|

चितवन : चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु रोग सार्ने लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्युपा ‘खोज र नष्ट गर’ अभियान सुरु भएको हो। 

गर्मी मौसम बढ्न थालेकाले अब डेंगु रोग पनि फैलन सक्ने भन्दै रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिए। चितवनको राप्ती नगरपालिकामा सोमबारदेखि तीन दिने अभियान सुरु भएको छ। 

यस्तै, भरतपुर महानगरपालिकामा भोलि बुधबारदेखि अभियान सुरु हुँदै छ भने कालिका नगरपालिकामा आगामी बिहीबारदेखि तीन दिने ‘खोज र नष्ट गर’ अभियान चलाइने केसीले बताए। उक्त अभियानमा  स्वास्थ्यकर्मी र स्वयंसेविका गरी करिव १०० जना परिचालन गरिनेछ। खैरहनी नगरपालिकामा भने रोगको विषयमा प्रशिक्षण कार्यक्रम राखिएको छ। 

स्वयंसेवकहरूले घरघरमा गएर डेंगु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा नष्ट गर्ने गर्छन्। 

चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेंगु रोग लागेको पाइएको छ। त्यसमध्ये ३१ जना चितवनका बिरामी र अरू बाँकी भने अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन्। चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एक जनाको मृत्यु भएको जनाइएको छ। माघ र फागुनमा भने डेंगु भेटिएको छैन।

मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा. भोजराज अधिकारीले बताए। डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घर वरपर कुनै पनि भाँडामा पानी जम्न दिन नहुने उनको भनाइ छ। 

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो। २०१० अर्थात आर्थिक वर्ष २०६७/०६८ मा चितवनमा महामारी फैलिँदा पाँच जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.