|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओली बंगला एअर दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका छन्। दिउँसो ४ बजे विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले निकै दुखद दुर्घटना भएको र दुर्घटनाबारे यथार्थ छानविन गर्न आयोग गठन गरिने बताए।

दुर्घटनामा ठूलो संख्यामा हताहत भएको र गम्भीर घाइते भएको भन्दै दुर्घटनाका नेपालीलगायत विदेशी सबै यात्रुहरुप्रति दु:ख व्यक्त गरेका छन्। ‘निकै ठूलो दुखद घटना भएको छ। ठूलो संख्यामा यात्रुहरु परेका छन्। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना। मृतकप्रति श्रद्धाञ्जली तथा उहाँका परिवारजनमा समवेदना-प्रधानमन्त्री ओलीले भने, सरकारका तर्फबाट यो के कारणले दुर्घटना भयो भनेर आयोग गठन गरेर छानविन गरिनेछ। तत्काल उपचार गरिनेछ। तत्काल गरिने थप काम गरिनेछ।’

दुर्घटनामा परेका घाइतेहरु सबैको सरकारले उपचार गर्ने प्रधानमन्त्री ओलीले बताए।  यस दुर्घटनाबाट सबै दुखी भएको भन्दै ओलीले सबैसँग म दुख शेयर गर्न चाहेको बताए। समान्य अवस्थामा अवतरण हुदैगरेको विमान दुर्घटनाका कारणको उचित छानविन गरिने उनले बताए। भने-‘यो धेरै नराम्रो दुर्घटना हो। हाम्रो हवाई क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले गराएको जानकारी अनुसार विमानले कुनै अप्ठ्यारो, खराबी आयो, इमरजेन्सी पर्‍यो भनेर नभनेको। र सामान्य अवस्थामा विमान ल्याण्ड भएको भन्ने कुरा गर्नुभएको छ। उक्त कुराको हामी आयोग बनाएर छानबिन गर्छौं।’

आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन काम गर्नेसमेत बताउँदै प्रधानमन्त्री ओलीले तत्काल उद्धारमा घटिने सेना, प्रहरी, कर्मचारीको प्रशंसा गरे। ‘तत्कालीन अवस्थामा उद्दारका लागि नेपाली सेनाको तत्परता प्रसंशनीय छ। उद्दारमा खटिएका नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अग्नी नियन्त्रक, विमानस्थल कर्मचारीहरुको तदारुकता’, उनले भने ‘अस्पताल, एम्बुलेन्सको तदारुकता। यी सबैले प्रसंशायोग्य काम गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.