काभ्रेपलाञ्चोक : जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले साेमबारबाट जिल्लाका स्वास्थ्य संस्थाहरू औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ। साेमबार एक अाैपचािरक कार्यक्रम गरी सम्पूर्ण स्वास्थ्य संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरेकाे हाे।
जिल्ला समन्वय समितिकाे मातहत रहेका स्वास्थ्य निकायहरू अब स्थानीय तहको मातहत रहने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसियाले बताए। जिल्लाका झण्डै चार दर्जन सरकारी कार्यालयहरूमध्ये जिल्ला जनस्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्थाहरू स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो।
जिल्लामा छवटा नगरपालिका र सातवटा गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन्। नगरपालिका र गाउँपालिका स्तरमा रहेका स्वास्थ्य संस्थाहरू अब स्थानीय सरकारको मातहत सञ्चालन हुने भएका छन्।
काभ्रेपलाञ्चोक जिल्लामा नमोबुद्ध नगरपालिकाको मेथिन्कोटमा १५ शैयाको अस्पतालसहित पनौती नगरपालिकाको खोपासी र सुन्थानमा, पाँचखाल नगरपालिकाको पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र गरी चारवटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। त्यस्तै, ८६ वटा स्थानमा स्वास्थ्य चौकी रहेका छन्।
त्यससँगै यस जिल्लामा तीनवटा स्तरोन्नति गर्न बाँकी उपस्वास्थ्य चौकी, नौवटा शहरी स्वास्थ्य केन्द्र, १२ वटा सामुदायिक स्वास्थ्य इकाई, ३३१ वटा खोप केन्द्र, ३०२ वटा गाउँघर क्लिनिक र ९७८ जना महिला स्वास्थ्य स्वंमसेविका रहेका छन्।
‘अब भएका स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधारदेखि सामग्रीहरूको सबै जिम्मेवारी स्थानीय तहको हुनेछ’, डा. चौरसियाले भने, ‘कर्मचारी भने अहिले जुनजुन स्थानीय तहमा काम गरिरहेका छन्, त्यहीँ काजमा नै हुनेछन्। नीतिगत समायोजन भने कर्मचारी समायोजन विधेयकअनुसार मात्रै हुनेछ।’
जिल्लामा धुलिखेल सामुदायिक अस्पताल र निजी अस्पतालमा शिर मेमोरियल अस्पताल र अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, स्पाइनल इन्जुरी उपचार पुनःस्थापना केन्द्र, रेयुकाई मासुनागा आँखा अस्पताल र अन्य विभिन्न स्थानहरूमा निजी अस्पतालहरू रहेका छन्। अब ती सबै अस्पतालहरूको रेखदेख गर्ने जिम्मा स्थानीय तहको नै हुनेछ।
हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा, स्वास्थ्य मन्त्रालय मध्यमाञ्चल क्षेत्रका निर्देशक डा. मदनकुमार उपाध्यायलगायतको उपस्थिति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।