|

काठमाडौं : प्रदेश १ कका नौ जिल्लामा चालू आर्थिक वर्ष २०७४/०७५को माघसम्ममा विद्युत चुहावट करिब चार प्रतिशत घटेको छ। नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रबाट गत वर्षको तुलनामा ३.९१ प्रतिशत चुहावट नियन्त्रण भएको प्राधिकरणले जनाएको छ।

यस क्षेत्रमा आर्थिक वर्ष २०७३/०७४ मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशतले घटाएर १३.७४ प्रतिशत कायम गरिएको हो। 
क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ। प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ। 

विराटनगर वितरण केन्द्रले १४.०५ प्रतिशत रहेको चुहावटलाई ४.२१ प्रतिशतले घटाएर ९.८४ प्रतिशत कायम गरेको छ। ८.९५ प्रतिशत रहेको विद्युत चुहावटलाई दुहवी वितरण केन्द्रले ३.०७ प्रतिशतले घटाएर ५.८८ प्रतिशत कायम गरेको छ। विराटनगर र दुहवी कार्यालयअन्तर्गत ठूला औद्योगिक ग्राहकहरू छन्। 

दमक वितरण केन्द्रले ४.७३ प्रतिशतले चुहावट घटाएको छ। केन्द्रले असारसम्मको २३.२२ प्रतिशतको चुहावटलाई घटाएर १८.४९ प्रतिशतमा झारेको हो। मोरङको रंगेली वितरण केन्द्रको चुहावट भने अझै ३२.३० प्रतिशत छ। असारसम्ममा ३६.४२ प्रतिशत चुहावट रहेकोमा माघसम्ममा ४.१२ प्रतिशत मात्रै घटेको छ। इनरुवा वितरण केन्द्रको ३६.५९ प्रतिशतको चुहावट १०.०७ प्रतिशतले घटेर २६.५२ प्रतिशत पुगेको छ। 

यसैगरी बेलबारी वितरण केन्द्रको २६.१३ प्रतिशत चुहावट १.२४ प्रतिशतले घटी २४.८९ प्रतिशतमा सीमित भएको छ। विद्युत चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतालगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैरप्राविधिक चुहावटमा कमी आएको छ, ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौँ, जसले गर्दा प्राविधिक चुहावटमा क्रमिक रूपमा कमी आइरहेको छ’, उनले भने, ‘चुहावट नियन्त्रण अभियानलाई हामी अझै सशक्त रूपमा अगाडि बढाउँछौँ।’ 

चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन्। प्राधिकरणको यही अभियानलाई साथ दिँदै झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत चुहावटमुक्त’ घोषणा गरिसकेको छ। 
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए।

‘माघसम्मको तथ्यांक हेर्दा विद्युत चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ तर गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ’, उनले भने, ‘तर हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौँ।’ क्षेत्रीय कार्यालयलाई गत आ.व.मा रहेको १७.६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ। 

गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ। चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ। तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ। प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.