|

  • पूर्णप्रसाद मिश्र

काठमाडौं : गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिले कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन्।

जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर आवश्यक कर्मचारी उपलब्ध गराईदिन माग गरेका हुन्।

सांसद गोपाल बमको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जिल्लाका स्थानीय तहमा छिटो कर्मचारी पठाउन मन्त्रालयमा अनुरोध गरेको छ।

जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिवसमेत नहुँदा कार्य सम्पादनमा असर पुगेको भन्दै सांसद बमले मन्त्रालयका अधिकारीलाई छिटो कर्मचारी व्यवस्था गर्न माग गरे।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले १४ वडा रहेको नगरपालिकामा दुई जना मात्र सचिव रहेको बताए।

“नगरपालिकामा कार्यकारी अधिकृत पनि छैनन्, विद्यालय निरीक्षकका भरमा काम चलाउनुपरेको छ, संघबाट कर्मचारी पनि पठाइएन, हामीलाई कर्मचारी राख्ने अधिकार पनि छैन, जनताको काम कसरी गर्ने?” मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसँग प्रश्न गर्दै उनले भने।

दुई सचिवले १४ वडाको काम गर्नुपर्दा कार्य सम्पादनमा असहजता भोग्नुपरेको नगर प्रमुख शाहीले सुनाए। लामो समयपछि जनप्रतिनिधि निर्वाचित भएकाले स्थानीयस्तरमा जनचाहनाअनुरुप काम गर्न कर्मचारी अभावका कारण समस्या भएको प्रतिनिधिमण्डलको भनाइ थियो।

कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको जानकारी गराउँदै सहसचिव तामाङले समायोजनपछि अपुग कर्मचारी स्थानीय तहको मागअनुसार प्रदेश लोकसेवाले विज्ञापन गरी नियुक्तिका लागि सिफारिश गर्ने बताए।

नगरपालिकाको वडा नम्बर १३ का अध्यक्ष चक्रबहादुर साउद एक जना कर्मचारीका भरमा आफूले वडा कार्यालय सञ्चालन गरिरहेको गुनासो गरे। “एकै जना कर्मचारीले कुचो लगाउनेदेखि टिप्पणी उठाउनेसम्मका काम गर्नुपर्ने बाध्यता छ, तीन दिनसम्म हिँडेर जनता सेवा लिन आउँछन्, एक दिन छोडेर हिँडे जनताको काम रोकिन्छ, कर्मचारी नहुँदा कार्यालय चलाउन समस्या भएको छ” उनले भने।

नगरपालिकाकी उपप्रमुख शान्ता रोकाया जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी अभावका कारण काम गर्न नसकिएको बताउछिन्। मन्त्रालयका अधिकारीसमक्ष उनले उपप्रमुखको कामका विषयमा प्रष्ट पारिदिन पनि माग गरिन्।

मुलुक संघीय प्रणालीमा गएपछि कर्मचारीको व्यवस्था भए सेवा प्रवाहमा सहज हुने भन्दै प्रतिनिधिमण्डलले अधिकारीलाई अनुरोध गरेको छ। मुगुमा छायाँनाथ रारा नगरपालिका, मुगुम कर्मारोग, सोरु र खत्याड गाउँपालिका गरी चार वटा स्थानीय तह छन्।

मन्त्रालयको १३ बुँदे निर्देशन

यसैबीच मन्त्रालयले अनुगमनका क्रममा स्थानीय तहको काम कारबाही, सेवा प्रवाह, चुस्त, छरितो र प्रभावकारी हुन नसकेको देखिएकाले १३ बुँदे निर्देशन जारी गरेको छ।

७७ वटै जिल्ला समन्वय समितिका समन्वय अधिकारी र ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र जारी गरिएको हो।

परिपत्रमा जिल्लाका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष वा प्रमुखसँग बिदा वा काज स्वीकृत नगराइ कार्यक्षेत्र नछोड्ने, स्थानीय तहमा काम गर्न विषयगत कार्यालयबाट खटिएका वडा कार्यालयमा कार्यरत एवं सेवा केन्द्रमा कार्यरत कर्मचारीको काज विदा स्वीकृत, कार्य सम्पादन मूल्यांकनलगायतका प्रशासनिक नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी निर्देशन दिइएको छ।

मन्त्रालयले सातवटै प्रदेशमा कर्मचारी नपुगेको सम्बन्धमा समन्वय गर्न मन्त्रालयका सात जना सहसचिवलाई जिम्मेवारी दिएको छ । जसअनुसार प्रदेश १ मा आनन्दराज ढकाल, प्रदेश २ मा डा हरि पौडेल, प्रदेश ३ मा सुरेश अधिकारी, प्रदेश ४ मा रामकृष्ण सापकोटा, प्रदेश ५ मा पुरुषोत्तम नेपाल, कर्णाली प्रदेशमा वेदबहादुर कार्की र प्रदेश ७ मा रुद्रसिंह तामाङ तोकिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.