|

बारा : हर्दी युवा समाज चितवन निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। निजगढ- ४ कछडिया खेल मैदानमा भएको खेलमा नेपाल खेलकुद क्लव रौतहटलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै चितवनले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।

खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा रौतहट क्वार्टरफाइनलबाट बाहिरिएको छ। खेलको २९औ‌ँ मिनेटमा रौतहटका राजु पहाडीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको अतिरिक्त समयमा चितवनका दीपक चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। 

ट्राइब्रेकरमा रौतहटका खेलाडीले प्रहार गरेको पेनाल्टी किक चितवनका गोल रक्षक वीरेन्द्र राउतले उत्कृष्ट बचाउ गरेपछि नतिजा चिवतनको पक्षमा गएको हो। ट्राइब्रेकरमा उत्कृष्ट बचाउ गरेका चितवनका गोल रक्षक राउत नै खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लव र सशस्त्र प्रहरीको भद्रकाली गण पिलुवाबीच खेल हुने खेलका प्रेस संयोजक नवराज चौलागाईंले जानकारी दिए। प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट खेलाडीले जनही नगद तीन हजार रुपैयाँका साथै ट्रफी र हरेक दिन म्यान अफ द म्याच घोषित खेलाडीले नगद एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.