|

भद्रपुर (झापा) : विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो झापा गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ। सोमबार भएको फाइनलमा खेलमा घरेलु टोली झापा ११ लाई सडेन डेथमा पराजित गर्दै आर्मीले यस सिजनको उपाधि पनि आफ्नो पोल्टामा पारेको हो। 

झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा सम्पन्न खेलमा झापालाई ८-७ गोल अन्तरले हराउँदै उसले उपाधि हासिल गरेको हो। फाइनल खेलमा घरेलु टोली झापा ११ लाई पराजित गर्दै आर्मीले यस सिजनको सातौँ उपाधि उचालेको हो। उपाधिका लागि भएको खेलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफपछि भने दुवै टोलीले एक/एक गोल गरे। 

दोस्रो हाफको ५९औँ मिनेटमा कर्ण लिम्बूले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारबाट गोलले पोष्टको जाली चुमेको थियो। घरेलु टोली झापाले एक गोलको अग्रता लिएको केही समय बित्न नपाउँदै खेलको ७९औँ मिनेटमा आर्मीका भरत खवासले गोल फर्काउँदै खेल बराबरी बनाएका थिए। दिनेश हेम्जनको कर्नरमा भरतले जाली चुमाएका थिए।

निर्धारित समय अवधिमा अन्य गोल हुन नसकेपछि खेलमा १५ मिनेटको अतिरिक्त समयमा थपिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको हो। पेनाल्टी ३-३ भएर खेल सडेन डेथमा पुगेको थियो। दुवै टोलीले १०-१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडेन डेथमा ८-७ ले बाजी मार्‍यो। झापाका गोल किपर किशोर गिरीले गरेको दशौँ पेनाल्टी प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले रोकेपछि उपाधि आर्मीको पक्षमा पर्‍यो। पहिलो झापा गोल्डकप हारको बदला लिन यसपल्ट पनि झापा चुक्यो। 

झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो। उपाधि विजेता आर्मीले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ भने उपविजेता आयोजक झापाले छ लाख रुपैयाँ नगदमा चित्त बुझाएकाे छ। 

यता, झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएवल प्लेयर बनेका छन्। उनले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गरे। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किपर आर्मीका विकेस कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र वेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए। उनीहरूले क्रमश: ३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरे।

त्यस्तै. झापाका कर्ण लिम्बूले उत्कृष्ट स्कोर गरेर नगद ५१ हजार रुपैयाँ प्राप्त गरे। उनले प्रतियोगिताभर ३ गोल गरेका थिए। त्यसैगरी फाइनल खेलमा झापाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। 

मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि नेपाल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विजेतालाई नगद तथा ट्रफी प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.