|

पर्वत : पर्वतको राम्जा गाउँमा २०१८ जेठ १२ गते जन्मिएका गणेश तिमल्सिना सोमबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। तिमल्सिना पर्वत जिल्लाको मोदी गाउँपालिका- ७ का स्थायी वासिन्दा हुन्।

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै गर्दा उनी राजनीतिमा लागे। २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका तिमल्सिनाले एसएलसीसम्मको अध्ययन भने गाउँकै पशुपति उच्चमाविबाट गरेका थिए।

बाल्यकालबाटै प्रगतिशील विचारधारा बाेकेका तिमल्सिना २०३६ सालमै नेकपा मालेको रेडगार्डका सचिव बने। २०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित भए। त्यसैगरी उनले २०४० सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरे। 

अध्यक्ष तिमल्सिना २०४१ सालमा पीएन क्याम्पसको स्ववियु सचिव र २०४२ सालमा अनेरास्ववियुको आठौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य थिए। 

तिमल्सिना तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध खरो उत्रेका कारण २०४२ देखि २०४६ सालसम्म जेल परेका थिए। अध्यक्ष तिमल्सिनालाई तत्कालीन सरकारले पोखरा, भैरहवा, तौलिहवा, वीरगन्ज, भद्रगोल र नख्खु जेलमा राखेको थियो। राष्ट्रियसभा अध्यक्ष तिमल्सिना प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेलमा बसेका थिए।

२०४६ सालमा जेलमुक्त भएलगत्तै तिमल्सिना २०४६ को जनआन्दोलनमा सक्रिय भएर लागेका थिए। जनआन्दोलनमा सक्रिय भएर लागेकैले तत्कालीन सरकारले उनलाई पक्राउ गर्न आदेश दिँदै ५० हजार रुपैयाँ टाउकाको मूल्यसमेत तोकेको थियो। 

तिमल्सिना २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बने। दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बनेका थिए तिमल्सिना। वर्तमान प्रधानमन्त्री केपी ओली सोही कमिटीका अध्यक्ष थिए। २०४७ सालमा नेकपा माले मुस्ताङको सचिव, ०४८ मा नेकपा एमाले बागलुङको सचिव, २०५४ सालमा नेकपा एमालेको छैटौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य हुँदै धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारीसमेत प्राप्त गरेका थिए उनले।

एमालेको सातौँ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका तिमल्सिनाले पर्वत जिल्ला संयोजकको रूपमा पार्टीको जिम्मेवारी पनि पूरा गरिसकेका छन्। 

नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका र एमालेको पोलिटव्यूरो सदस्य भइसकेका तिमल्सिना पर्वत जिल्लाका पूर्व जिविस सभापति पनि भइसकेका छन्।राष्ट्रियसभा अध्यक्षमा निर्वाचित तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रियसभाको सदस्य निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.