|

सल्यान : जिल्लाको एक सामुदायिक विद्यालयमा विगत दुई सातादेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद भएपछि दुई सातायता पठनपाठनमा समस्या आएको हो। 

छत्रेश्वरी गाउँपालिका- ४ जयचौरको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद भएपछि विद्यालयको मूल गेटमा अभिभावकले तालाबन्दी गरेका थिए। अभिभावकले स्कुलको मूल गेट र कार्यालयमा ताला लगाएपछि आफूहरूको पढ्न पाउने अधिकार कुन्ठित भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी कमला कुँवरले बताइन्। उनले भनिन्, ‘एसईईको परीक्षा आउनै लाग्यो, यस बेला हामीले विद्यालयबाट नियमित कक्षा सँगसँगै अतिरिक्त तयारी कक्षा पनि लिनुपर्ने हो तर विद्यालयमा पठनपाठन अवरुद्ध हुनु हाम्रो भविष्यमाथि खेलवाड हो।’ 

विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतीकरण गरिएको भन्दै अभिभावक दुई समूहमा बाँडिएका छन्। फागुन २ गते अभिभावकहरूको पहिलो बैठकले स्थानीय ज्ञानबहादुर खड्काको अध्यक्षतामा एउटा समिति गठन गरेको थियो। स्थानीय अभिभावककै अर्को समूहले फागुन ९ गते टेकबहादुर वलीको अध्यक्षमा अर्को सामिति चयन गरेपछि विवाद भएको एक स्थानीयले बताए। 

विद्यालय व्यवस्थापन समिति विवादका बारेमा जिज्ञासा राख्दा जिल्ला शिक्षा कार्यालय सल्यानका प्रमुख देवीप्रसाद सुवेदीले यस विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.