|

बारा : भरतपुर फुटबल क्लवलाई ट्राइब्रेकरमा ६-५ गोल अन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लव नेपाल आइस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निजगढको कछाडिया खेल मैदानमा भएको प्रतियोगिताको दोस्राे क्वार्टरफाइनलमा भरतपुरसँग कठिन जीत निकाल्दै एपीएफ सेमिफाइनलामा प्रवेश गरेको हो।

खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा भरतपुर क्वार्टरफाइनलबाटै बाहिरिएको हो। खेलको ५०औँ मिनेटमा भरतपुरका कान्छा गुरुङले गोल गर्दै भरतपुरलाई अग्रता दिलाएका थिए। तर डी बक्सभित्र खेलाडीले फल गरेपछि एपीएफले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निरज मगरले खेलको ६६औँ मिनेटमा गोल गरे। त्यसपछि गाेल हुन सकेन र खेल बराबरीमा सकिएको थियो। 

ट्राइब्रेकरमा एपीएफका गोल किपरले उत्कृष्ट बचाउ गरेपछि एपीएफ सेमिफाइनलामा प्रवेश गरेको हो। खेलको म्यान अफ द म्याच एपीएफका गोल रक्षक मोहन खड्का घोषित भए। फाइनल प्रवेशका लागि एपीएफले अब आयोजक निजगढ युवा क्लवसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत मंगलबार हर्दी युवा समाज चितवन र नेपाल खेलकुद क्लव रौतहटबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ। खेल अपराह्न ३ बजेदेखि सुरु हुनेछ। 

चैत ३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक निजगढ युवा क्लव, हिमकस्तुरी क्लव लहान, बीएफसी भरतपुर, एफसी महोत्तरी,नेपाल खेलकुद क्लव रौतहट, हेटौँडा एकेडेमी मकवानपुर, हल्दिवा युवा समाज भण्डारा चितवन, जुनियर पुलिस अफिसर्स क्लव चितवन, सशत्र प्रहरी बल पिलुवा बाराको एपीएफ क्लव र चौधरी ११ बाराको सहभागिता रहेको छ। 

कुल १३ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट खेलाडीले जनही नगद तीन हजार रुपैयाँका साथै ट्रफी र हरेक दिन म्यान अफ द म्याच घोषित खेलाडीले नगद एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.