|

काठमाडौं : थाहाखबरको कार्यालय नयाँ बानेश्वरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो करिब २ः१८ बजे धुँवा उडेको दृश्य देखियो। त्यसबेलासम्म सामान्य दुर्घटना जस्तो लाग्यो। तर, त्यहाँको सत्य तथ्य के हो भन्ने बुझ्न विमानस्थलसम्म रिर्पोटिङमा जाने हामीले निधो गर्‍यौँ। थाहाखबरको कार्यालय नयाँ बानेश्वरबाट फोटो पत्रकार दीपक केसी र म विमानस्थलतर्फ लाग्यौँ।

विमानस्थलको मुख्य गेटबाट प्रवेश गर्न गाह्रो हुने निचोड निकाल्दै हामी उत्तरपूर्वी क्षेत्र पेप्सीकोलातर्फ लाग्यौँ। त्यहाँको एउटा घरको छतमा गएर हामीले घटनास्थललाई अवलोकन गर्यौँ। त्यहाँबाट हेर्दा निकै ठूलो दुर्घटना जस्तो देखियो। त्यसपछि हामीले विमानस्थलभित्रै जाने निर्णय गर्‍यौँ। विमानस्थलको उत्तरपूर्वी गेटमा पुग्दा हामीलाई सुरक्षाकर्मीले प्रवेशमा रोक लगाए। लामो समयसम्म त्यहीँ बसेर अनुरोध गर्‍यौँ। हाम्रो लामो समयको आग्रहपछि सुरक्षाकर्मीले हामीलाई भित्र जाने अनुमति दिए। मौसम पनि त्यस्तै थियो, बादल लागेको र पानी पर्नै लागेजस्तो देखिन्थ्यो।

चलचित्रको दृश्य जस्तै

त्यहाँबाट भित्र जाँदा विमान दुर्घटनास्थलमा आगो लागिरहेको थियो। विमानमा रहेका मानिसलाई उद्धार गर्न सुरक्षाकर्मीको टोलीलाई समस्या परिरहेको थियो। दुर्घटनास्थल नजिकै बाक्लो संख्यामा एम्बुलेन्स थिए। बारुणयन्त्रले दुर्घटनाका कारण लागेको वरिपरिको आगो निभाइरहेको थियो।

त्यहाँ पुग्दा मात्र थाहा भयो, दुर्घटनाग्रस्त विमान बंगलादेशको ढाकाबाट आएको रहेछ। युएस बाङ्ला एयरवेजको उक्त जहाजमा ६७ यात्रु र चालक दल चार गरी ७१ जना सवार रहेछन्।

यत्रो ठूलो दुर्घटनाको रिर्पोटिङ मैले पहिलो पटक गर्दै थिएँ। सुरुमा त म के गर्ने? कसरी सूचना टिपाउने भन्नेमा अलमलमै परेँ। अनलाइनमा काम गर्ने पत्रकार भएकाले पनि प्रत्येक क्षण त्यहाँ भएका घटनाहरू ब्रेकिङ गराउनु मेरो दायित्व थियो। तर, सुरुमा मलाई निकै गाह्रो महसुस भयो। त्यहाँको दृश्य हेर्न पनि निकै गाह्रो पर्‍यो।  त्यहाँको अवस्था हेर्दा साँच्चै त्यो चलचित्रको दृश्य जस्तै थियो। तर, त्यो चलचित्र नभई आफ्नै आँखा अगाडिको वास्तविक घटना थियो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारीहरू उद्धार गर्न हतारोमा देखिन्थे। दमकलले आगो नभाउँदै गएपछि सुरक्षाकर्मीहरू जहाजभित्र रहेका यात्रु तथा चालक दलका सदस्यलाई उद्धार गर्नतर्फ लागे। उद्धार गर्न थालेपछि त्यहाँको दृश्य हेर्न सकिने अवस्थामा रहेन। केही यात्रुलाई जीवितै उद्धार गरेर सुरक्षाकर्मीले एम्बुलेन्समा हाल्दै अस्पतालतर्फ लगे। धेरैलाई डढेर नचिनिने अवस्थामा सुरक्षाकर्मीले बाहिर निकाले। त्यो दृश्य हेर्न निकै गाह्रो हुन्थ्यो।

दाउराका ठुटा बाहिर राखेजस्तै मानिसको जलेको शरीरलाई निकाल्दै उद्धारमा खटिएकाले बाहिर राखे। त्यसपछि बाँकी रहेकालाई विमानबाट निकाल्नतर्फ लागे। त्यो दुःखको क्षण थियो। जब विमानबाट शव निकाल्न सकिन्छ, त्यसबेला उद्धारमा खटिएकाको अनुहार केही सहज देखिन्यो।

त्यो जहाजका पाटपूर्जा जताततै छरिएका थिए। जहाज दुर्घटनाग्रस्त भएको केही मास्तिर यात्रुका सामान जताततै छरिएका थिए। कतै यात्रुका झोला, कतै जुत्ता छरिएका थिए। डाक्टरले प्रयोग गर्ने मेडिकल सामग्री पनि जताततै छरिएका थिए। त्यसले प्रस्ट हुन्थ्यो, जहाजमा सवार यात्रु बंगालादेशबाट डाक्टर पढेर पर्खिएका विद्यार्थी पनि थिए। त्यो दृश्यले धेरैलाई भावविह्वल बनायो।

विमानस्थलमा ठूलो क्षति हुनबाट बच्यो

त्यहाँ रहेका अधिकांश विमानस्थलका कर्मचारीले पाइलटले विमानस्थलमा थप क्षति हुनबाट जोगाएको बताउँदै आएका थिए। जहाजलाई अवतरण गराउने बेलामा विमानस्थल पार्किङमा रहेका अन्य जहाजमा क्षति हुनबाट जोगाएको बताउँदै थिए। अवतरणको क्रममा नेपाल एयरलाइन्सको ह्याङ्गरमा ठोकिन लागेको र रनवेको सेन्टरमा ल्याण्ड भएको भए पनि जहाजका चालकले जोगाएको कर्मचारी बताउँदै थिए।

त्यहाँ रहेका प्रत्यक्षदर्शीका अनुसार उक्त दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा धावनमार्ग छेउमै रहेको बार भत्काएर सिनामंगलतर्फको चौरमा दुर्घटना भएको थियो। त्यहाँ भन्दा केही तल गएको भए त्यहाँका घरहरूमा पनि ठोकिने जस्तो देखिन्थ्यो तर पाइलटले सबै जोगाएर त्यही जहाजमा मात्र क्षति पुर्‍याएका थिए। यद्यपि, जहाजमा भने ठूलो मानवीय क्षति भयो।

‘ब्ल्याक बक्स’ले पत्ता लगाउला दुर्घटनाको कारण?

ब्ल्याक बक्स भनेको जहाजभित्र चालक दलका सदस्य र एयर ट्राफिक कन्ट्रोल रुमको सम्वाद रेकर्ड हुने डिभाइस हो। उक्त डिभाइस दुर्घटनामा कुनै क्षति हुँदैन। यसले उक्त युएस बाङ्ला एयरवेजको दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्नेछ। उक्त डिभाइस उद्धारमा खटिएकाले फेला पारेका छन्। दुर्घटनामा के कारण दुर्घटना भयो भनेर पक्कै पनि त्यो डिभाइसले पत्ता लगाउने अाशा गर्न सकिन्छ।

छानविन समिति बन्छ : प्रधानमन्त्री ओली

दुर्घटनाग्रस्त जहाजको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता विमानस्थल पुगे। विमानस्थल पुगेर यी नेताले दुर्घटनाको कारणबारे जानकारी लिए। दुर्घटनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले घटनाका बारेमा छानविन गर्न छानविन समिति बनाउने र समितिले घटनाको सत्यतथ्य बाहिर ल्याउने बताए।

घाइते सबैको उपचार सरकारले गर्नेसमेत ओलीले बताए। उनले घाइतेको शीघ्रस्वस्थ्यलाभको कामना गरे भने मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

हाम्रो कमजोरी होइन : महाप्रबन्धक क्षेत्री

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यस दुर्घटनामा नेपालको एयर ट्राफिक कन्ट्रोल रुमको कुनै कमजोरी नभएको बताए। उनले कन्ट्रोल रुमसँग जहाजका कर्मचारीबीच भएको सम्वाद पनि सुनेको बताउँदै आफूहरूबाट कमजोरी नभएको दाबी गरे। उनले भने, ‘हामीबाट कुनै कमजोरी भएको छैन। मैले कन्ट्रोल रुमसँग भएको सम्वाद पनि सुनेँ।’

तर दुर्घटनाको कारण भने अहिले आफूले भन्न नसक्ने उनले बताए। उनले भने, ‘अहिले दुर्घटनाको कारण भन्न सकिँदैन। सरकारले छानविन समिति बनाएको छ। यसले सत्यतथ्य छानविन गर्छ। समितिलाई हामी पूर्ण सहयोग गर्छौं।’ उनले अबका दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।

दुर्घटनामा ४९ को मृत्यु, २२ घाइते

यो सामग्री तयार पार्दासम्म उक्त जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ। महाप्रबन्धक क्षेत्रीका अनुसार २२ जना घाइते भएका छन्। उनीहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ११ जना बंगलादेशी नागरिक र ११ नेपाली नागरिक रहेको उनले बताए।

यो पनि हेर्नुहोस् :

विमान दुर्घटनामा विमानस्‍थलदेखि अस्पतालसम्म जे देखियो, फोटो

विमान दुर्घटनाका घाइतेको विभिन्न अस्पतालमा यसरी हुँदै छ उपचार, फोटो 

विमान दुर्घटनामा घाइतेको यसरी हुँदै छ उद्धार, फोटो 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.