो। दीपकको शव घरभित्र र दीपाको शव घरबाहिर ४० मिटर टाढा भेटिएको थियो। मृतक दम्पतीका एक छोरा र एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.