|

काठमाडौं : नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले गएको तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउनका निम्ति भूमिका खेल्ने नेता, कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

आयोगको मंगलबार बसेको बैठकले तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरू, घात-अन्तरघातजस्ता अवाञ्छित कार्यहरूको यथासमयमा छानबिन भई कारबाही गर्न माग गरेको हो।

आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले निर्वाचनमा घात-अन्तरघात गर्नेलाई हालसम्म कारबाही नगरिएको भन्दै ध्यानाकर्षण गराएको छ। 'अनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको छ'-बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले पार्टीको आन्तरिक संगठनात्मक अवस्थाबारे पनि छलफल गर्दै लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकहरू राम्ररी नभएको भन्दै पार्टीको ध्यानाकर्षण गराएको। 'पार्टी कमिटीहरू प्राय निष्‍क्रिय रहेको, पार्टीको विधि, पद्धति र प्रणालीहरू क्रमशः कमजोर बन्दै गएको छ'-अध्यक्ष बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत कार्यउपर छानबिन नगरी दण्डहीनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको छ।'

बैठकले केही समयदेखि देशका विभिन्न भागमा भएका बलात्कार, हत्या र बोक्सीजस्ता आरोपमा जघन्य सामाजिक अपराधका घटनाहरू भइरहेको भन्दै यस्ता कार्यलाई नियन्त्रण गर्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराइएको छ।

यस्ता विषयमा पार्टीका स्थानीय कमिटीहरू, अनेमसंघ, युवा संघ लगायत पार्टीका जनसंगठनहरू तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार किन उदासिन निस्क्रिय र मूकदर्शक बनिरहेको भन्दै बैठकले चासो व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ-'यस्ता विषयमा मुकदर्शक बनेको देख्दा कतै पार्टीपंक्तिहरू राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गरेको संकेत त होइन भन्दै बैठक पार्टी नेतृत्वप्रति यस्ता विषयहरूमा सचेत हुन गम्भीर ध्यानाकर्षण गर्दछ।'

बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बाम गठबन्धनको सरकारलाई निस्कलंकित मन्त्रिपरिषद् बनाएर जनता र राष्ट्रको आकांक्षा पूरा गर्ने काममा दृढतापूर्वक अघि बढ्न आग्रह गरेको छ।

यसैगरी, बैठकले प्रदेश २ बाट आयोगमा प्रतिनिधित्व गर्ने धर्मनाथ यादव पार्टी केन्द्रीय कमिटीमा मनोनीत भएपछि रिक्त पदमा सर्लाहीका राजनारायण साहलाई मनोनयन गरेको छ। आयोगको कार्यालय सचिवमा शिवबहादुर देउजालाई मनोनयन गर्दै बैठकले राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित आयोगका सदस्यहरू अगम वान्तवा, अर्जुन राई र मित्रकुमारी गुरुङ सुवेदीलाई बधाई ज्ञापन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.