|

धनकुटा : जिल्लाको छथर जोरपाटी गाउँपालिकामा परेको असिनाका कारण यहाँ लगाइएको तरकारी बालीमा १६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। 

आइतबार साँझ पानीसँगै परेको असिनाले जिल्लाको तरकारी उत्पादनको मुख्य क्षेत्र मानिएको छथर जोरपाटी गाउँपालिकाका विभिन्न वडामा एक हजार २०० हेक्टरमा लगाइएको तरकारी बाली सखाप बनाएपछि करिब १० करोड रुपैयाँको क्षति भएको छथर जोरपाटी गाउँपालिका कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए। 

हरियो मटर, काउली, रायो सागलगायतका तरकारी बालीमा बढी क्षति भएको उनको भनाइ छ। लामो समयको खडेरीका कारण पनि तरकारी बालीमा विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू मुखैमा आएको बाली असिनाले सखाप बनाएपछि निराश बनेका छन्। 

तरकारी उत्पादन गरी विदेशी बजारसम्म निर्यात हुने उक्त क्षेत्रका ७०० किसानको बारीमा २० घण्टा बितिसक्दा पनि असिना बिलाएको छैन भने भुइँभरि पाकेका बाली टुक्राटुक्रा भएर छरिएका छन्। उक्त क्षेत्रमा असिनाले क्षति गरेको तरकारी कुल एक करोड २० लाख किलोग्राम हुने अनुमान गरिएको कृषि प्रमुख तिम्सिनाले बताए। 

यस्तै, महालक्ष्मी नगरपालिका– ८ र ९ मा लगाइएको मटरकोसा, रायो साग र काउलीमा असिनाले क्षति पु¥याएर करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए। उनले भने, ‘कृषि प्राविधिकहरू फिल्डमा पठाएर क्षतिको विवरण यकिन गर्न समय लाग्ने अवस्था छ।’

जीविकोपार्जनका लागि व्यावसायिक रूपमा लगाइएको तरकारी खेती विनास भएपछि किसानहरूको मुखको गाँस खोसिएको छ। 

जिल्लाका अन्य क्षेत्रमा परेको असिनापानीले भने सामान्य क्षति भए पनि लामो खडेरी व्यहोरेकाले मकै, गहुँ र चैते धान लगाउन राहत मिलेको किसानहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.